अभिनेता प्रदीप खड्काको द्वैध चरित्र : राजीनामा उनले दिने कि केसीले ?

अभिनेता प्रदीप खड्काको द्वैध चरित्र : राजीनामा उनले दिने कि केसीले ?

काठमाडौँ : अभिनेता प्रदीप खड्का अभिनयमा मात्रै हैन रियल क्यारेटमा पनि कति कन्फ्युज छन् भन्ने उनैले पुष्टि गरे शनिवार। फिल्म 'प्रकाश' मा नेपाली फिल्मको पक्षमा अभियानै चलाए। पत्रकार सम्मेलन गर्दै हिँडेका उनी अहिले फिल्म ' प्रेम गीत-३ का लागि भने हिन्दी भर्सनको पक्षमा लागेका छन्।

यो फिल्म नेपाली निर्माताले नै निर्माण गरेका हुन्। तर हिन्दी भाषाको अधिकार भने भारतीय वितरकले लिएका छन्। जब हिन्दी भर्सनको ट्रेलर सार्वजनिक भयो त्यसको क्रेज देखेर उनीहरूले नेपालमा पनि नेपालीसँगै हिन्दी भर्सन पनि एकै दिन रिलिज गर्ने निर्णय गरे।

अब नेपाली भाषाको फिल्ममा त कुनै समस्या हुने कुरै भएन। तर हिन्दी भर्सनलाई चलचित्र विकास बोर्डले विदेशी भाषाको फिल्मको सूचीमा राख्ने नै भयो। अनि प्रदीप बिच्किए। उनले बोर्डका अध्यक्ष भुवन केसीको राजीनामै मागे शनिवारको पत्रकार सम्मेलनमा।

पत्रकार सम्मेलनमा उनले मुख्य २ विषय उठाउँदै ती निर्णय उनको अभिनय रहेको प्रेमगीत-३ लाई लक्षित गरेर ल्याएको अपव्याख्या समेत गरे। केही दिन अगाडि बोर्डले सार्वजनिक सूचना निकालेर विदेशी फिल्मको हकमा एक साता अगाडि नै सेन्सर पास गर्नुपर्ने उल्लेख थियो।

हिन्दी फिल्म ब्रम्हास्त्र सेन्सर पासमा ढिला भएपछि नेपाली फिल्म ऐना झ्यालको पुतलीको अग्रिम बुकिङ नै खुलाएनन् हल सञ्चालकहरूले। त्यसको खुबै विरोध भयो। बोर्ड नेतृत्वको आलोचना भयो।

लगत्तै विदेशी फिल्म एक साता अगाडि नै सेन्सर पास गर्नुपर्ने निर्णय गर्यो बोर्डले। अर्को हलको शो टाइम। शो टाइम केवल फिल्म र दर्शकसँग मात्र जोडिँदैन। यो करसँग पनि जोडिन्छ। बक्स अफिस कार्यान्वयनमा आए पनि अझैँ कारोबार एकीकृत हुन सकेको छैन।

यसको मौका छोपेर हल सञ्चालकहरुले दर्शकको चाप भने बिहान ६ बजे अगाडि र बेलुका ११ बजेपछि पनि फिल्म चलाउने गरेपछि बोर्डले आफूमा रहेको अधिकार प्रयोग गर्दै बिहान ६ र बेलुका ११ बजे नियमित शो टाइम तोक्यो।

त्यो भन्दा अगाडि वा पछाडि शो राख्ने हो भने सुरक्षा प्रबन्धसहित पूर्व स्वीकृति लिनुपर्ने बोर्डको सूचनामा उल्लेख छ। यसलाई प्रदीपले आफू अभिनीत फिल्मको व्यापारमा असर पार्ने गरिएको निर्णय जसरी अपव्याख्या गरे। त्यो पनि हिन्दी भर्सनका पक्षमा।

उनले कार्यक्रममा बोर्डका अध्यक्ष केसीले राजीनामा दिए बोर्डको इज्जतै बढ्ने बताए। यसमा असहमति जनाउनुपर्ने कारण छैन। चरित्र अनि शैक्षिक योग्यता दुबैमा प्रश्न उठिरहेका केसीले राजीनामा दिँदा बोर्डको इज्जत बढ्छ।

तर शो टाइम तोकेको अनि विदेशी फिल्मको सेन्सर एक साता अगाडि गर्नुपर्ने निर्णय कार्यान्वयन गर्ने प्रयास गरेको आधारमा राजीनामा दिँदा भने बोर्डको इज्जत बढ्दैन।

बरु प्रदीपले बुझुन् व्यक्तिगत फाइदा हेरेर कहिले हिन्दी भर्सनको विपक्षमा उभिने त कहिले पक्षमा उभिँदा उनले यो नौटङ्की छाडे बरु उनकै इज्जत बढ्छ।

अभियान भनेको अभिनय हैन जुन स्क्रिप्ट अनुसार बदलिने। फिल्म प्रकाशको प्रमोसनमा उनले सार्वजनिक मञ्चहरूमा आफैँले बोलेका भाषणहरू सुनुन् एक पटक अनि प्रेम गीत-३ को हिन्दी भर्सनबारे आफ्ना धारणा सार्वजनिक गरुन्। अनि निर्णय गरुन् राजीनामा दिनुपर्ने केसीले हो कि प्रदीपले?

असोज १, २०७९ शनिबार १९:१०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।