विकास बोर्डप्रति निर्माता सेनको आक्रोश– ‘प्रेम गीत ३ लाई इतिहास रच्न बञ्चित गराउने खेल भयो’
काठमाडौंः बहुप्रतिक्षित फिल्म ‘प्रेम गीत ३’का निर्माता सन्तोष सेनले आफ्नो फिल्मलाई इतिहास रच्न बञ्चित गराउने खेल भएको बताएका छन्।
शनिबार सामाजिक सञ्जालमार्फत उनले दशैंको माहोलमा आफ्नो फिल्म हेर्न दर्शकको भिड बढ्ने र इतिहास रच्ने भन्दै चलचित्र विकास बोर्डले प्रदर्शनको समय घटाएर इतिहास रच्न बञ्चित गर्न खोजेको आरोप लगाए।
‘चलचित्र विकास बोर्डले शो सक्ने समय फिल्म रिलिजको एक हप्ता अगाडि परिवर्तन आउनु आपत्तिजनक छ,’ उनले भने, ‘८ बजेपछि शो नराख्नु दशैंको माहोलमा दर्शकले अपार माया दिएको प्रेम गीत ३ लाई इतिहास रच्न सक्ने वातावरणबाट बञ्चित गर्ने खेल बाहेक अरु केही हुन सक्दैन।’
निर्माता सेनले फिल्मको प्रदर्शन मिति नजिकिँदै जाँदा आफू प्रचारमा लाग्ने कि राजनीतिसँग ट्याकल गर्ने भन्ने अन्योलमा परेको बताए।
चलचित्र विकास बोर्डले दुई दिनअघि सार्वजनिक सूचना प्रकाशित गरेर चलचित्र हलमा सिनेमा प्रदर्शन गर्दा विहान ६ बजेदेखि राति ११ बजेसम्म मात्र प्रदर्शन गर्न निर्देशन दिएको छ। सो निर्णयको निर्माताका साथै प्रदर्शकले पनि विरोध जनाएका छन्।
असोज १, २०७९ शनिबार २०:१८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।