'ब्रह्मास्त्र'ले जोगाउँदै छ बलिउडको साख, ६ दिनको कमाई २६१ करोड भारु

'ब्रह्मास्त्र'ले जोगाउँदै छ बलिउडको साख, ६ दिनको कमाई २६१ करोड भारु

एजेन्सी: बलिउड चलचित्रहरू एकपछि अर्को फ्लप हुँदै गएको बेला 'ब्रह्मास्त्र'ले भने दर्शक बटुलिरहेको छ। बहिष्कार ट्रेण्डले छोए पनि फिल्मले उत्साहजनक व्यापार गरिरहेको छ।

रिलिजको पहिलो दिनमै फिल्मले करिब ३६ करोड भारु कमाएर कीर्तिमान बनाएको थियो। रणवीर र आलिया भट्टको मुख्य भूमिका भएको यो चलचित्रले कमाइका आधारमा 'सञ्जु', 'टाइगर जिन्दा है' र 'धुम थ्री' जस्ता चलचित्रको ओपनिङ डे कलेक्सनलाई पछि पारेको छ।

यस्तै नन् होलिडे ओपनिङका आधारमा यो चलचित्र हालसम्मकै सर्वाधिक कमाउने हिन्दी फिल्म हो।

यस्तै पहिलो सप्ताहन्तमा फिल्मले १२५ करोड भारु कमाएको थियो। हालसम्मको आँकडा हेर्ने हो भने रिलिज भएको ६ दिनसम्ममा फिल्मले २६१ करोड भारु कमाएको छ। केही दिनमा तीन सय करोड भारु कमाउने आकलन भारतीय सञ्चारमाध्यमहरूले गरिरहेका छन्।

यता फिल्मलाई समीक्षकहरूले भने निकै खराब समीक्षा गरेका थिए। रेटिङ पनि ज्यादै कम दिइएको थियो। यद्यपि, वर्ड अफ माउथका कारण फिल्मले राम्रो व्यापार गरिरहेको छ।

फिल्मको कथा अस्पष्ट भएको, अभिनय फितलो भएको र हिन्दू धर्मावलम्बीहरूको आस्थामा चोट पुर्याएको भन्दै फिल्मको आलोचना पनि भएको थियो यसबीचमा। तर विस्तारै आलोचना कम हुँदै गएको छ।

फिल्म ४१० करोड भारुमा बनाइएको निर्माण युनिटको दावी छ। जसमध्ये १४० करोड भारु भीएफएक्समा मात्र खर्च भएको छ।

फिल्ममा भीएफएक्सको मात्र चार हजार पाँच सय शटहरू प्रयोग भएको छ।

फिल्ममा शाहरुख खान, नागार्जुन, अमिताभ बच्चन लगायत कलाकार पनि मुख्य भूमिकामा छन्।

भदौ ३०, २०७९ बिहीबार ११:३३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।