फेरि रातभर गुल्जार हुँदैछन् बुटवल र भैरहवा, बन्यो रात्रिकालीन व्यवसाय सञ्चालन गर्ने मापदण्ड
बुटवल: २०५२ सालमा माओवादी विद्रोह सुरु हुनुअघि बुटवल र भैरहवा शहर रातभर जाग्राम हुन्थे। रात्रिकालीन बजार लाग्थ्यो। होटल रातभर खुल्थे, केही अवरोध थिएन।
अझ बुटवलमा त राति जुनसुकै बेला आउने जो कसैले पनि सहजै बास पाउँछ भन्ने थियो। पूर्व–पश्चिम यात्रा गर्नेहरूमध्ये धेरैले खाना/खाजा खान बुटवल नै रोज्थे।
तर विद्रोहसँगै रात्रिकालीन बजार ठप्प भयो। सुरक्षाको कारण देखाउँदै प्रशासनले १० बजे नै बजार बन्द गराउने उर्दी दियो। अनि बुटवल, भैरहवा जस्ता शहर साँझमै सुनसान बन्न थाल्यो।
‘जतिबेला पनि बुटवल आउँदा बास बस्न, खान पाइन्छ भन्ने थियो त्यो बेला। तर पछि १० बजे नै होटल बन्द हुन थालेपछि बुटवलमा राति खान/बस्न यात्रुले पाएनन्। यसले बुटवल समसाँझै सुत्यो भन्नेर भन्न थालियो’, दुई दशकभन्दा बढी समयदेखि बुटवलमा होटल सञ्चालन गरिरहेका व्यवसायी माधव नेपालले भने।
अहिले बुटवलमा राति १० बजेपछि खान र बास बस्न पाउनु मुस्किलै छ। १० बज्नासाथ प्रहरी लाठी लिएर सटर झार्नू भन्दै बजार डुल्छ। यस्तो अवस्थामा कतिपय ग्राहकहरू खाइरहेको खानाको भाग छोडेर पनि हिँड्नुपरेको छ।
तर अब बुटवल र भैरहवा फेरि रातभर गुल्जार हुँदैछन्। शहरलाई जाग्राम राख्न गृहकार्य सुरु गरिएको छ। लामो समयदेखि व्यवसायीले उठाउँदै आएको रात्रिकालीन व्यवसाय सञ्चालनका लागि मापदण्ड बनिसकेको छ।
‘जब सुरक्षाको कारण देखाएर १० बजे होटल बन्द गर्ने नियम सुरु भयो। त्यो बेला अरू विकल्पमा सोचिएन। व्यवसायीले यस क्षेत्रमा अर्बौँ लगानी गर्दा लगानी सुरक्षित गर्नुपर्ने दायित्वबाट प्रशासन पछि हट्यो। अवस्था अब केही सुध्रिएला भन्ने लागेको छ’, नेपालले भने।
‘भारत तथा तेस्रो मुलुकबाट आउने पर्यटक लुम्बिनी हेर्छ, फर्कन्छ। रात्रिकालीन व्यवसाय सञ्चालन भए मनोरञ्जनमा पनि ऊ प्रवेश पाउँछ। यसले पर्यटकीय क्षेत्रमा नयाँ आयम थप्ने विश्वास गरिएको छ’, प्रमुख जिल्ला अधिकारी पाण्डेले भने।
होटल तथा रेष्टुरेन्ट व्यवसायी संघका अध्यक्ष रामप्रसाद गौतम रात्रिकालीन व्यवसाय सञ्चालन हुने भएपछि व्यवसायीहरू उत्साहित भएको बताउँछन्।
‘हामीले होटल मात्र रातभर खुला गरौँ भनेका छैनौँ। रात्रिकालीन व्यवसाय भनेका छौँ। यसमा सबै पसलहरू पनि राति खुला राख्न सकिन्छ भन्ने हो’, उनले भने।
जिल्ला प्रशासन कार्यालय रुपन्देहीले ‘रात्रिकालीन होटेल तथा मनोरञ्जनात्मक व्यवसाय सञ्चालन सम्बन्धी मापदण्ड, २०७९’ हालै मात्र तयार गरेको छ। यो मापदण्डले व्यवसायीलाई जिम्मेवार बनाउँदै सुरक्षाको प्रबन्धमा प्रशासनको सक्रियता आवश्यक रहेको औँल्याएको छ।
जिल्ला प्रशासनले सरोकारवालासँग छलफल गरेर मापदण्ड तयार गरेको प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले बताए।
प्रजिअ पाण्डेका अनुसार यो मापदण्ड पालना गरे रुपन्देहीको पर्यटनमा ठूलो छलाङ हुनेछ। अहिले १० बजे नै बन्द हुने व्यवसाय रातभर सञ्चालन हुँदा व्यवसायीलाई फाइदा हुने, पर्यटकलाई थप मनोरञ्जन दिन सकिने र लुम्बिनी आएका पर्यटकलाई केही दिन रुपन्देहीमा रोक्न सकिनेछ।
‘भारत तथा तेस्रो मुलुकबाट आउने पर्यटक लुम्बिनी हेर्छ, फर्कन्छ। रात्रिकालीन व्यवसाय सञ्चालन भए मनोरञ्जनमा पनि ऊ प्रवेश पाउँछ। यसले पर्यटकीय क्षेत्रमा नयाँ आयम थप्ने विश्वास गरिएको छ’, प्रमुख जिल्ला अधिकारी पाण्डेले भने।
जिल्लामा कस्तो खालको रात्रिकालीन व्यावसाय सञ्चालन गर्न सकिन्छ? कुन क्षेत्र उपयुक्त हुन्छ? भन्ने चुनौतीका विषयमा प्रशासनले सरोकारवालासँग पटक–पटक छलफल गरेको थियो। छलफलमा प्राप्त सुझावलाई मध्यनजर गरेर मापदण्ड तयार गरिएको उनले बताए।
मापदण्ड बनेपछि भैरहवा, बुटवल तथा आसपासका क्षेत्रमा रात्रिकालीन व्यवसायको बाटो खुलेको छ।
सिद्धार्थ होटल एसोशिएशनका अध्यक्ष चन्द्रप्रकाश श्रेष्ठले मापदण्ड बनाउनु राम्रो पक्ष भएको बताए। ‘यसबाट हामी उत्साहित छौं’, उनले भने, ‘तर, स–साना कुराहरूमा अझै ध्यान दिन जरुरी छ। पछि नराम्रो केही नहोस् भन्नेतर्फ प्रशासन र व्यवसायी सचेत हुनुपर्छ।’
जिल्ला प्रशासनले मापदण्डमा रहेर रात्रिकालीन व्यवसाय सञ्चालन गर्न सक्ने सूचना प्रकाशन गरेको छ। प्रमुख जिल्ला अधिकारी पाण्डेले व्यवसायीहरूले अब रात्रिकालीन व्यवसाय सञ्चालनका लागि निवेदन दिन सक्ने पनि जानकारी दिए।
मापदण्डले निर्दिष्ट गरेको सूचकको आधारमा निवेदन दिएकालाई व्यवसाय सञ्चालनको अनुमति दिन सकिने उनको भनाइ छ।
मापदण्डमा जिल्लाका होटेल तथा मनोरञ्जनात्मक व्यवसाय सञ्चालन गर्ने व्यवसायीले व्यवसायको प्रकृतिअनुसार अधिकार प्राप्त निकायमा दर्ता गरी व्यवसाय सञ्चालन गरेको हुनुपर्ने पहिलो सर्त तोकेको छ।
दर्ता भएका व्यवसाय रात्रिकालीन समयमा सञ्चालनका लागि जिल्ला प्रशासन कार्यालय रुपन्देहीसँग अनुमति लिनुपर्नेछ। अनुमति मागेपछि स्थलगत अनुगमन गरी राति समय तोकी सञ्चालन अनुमति दिनसक्ने व्यवस्था रहेको उनले बताए।
तर यसरी रात्रिकालीन व्यवसाय सञ्चालन गर्दा सदाचार र नैतिकताको आधारभूत मूल्य मान्यता प्रतिकूल नहुने गरी सञ्चालन गर्नुपर्ने प्रशासनको सर्त छ।
‘अहिले नयाँ नयाँ होटलहरू निर्माणको क्रममा छन्। ठूला पाँच तारे होटलहरू जिल्लामा पाँच वटा बन्दैछन्। योसँगै जिल्लामा अब होटलमा लगानी ५० अर्ब पुग्ने निश्चित छ’
यसका लागि प्रशासनले डिस्को, डान्स रेस्टुरेन्ट एन्ड बार, लाइभ ब्यान्ड, पब, बार क्लब लगायतमा १८ वर्षमुनिका बालबालिकाको प्रवेश निषेध गरेको छ।
रुपन्देही बन्दैछ होटलको हब
अन्तर्राष्ट्रिय विमानस्थल निर्माण भएसँगै अहिले जिल्लामा ठूला ‘स्टार’ होटल खुल्ने क्रम बढ्दै गएको छ। व्यवसायीले लगानी सुरक्षित देखेपछि रुपन्देहीमा होटल पूर्वाधारमा लगानी बढाउँदै लगेका छन्।
ठूला घरानाका व्यापारिक प्रतिष्ठानहरूको रोजाईमा रुपन्देही पर्न थालेको छ। जिल्लामा पछिल्लो समय एकैपटक २० हजारभन्दा बढी पर्यटक थेग्न सक्नेगरी होटलहरू सञ्चालनमा छन्।
जिल्लामा तारे होटल समेत दर्जन हाराहारीमा पुगिसकेका छन्। होटल तथा रेष्टुराँ व्यवसायी संघ रुपन्देहीका अध्यक्ष गौतमले जिल्लामा ३५ अर्ब रुपैयाँभन्दा बढी होटलमा लगानी भइसकेको बताए।
‘अहिले नयाँ नयाँ होटलहरू निर्माणको क्रममा छन्। ठूला पाँच तारे होटलहरू जिल्लामा पाँच वटा बन्दैछन्। योसँगै जिल्लामा अब होटलमा लगानी ५० अर्ब पुग्ने निश्चित छ’, उनले भने।
भदौ ३०, २०७९ बिहीबार १०:२४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।