शिव परियारपछि प्रमोद विवादमा : बलात्कारको संवेदनशीलता किन बुझ्दैनन् सेलिब्रिटी !

शिव परियारपछि प्रमोद विवादमा : बलात्कारको संवेदनशीलता किन बुझ्दैनन् सेलिब्रिटी !

काठमाडौँ : जब जब कुनै क्षेत्रको सेलिब्रिटी गम्भीर अपराधमा आरोपी बन्छन् तब तब विशेष गरी कला क्षेत्रका सेलिब्रिटीहरु आफ्नो कच्चा धारणाले विवादमा तानिने गरेका छन्।

पल शाहको बेलामा यो क्रम बाक्लै थियो। नायिका/नायक/ चरित्र अभिनेता अनि अभिनेत्रीले शाहको चरित्र जोगाउन आफ्नो वैचारिक चरित्र नै दाउमा राखे। वसुन्धरा भुसाल जत्तिको अभिनेत्री पनि पलबाबु त साह्रै सोझा हुन् भन्दै मिडियामा आइन्। कलाकार किरण केसी खुलेरै शाहको पक्षमा लागे।

पूजा शर्मा, सुदर्शन थापाजस्ता बाठाले बलात्कारको घटनामा जोडिएको पात्रलाई दर्शकको भावनासँग खेलेर फिल्मको व्यापार गरे। यसको परिणाम अदालतमा देखियो। निकै साहस बटुलेर प्रहरीसम्म जाहेरी दिन पुगेका पीडितका परिवारले अदालतमा एकाएक बयान बदले।

आफ्नै सक्रियतामा न्याय खोज्न अदालत पुगेकाहरू सहयोग गर्नेहरूलाई 'भड्काएको' आरोप लगाउँदै आफ्नो सबै बयान झुटो भएको भन्दै बयान दिए। उनीहरू होस्टायल भएको प्रस्टै देखियो। त्यसको प्रभाव अदालतमा पनि देखियो नै।

जिल्ला अदालत नवलपुरबाट फैसला आउँदा बलात्कार हैन बाल यौन दुरुपयोग मात्रै हो भनेर साढे २ वर्ष कैद सजाय सुनाइयो। १० लाख जरिवाना तोकियो। 

अदालतले कानुनमा रहेको व्यवस्था अनुसार पीडितलाई स्वविवेक प्रयोग गरेर तोकेको क्षतिपूर्तिलाई सन्तोष पन्तजस्ता कलाकारले पैसाको लागी बार्गेनिङ गरेको अर्थमा अर्थ्याए। प्रभाव पीडित सामाजिक सञ्जालमै आएर आफूले क्षतिपूर्ति नमागेको र क्षतिपूर्तिको रकम पनि नलिने भन्दै आफू कुन अवस्थामा रहेको परिवारको सदस्य जस्तै सम्झिएर हेर्न आग्रह गर्नुपर्यो। 

मनोरञ्जन क्षेत्र पीडक मैत्री बनिदिँदा पल कहिले जेलबाट निस्किएलान् र म्युजिक भिडियो र फिल्म खेलाउँला भनेर कुर्नेहरू निस्किए। तर गायन क्षेत्रमा स्थापित हुँदै गएकी पीडित नाबालिगलाई गीत गाउने अवसर दिएर पुन गायन क्षेत्रमा सक्रिय गराउन कसैले वास्तै गरेनन्।

क्रिकेटर सन्दीप लामिछाने बलात्कार आरोपमा परेपछि पुन त्यही क्रम दोहोरिइरहेको छ। आरोपीलाई शङ्का सुविधा दिने अनि पीडितको नियतमाथि उल्टो शङ्का गर्दै नाना थरीका टिप्पणी गर्ने क्रम जारी छ।

यसको प्रारम्भ गायक गायक शिव परियारले गरे अति विवादित धारणा लेखेर। उनी बलात्कार जस्तो गम्भिर अपराधका पीडितलाई पेशेवर पीडित भन्दै उनीहरुलाई पनि कारवाही गर्ने धारा छैन भन्दै प्रश्न गरे। उनलाई जानकारी रहेनछ प्रहरीले बलात्कारको आरोप लगाइदिउँ भन्दै हनीट्रयापमा पार्ने महिलाहरु भटाभट समातिएको। अनी बलात्कार नभए पनि भएको भन्नेलाई पनि कानुनी कारबाही गर्न सक्ने कानुन रहेको।

उनी यतिमै अड्किएनन्। उनले नेपालको गरिमा विश्वमा राख्ने सबैलाई सिद्ध्याउने खेल भइरहेको आपत्तिजनक धारणा राखे। पीडित र उनलाई सहयोग गरिरहेकाहरूलाई गिरोहभन्दै उनले यसको उपचार बेलैमा नगरे नेपाल बलात्कारीहरूको देश भनेर चिनिने चिन्ता पनि व्यक्त गरे।

उनको तुच्छ धारणको आलोचना बढेपछि उनले सञ्जालमा लेखेका विचार हटाए। तर त्यो बिचमा नाबालिग बलात्कार जस्तो गम्भीर अपराधबारे उनको सोच कति कच्चा रहेछ भन्ने प्रमाण स्क्रिन सटको रूपमा घुमिरह्यो सञ्जालमै।

पल शाहको बेलामा पनि बलात्कारबारे कच्चा धारणा राखेका थिए सन्तोष पन्तले। उनले चेतेनन्। सन्दीपको घटनाबारे थप विवादित र आपत्तिजनक धारणा राखे' पल र सन्दीप दुवै घटना बार्गेनिङ गर्न गराएको' भन्दै।

उनले बलात्कार भएको भए होटेलको कर्मचारीलाई किन नभनेको भन्दै उल्टै पीडितलाई थप पीडित बनाउने धारणा राखेका थिए।

अहिले यही सूचिमा थपिए गायक प्रमोद खरेल। उनको धारणा शिव परियार अनि सन्तोष पन्तझैँ पीडितलाई आरोप लगाएका छैनन्। तर पक्राउ आदेश जारी भएपछि पनि नेपाल बाहिर लुकेका सन्दीपको पक्षमा देखियो।

उनले 'देशको झन्डा छातीमा बोकेको मान्छेलाई हो-हल्ला नगरी आवश्यक कानुनी प्रक्रियामा जाँदा कसको के बिग्रन्छ र' लेखेका छन्। सन्दीपबारे भइरहेको बहसप्रति असहमत र सन्दीपप्रति सहानुभूति राखेको धारणा सञ्जालमा राखे लगत्तै आरोपीको समर्थन गरेको भन्दै उनी आलोचनाको घेरामा परेका छन्।

परियारले जस्तै उनले पनि विवादपछि ट्विट डिलेट गरे। तर स्क्रिनसट त घुमिराछ सञ्जालमा आलोचना बोकेर।

भदौ ३०, २०७९ बिहीबार १०:२२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।