अभिनेता प्रदीप किन निर्माताको स्वार्थको मोहरा बन्दैछन् ?
काठमाडौँ : फिल्म प्रेम गीत-३ को हिन्दी भर्सन विदेशी फिल्मको सूचीमा परेपछि निर्माण पक्षले अतिरिक्त कर तिर्नुपर्ने भयो। त्यसमा चलचित्र विकास बोर्ड र निर्माता सङ्घले नसघाएको भन्दै अभिनेता प्रदीप खड्काले बोर्डका अध्यक्ष भुवन केसीको राजीनामै मागे।
उनले समानान्तर निर्माता सङ्घ गठन गर्ने चेतावनी समेत दिए। यी सबै दबाबको लक्ष्य भारतीय वितरक भएको प्रेम गीत-३ को हिन्दी भर्सनलाई नेपालमा नेपाली भर्सन बनाएर नेपाली फिल्म समानको सुविधा लिन नै थियो।
नेपाली भाषाको नाममा भारतीय निर्माता, विशेष सिक्किम अनि दार्जिलिङका निर्माताले उतै नेपाली भाषाको फिल्म भनेर फिल्म दर्ता गरेर सरकारी अनुदान लिने अनि नेपालीलाई समेत निर्माण टिममा राखेर नेपाली फिल्म भन्दै प्रदर्शन गर्ने खेल चलेको त धेरै भयो।
अहिले इन्डो- नेपालको पहिलो फिल्म भन्दै प्रेम गीत-३ को निर्माण टिमले समेत हिन्दी भाषाको भए पनि नेपाली फिल्म त हो भनेर नेपाली फिल्म समान सुविधा लिने प्रयास गरिरहेको प्रस्टै देखिन्छ।
जसरी फिल्म प्रकाश चलाउन निर्माण टिम भन्दा पनि अभिनेता खड्का नै बढी एक्सपोज भएका थिए अहिले प्रेम गीत-३ को मामिलामा पनि निर्माण टिमका सन्तोष सेनभन्दा बढी उग्र उनी नै देखिएका छन्। यसले उनी निर्माण पक्षको व्यापारिक हितका लागि दबाब बढाउन मोहरा बनिरहेको देखिन्छ।
प्रदीप आफैँले फेसबुकमा राखेको धारणा अनुसार विदेशी फिल्मको सूचीमा पर्दा तिर्नुपर्ने चलचित्र विकास शुल्क बापतको अतिरिक्त १५ प्रतिशत कर तिर्नुपर्दा बढी रिसाएको अनि आफूखुसी शो टाइम तोक्न हलहरूलाई अङ्कुश लगाउँदै बिहान ६ र बेलुका ११ बजेपछि शो राख्नुपर्ने पूर्व अनुमति लिनुपर्ने सूचनाप्रति देखिन्छ।
निर्माता सङ्घका अध्यक्ष नबल खड्काले एक कार्यक्रममा हिन्दी भाषाको फिल्मको प्रवर्धन गर्ने प्रयास गर्नु भनेको देशद्रोही भनेका थिए। प्रेम गीत-३ को निर्माण टिमले यसलाई प्रेम गीतलाई भनेको भन्दै प्रतिवाद सुरु गर्यो।
त्यसलाई प्रस्ट पार्दै निर्माता सङ्घले आइतबार विज्ञप्ति निकालेर प्रेम गीत-३ टिमलाई बधाई दिँदै नेपाली फिल्मको बजार विस्तारमा प्रेम गीत-३ कोशेढुंगा हुने भन्दै खुसी व्यक्त गरेको छ।
अर्कोतर्फ फिल्म भनेको केवल व्यापार मात्रै नभई कला, संस्कृति र भाषासँग समेत जोडिने भन्दै विदेशी भाषाको फिल्म देखाएर नेपाली भाषाको फिल्म समानको सुविधा माग्नु वान्छनिय नहुने समेत उल्लेख गरेको छ।
निर्माता सङ्घले विज्ञप्तिमार्फत यदि विदेशी भाषाको फिल्मले नेपाली फिल्म समानको सुविधा पाए त्यो कानुनविपरितसँगै पछि विकृतिको सुरुवात हुनसक्ने समेत उल्लेख गर्यो।
यसमा पनि प्रतिवाद गर्दै प्रदीपले निर्माता सङ्घले नेपाली भाषाको फिल्मको पक्षमा उभिएर अन्य राष्ट्र भाषाको अपमान गरेको आशयको धारणा फेसबुकमा राख्दै लेखे' नेपाली नागरिकको मातृभाषालाई राष्ट्रभाषाको मान्यता दिएको छ, भने वीरगन्ज देखी विराटनगर लगायत ठाउँमा बोलिने त्यहाँको भाषा राष्ट्र भाषा हो कि हैन?'
असोज २, २०७९ आइतबार २३:०६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।