पोखरामा दुई हजार मानिस अट्ने क्षमताको अन्तर्राष्ट्रियस्तरको सम्मेलन केन्द्र बन्ने 

पोखरामा दुई हजार मानिस अट्ने क्षमताको अन्तर्राष्ट्रियस्तरको सम्मेलन केन्द्र बन्ने 

पोखरा: पोखरामा अन्तर्राष्ट्रिय स्तरको सम्मेलन केन्द्र बन्ने भएको छ। गण्डकी प्रदेशका पहिलो मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको अध्यक्षतामा बसेको पहिलो मन्त्रिपरिषद्को बैठकले पोखरामा अन्तर्राष्ट्रियस्तरको सम्मेलन केन्द्र बनाउने निर्णय गरेको थियो। 

तर, प्रदेश सरकारको पाँच वर्षे कार्यकाल बित्नैलाग्दा समेत मन्त्रिपरिषद्को पहिलो निर्णय कार्यान्वनमा आउन सकेको थिएन। 

पोखरामा ठूलो क्षमताको सम्मेलन केन्द्र नहुँदा विभिन्न सम्मेलनहरू प्रदर्शनी केन्द्रदेखि रंगशाला लगायतका स्थानमा गरिँदै आएको छ।

प्रदेश सरकारको पाँच वर्षे कार्यकाल सकिन लागेसँगै पोखरामा दुई हजार जना अटाउने सम्मेलन केन्द्र निर्माणको प्रक्रिया अगाडि बढेको छ। सम्मेलन केन्द्र पोखरास्थित नयाँबजारमा हुनेछ। शहरी विकास तथा भवन निर्माण विभागले यसको निर्माण प्रक्रिया थालेको छ।

यसका लागि डीपीआर तयार भएको शहरी विकास तथा भवन निर्माण विभाग संघीय आयोजना कार्यान्वयन इकाई कास्कीका प्रमुख सुरोज पौडेलले जानकारी दिए। ३३ रोपनी जग्गामा सम्मेलन केन्द्रको भौतिक संरचना निर्माणका लागि डीपीआर बनेको उनले बताए।

उनका अनुसार सम्मेलन केन्द्र निर्माणका लागि संघीय सरकारले चालु आर्थिक वर्षका लागि १७ करोड रुपैयाँ विनियोजन गरेको छ। सम्मेलन केन्द्र निर्माणका लागि एक अर्ब रुपैयाँ खर्च लाग्ने अनुमान छ।

३३ रोपनीमध्ये नौ रोपनी क्षेत्रफलमा बेसमेन्टसहित बन्ने चार वटा हलमा ५० देखि १०० जनासम्म अट्ने साना हल र एउटा दुई हजार क्षमताको ठूलो हल निर्माण हुनेछ। 

बाँकी जग्गामा पार्किङसहित प्रदर्शनीस्थल रहने छ।

बहुवर्षीय आयोजना अन्तर्गत निर्माण हुने उक्त हल तीन वर्षभित्र सक्ने लक्ष्य रहेको छ। 

पार्किङस्थल र चमेनागृहसहितको हल निर्माणका लागि छिटै ठेक्का प्रक्रिया थालिने छ। 

भदौ ३१, २०७९ शुक्रबार १३:२४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।