राष्ट्रिय मुद्रा सङ्ग्रहालयमा छ फुकादामदेखि दोलखाको ’वान पिस’ चाँदीको मुद्रासम्म
काठमाडौँ : बिहीबारबाट सर्वसाधारणका लागि खुल्ला भएको छाउनीको राष्ट्रिय मुद्रा सङ्ग्रहालयमा माटोको मुद्रासँगै दोलखाको एउटा मात्रै चाँदीको मुद्रासम्म राखिएको छ।
बिहीबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले उद्घाटन गरेको सङ्ग्रहालयमा इशापूर्व छैठौ शताब्दीको मुद्रासँगै छालाका मुद्राहरू समेत राखिएको छ।
वि.सं. २०१९ पुस १ मा तत्कालीन राजा महेन्द्र वीर विक्रम शाहले हनुमानढोका दरबार परिसरभित्र राष्ट्रिय मुद्रा सङ्ग्रहालयको स्थापना गराएका थिए। छाउनीको सङ्ग्रहालय त्यसैको विस्तारित आकार हो।
वि.सं. २०५० मा त्यही सङ्ग्रहालय छाउनीमा सारियो। सङ्ग्रहालयका कर्मचारी गोविन्द न्यौपानेका अनुसार सङ्ग्रहालयमा करिब बिस हजार मुद्राहरू रहे पनि बिहीबारबाट १५ सय वटा मुद्राहरू मात्र प्रदर्शनीमा राखिएका छन्।
सङ्ग्रहालयमा के-के हेर्न पाइन्छ?
सङ्ग्रहालयमा प्राचीन मुद्राहरूमा ; कपिलवस्तु तिलौराकोटको उत्खननबाट प्राप्त आहात मुद्रा (इ.पू. छैठौ शताब्दी), कुषाणकालीन शासक हुविष्क तथा कनिष्कका मुद्राहरू (ईसाको पहिलो शताब्दी), ईसाको पाँचौँ शताब्दीदेखिका लिच्छविकालीन तामाका मुद्राहरू, लिच्छवि मुद्राहरूमा आराध्यदेव पशुपति, राजा रानीको नाम, राजाको राजकीय उपाधि समेत उल्लेख गरिएका साथै ध्वजा सहितको सिंह, कमलासन देवीको मूर्ति, कलश, साँढे (बसेको,उठेको, हिँड्न लागेको), हात्ती, अर्ध चन्द्र, पूर्णचन्द्र,पखेटावाल सिंह, अग्निको ज्वाला आदि अङ्कित गरिएका मुद्राहरू हेर्न पाइन्छ।
त्यस्तै मध्यकालीन मुद्राहरूमा भने नेपालमा इसाको एघारौँ शताब्दीतिर निष्कासन भएका शिवका तथा द्रम्म नामका केही दुर्लभ मुद्राहरू समेत सङ्ग्रहालयमा छन्।
दोलखाका राजा जयइन्द्र सिंहदेवद्वारा सन् १५४५ मा प्रचलनमा ल्याएको नेपालको पहिलो चाँदीको मुद्रा, राजा महीन्द्र मल्लद्वारा प्रसारित महेन्द्र मल्ली नामले प्रचलित काठमाडौँ उपत्यकाको पहिलो चाँदीको मुद्राहरू समेत सङ्ग्रहालयमा छन्।
मध्यकालीन मुद्राहरूको विशेषतामा राजाको नामको अतिरिक्त रानी, राजमाता, युवराज, चौतारा, अमात्यहरूको नाम, देवीदेवताहरूको नाम, विविध किसिमका यन्त्रहरू अङ्कित भएको पाइन्छ।
त्यसैगरी माटा तथा छालाका सिल छापहरू पनि यहाँ हेर्न पाइन्छ। त्यही सिलहरूलाई नै माटाका वा छालाका सिक्का भन्ने गरिन्छ। छालाको सिक्का भनिने यी सिलहरू वास्तवमा मध्यकालमा विभिन्न व्यापारिक नाकाहरूमा भन्सार जाँच गर्ने क्रममा काँचो छालाले बाँधिएको सामानका पोकाहरूमा लगाइएका छापहरू भन्सार अड्डाद्वारा लगाइएको छापहरू हुन्।
त्यसैलाई नै त्यस समय मानिसहरूले सिक्काको रूपमा काटेर सङ्कलन गरेको देखिन्छ। प्राचीन तथा मध्यकालमा चैत्य निर्माण गर्दा बुद्धको बचन अङ्कित यस्ता माटाका सिलहरू चैत्यको गर्भ ग्रहमा राखेर निर्माण गर्ने प्रचलन थियो।
चाबहिलस्थित धन्दो चैत्यको उत्खननको क्रममा पनि लिच्छवि मुद्राहरू प्राप्त भएका थिए । त्यसलाई पनि प्रदर्शनीमा राखिएका छन् ।
दोलखाको ’वान पिस’ चाँदीको मुद्रा
यो मुद्रा भने नेपालभरमै यही एउटा मात्र पिस रहेको सङ्ग्रहालयले जनाएको छ। त्यस कारण यसलाई छुट्टै सिसाले छोपिएर राखिएको छ। नेपालमा सर्वप्रथम चाँदीको मुद्रा प्रचलनमा ल्याउने दोलखाका ईन्द्रसिंहदेव हुन्।
यस मुद्राको अग्र भागमा चतुष्कोणभित्र ’दोलखाधिपति श्री श्री जयेन्द्र सिंह देवस्य’ र पृष्ठ भागमा ’पट्ट महादेव श्री विजय लक्ष्मी महादेव्या’ अभिलेख अङ्कित छ। ने.सं. ६६६ (ई.सं. १५४५) मा प्रचलनमा ल्याएको चाँदीको टकलाई पहिलो चाँदीको मुद्रा मानिएको छ।
काठमाडौँ देखि १३८ किमी पूर्वमा अवस्थित दोलखा यक्ष मल्लको समयसम्म सामन्त प्रदेशको रूपमा रहेको थियो। उनको मृत्यु पश्चात् उपत्यकाको पुरानो मल्ल शासित राज्य विभिन्न राज्यमा विभाजित भए। यसै समयमा दोलखालाई स्वतन्त्र राज्य घोषणा पनि गरे।
यस पछि सङ्ग्रहालयको अर्को आकर्षण भनेको पञ्चमार्क सिक्का (इपू पाँचौँ–छैटौँ शताब्दी) पनि हुन्। यी मुद्राहरू प्रायः चाँदीबाट बनेको हुन्छन्। आहत मुद्राको नामले पनि चिनिने यस मुद्रालाई सन् १८३५ मा अङ्ग्रेजी विद्वान जेम्स प्रिन्सेपले पञ्चमार्क नाम दिएका थिए। पञ्चमार्क मुद्रा भारतीय उपमहाद्वीपमा प्रचलित सर्वप्राचिन मुद्रा मानिन्छ।
धातुको पातालाई पिटेर वा ठप्पा मारेर वा काटेर निश्चित आकार दिई आहत मुद्रा निर्माण गरिन्थ्यो। गोलाकार र आयातकारमा निर्मित आहत मुद्राहरूमा विभिन्न आकृतिहरू जस्तै पशु (हात्ती, नन्दी), पन्छी (मयुर), सूर्य, पर्वत, वेदिका, स्वस्तिक, विविध आयुध तथा ज्यामितीय आकृतिहरू अङ्कित गरिएका छन्।
साहित्यिक श्रोतको आधारमा इसापूर्व सातौँ, आठौँ शताब्दीको मानिएको यस मुद्रालाई भारतीय पुरातत्वविद्हरूले इशापूर्व पाँचौँ शताब्दीको मानेका छन्। नेपालमा लुम्बिनी र कपिलवस्तुमा भएका पुरातात्त्विक उत्खननहरूमा यस्ता मुद्रा प्राप्त भएका हुन्। कतिपय विद्वानहरूले काठमाडौँ उपत्यकामा पनि आहत मुद्रा प्राप्त भएको चर्चा गरे पनि हालसम्म पुष्टि भने भैसकेका छैन।
फु गर्दा उड्ने ’फुका दाम’
राजा जयप्रकाश मल्लद्वारा प्रसारित संसार कै सबैभन्दा सानो मुद्राको रूपमा गिनिज बुक अफ वल्ड रेकर्डमा सूचीकृत फुकादाम(जावा) पनि यस सङ्ग्रहालयको मुख्य आकर्षणको रूपमा रहेको छ। फु गर्दा पनि उड्ने भएको कारण यसलाई फुका दाम भनिएको हो। यो कुन समयको हो, भनेर अहिलेसम्म पुष्टि नभए पनि ०.००४ ग्राम तौलको रहेको छ ।
काटिएका मोहरहरूलाई पनि यहाँको आकर्षणको रूपमा लिन सकिन्छ। सत्रौँ शताब्दीदेखि प्रचलनमा रहेको नेपाली मोहर तिब्बतमा ’१५ कर्मा’ नामक मूल्यबाट प्रचलित थिए। यी मोहरहरूको व्यापक प्रचलन सँगसँगै खुद्रा पैसाको विकल्पको रूपमा त्यसैलाई काटी प्रयोग गर्ने चलन चलेको र सोही अनुरूप जयप्रकाश मल्ल र प्रताप सिंह शाहका समयमा काटेको मोहरहरू प्रशस्त मात्रामा प्रचलनमा आएको देखिन्छ।
यस्ता मुद्राहरू काट्दा पृष्ठ भागमा रहेको अष्टदल पत्रलाई हिसाब गरेर २-३, १-२ र १-३ भागमा काट्ने गरेको पाइन्छ जसअनुरूप ५ पात ’१० कर्मा’, ४ पात ’७.५ कर्मा’, ३ पात ’५ कर्मा’ मूल्य निर्धारित थियो।
१९ औँ/२०औँ शताब्दीमा आएर यसरी काटेको मुद्राका छेउछेउका धार तथा बिचको भाग काटेर घोडाको नाल आकारमा अष्टदल पत्र मात्र बाँकी राखेर मुद्राहरू प्रचलनमा ल्याएको देखिन्छ। यी मुद्राहरूलाई तिब्बतीहरू ’चोटाङ’ (काटेको मोहर) भन्थे।
त्यसैगरी तिब्बतमा ई.सं. १६४० को दशकदेखि नै नेपाली मुद्रा प्रचलन भइसकेको थियो। तिब्बती बजारमा नेपाली व्यापारीहरूको एकाधिपत्यसँगसँगै नेपाली मुद्राले पनि तिब्बती बजारमा एकाधिकार कायम गरेको थियो। तिब्बतका निमित्त चाँदी लिएर मुद्रा बनाई दिने प्रथा पूर्व मल्लकालदेखि मल्लकालको अन्तसम्म पनि जारी रह्यो।
यस सँगै काजी भीम मल्लले आफ्नो उत्तर पूर्वी सैनिक अभियानको सिलसिलामा तिब्बत राज्यको महत्त्वपूर्ण प्रदेश कुती र केरुङको आधा भाग कब्जामा लिए। पछि तिब्बतीहरूले कान्तिपुरका सैनिकलाई रोक्नको लागि सन्धिको प्रस्ताव राखे। प्रस्ताव अनुसार दुई पक्षीय वाणिज्य सन्धिको मस्यौदा प्रस्तुत भयो।
जस अनुरूप नेपालले तिब्बतका लागि आवश्यक मुद्रा बनाएर पठाउने र नेपाली मुद्रालाई तिब्बतले पूर्ण मान्यता दिने लगायतका बुँदाहरू मा सहमति भए। यसरी तिब्बतको लागि नेपाली मुद्रा टक मार्दा नेपाललाई कच्चा पदार्थको रूपमा तिब्बती चाँदी मात्र प्राप्त हुने होइन, मुद्रा टक मारे वापत् प्रशस्त आम्दानी पनि हुन्थ्यो। कर्णेल कर्कपेट्रिकका अनुसार यस्तो आम्दानी वार्षिक एक लाख पुगेको सङ्ग्रहालयले जनाएको छ।
सङ्ग्रहालयमा एक सेट मुद्राको आभूषण (गहना) पनि छ। उक्त आभूषण भारतमा बेलायतको औपनिवेशिक कालका चाँदीका मोहरहरूको माला तथा औँठीहरू हुन्। यी मालाहरू विशेष गरी राई, लिम्बु, गुरुङ, थारु तथा तामाङ समुदायमा लोकप्रिय छ। नेपालमा खास गरी विभिन्न देवीदेवताको मूर्तिहरूमा मुद्राको माला लगाउने प्रचलन प्राचीनकालदेखिनै चलिआएको देखिन्छ।
’स्वदेशी र विदेशी जो भए पनि मुद्रा सम्बन्धी जानकारी राख्नेलाई धेरै भन्दा धेरै प्रत्यक्ष रूपमा मुद्रा हेर्ने इच्छा हुन्छ’ भन्दै सङ्ग्रहालयमा विभिन्न देशका केही पुराना तथा केही चलन चल्तीका मुद्राहरू पनि प्रदर्शनीमा राखिएका छन्।
यी बाहेक वि.सं. २००२ असोज १ गते जुद्ध शमशेरले सदर मुलुकी खानाबाट त्रिभुवनको श्रीपेचसहितको मुखाकृति अङ्कित कागजी नोटहरू प्रचलनमा ल्याएका थिए। नेपाल राष्ट्र बैङ्कको स्थापना हुनु भन्दा अगाडि खजान्चीका रूपमा सदर मुलुकी खानाबाट नेपाली कागजका नोटहरू जारी भएका थिए। त्यसदेखि अहिलेसम्म आएका सबै कागजी नोटहरू प्रदर्शनीमा राखिएको छ।
भदौ ३०, २०७९ बिहीबार २२:५३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।