पोखरामा शनिबारदेखि चार देशीय ‘पोखरा आर्ट क्याम्प’

पोखरामा शनिबारदेखि चार देशीय ‘पोखरा आर्ट क्याम्प’

काठमाडौं: चार देशका कलाकारहरूको सहभागितामा पोखरामा बृहत् आर्ट क्याम्प आयोजना गरिने भएको छ। गण्डकी प्रज्ञा प्रतिष्ठानसँगको सहकार्यमा भोलिदेखि असोज ४ गतेसम्म हुने ‘पोखरा आर्ट क्याम्प’मा नेपालसहित भारत, बङ्गलादेश र इरानका झण्डै एक सय कलाकारको सहभागिता रहने आयोजक अन्तर्राष्ट्रिय जलरङ समाज (आईडब्ल्यूएस) नेपालले जनाएको छ।

कोभिड–१९ सङ्क्रमणका कारण ललितकलाका गतिविधि भर्चुअलमा सीमित भइरहेको सन्दर्भमा सङ्क्रमण न्यून भएसँगै उक्त कार्यक्रम भौतिक उपस्थितिमा गर्न लागिएको हो। कला पर्यटन प्रवर्द्धन गर्दै कलामार्फत नेपालको पहिचान विश्वव्यापीरूपमा पुर्याउने प्रयास थालिएको शनिबार साँझ आयोजित पत्रकार सम्मेलनमा आयोजक समितिका संयोजक एनबी गुरुङले जानकारी दिए।

‘पोखरा घुमौँ र पोखराको प्राकृतिक सौन्दर्यलाई चित्रण गरौँ’ भन्ने नाराका साथ आयोजना हुने कार्यक्रममा कला कार्यशालाका साथै कला सेमिनार, कला पर्यटन भ्रमण तथा कला प्रदर्शनी हुनेछ।

गण्डकी प्रज्ञा प्रतिष्ठानका सदस्यसचिव मनकुमार श्रेष्ठले गण्डकी प्रदेश कला, साहित्य, सङ्गीत र संस्कृतिको उर्बरभूमि तथा हरेक जातिको आफ्नै गौरवपूर्ण भाषा र संस्कृतिको रमणीय स्थान भएको जानकारी दिए।

उनले पोखरा आर्ट क्याम्पमार्फत गण्डकीको सुन्दरता विश्वभर पुर्याउने अभियानमा सहभागी हुन पाएकोमा खुशी व्यक्त गरे।

ललितकलाको क्षेत्रमा महत्त्वपूर्ण कार्यक्रम गर्दै आएको आईडब्ल्यूएस नेपालले यसअघि काठमाडौं, घान्द्रुक र लुम्बिनीमा अन्तर्राष्ट्रिय जलरङ महोत्सव सम्पन्न गरिसकेको छ।

भदौ ३१, २०७९ शुक्रबार ०८:५९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।