पूर्वमा न्यूनचापीय रेखा उत्तरतर्फ, यी दुई प्रदेशमा भारी वर्षा हुने
काठमाडौंः प्रदेश १ र बागमती प्रदेशका केही स्थानमा चट्याङ्गसहित भारी वर्षा हुने भएको छ।
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानमा र पूर्वमा सरदर स्थान भन्दा उत्तरमा अवस्थित रहेकाले दुई प्रदेशमा भारी वर्षाको सम्भावना रहेको हो।
अहिले देशभर सामान्य बदली रही सुदूरपश्चिम तथा लुम्बिनी प्रदेशको थोरै स्थान र बाँकी प्रदेशको एक–दुई स्थानमा मेघ गर्जन र चट्याङ सहित हल्का देखि मध्यम वर्षा भइरहेको छ।
आइतबार दिउँसो देशभर आंशिक देखि सामान्यतया बदली रहनेछ। देशका पहाडी भू–भागका केही स्थानहरूमा र बाँकी भू–भागका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
यस्तै राति प्रदेश १, बागमती प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा र बाँकी प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन र चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
भारी वर्षाका कारण पहाडी तथा भिरालो जमिनमा भू–क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम, सडक तथा हवाई यातायातमा सामान्य प्रभावको सम्भावना रहेको तथा नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने र दैनिक जनजीवन र यातायात क्षेत्र समेत प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउनु महाशाखाले अनुरोध गरेको छ।
असोज २, २०७९ आइतबार ०७:१७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।