प्रदीप खड्काले मागे भुवन केसीको राजीनामा, भने- 'राजा हटाए भने विकास बोर्डको जागिर स्थायी हो र?'
काठमाडौंः नायक प्रदीप खड्काले चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले राजीनामा दिनुपर्ने बताएका छन्।
शनिबार काठमाडौंमा भएको एक कार्यक्रममा नायक खड्काले केसीलाई अरुबाट परिचालित भएको भन्दै त्यस्ता मानिस विकास बोर्डमा बस्न नहुने बताए।
उनले भने, ‘मैले स्वविवेक प्रयोग नगर्ने, अरुबाट परिचालित हुने व्यक्ति त्यो ठाउँमा बस्न लायक छैन भनेको हुँ।’
प्रदीपले आफू अझै पनि १०–२० वर्ष फिल्म क्षेत्रमा नै रहने भन्दै भुवन केसीलाई विकास बोर्डबाट फर्किनु छैन भन्दै प्रश्न गरे।
उनले थपे, ‘विकास बोर्ड कसैको व्यक्तिगत जागिर खाने ठाउँ हो र ? राजा त हटाए भने विकास बोर्डको जागिर स्थायी हो र ? उहाँलाई त्यहाँबाट निस्कनु छैन र ?’
चलचित्र विकास बोर्डले राति ११ बजेपछि हल सञ्चालन गर्न नपाइने नियम ‘प्रेम गीत ३’ लाई लक्षित गर्दै ल्याइएको भन्दै उनले आक्रोश पोखे।
आफ्नो फिल्म प्रदर्शनको एक साताअघि नियम ल्याउनुलाई के भनेर बुझ्ने भन्दै उनले प्रश्न गरे।
प्रदीपले केही समय अगाडि ‘प्रेमगीत ३’लाई चलचित्र विकास बोर्डले गरेको सम्मान पनि देखाउने दाँत मात्र भएको बताए।
असोज १, २०७९ शनिबार १८:४५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।