नायिका सुहाना थापाको गज्जबको काम
काठमाडौँ : नेपाली चलचित्र क्षेत्रमा एक नराम्रो मनको रोग छ कलाकारबिच। आफ्नो जस्तो सुकै झुर फिल्म भए पनि गज्जब, अन्तर्राष्ट्रिय क्षेत्रको भन्दै गफ दिने अनि अर्कोले साँच्चिकै गज्जब फिल्म बनायो भने पनि नाक खुम्च्याउने।
अर्काको प्रशंसा त फिल्म प्रमोसनै कुर्नुपर्ने जस्तै देखिन्छ नेपाली कलाकारको स्वभाव हेर्दा। तर नायिका सुहाना थापाले भने आफूलाई अभिनयमा मात्रै हैन व्यवहार र स्वभावमा समेत अन्यभन्दा भिन्न छु है भन्ने देखाइन् बुधवार।
उनले आफ्नै खर्चमा ४० जनालाई फिल्म हलमा लगेर फिल्म हेराइन् तर आफ्नो हैन अर्काको। उनले बुधवार ४० अनाथ बालबालिकालाई सुजित बिडारीको निर्देशनमा बनेको फिल्म ‘ऐना झ्यालको पुतली’ हेराएकी हुन्।
उनले सबै बालबालिकालाई बीग मुभिजमा लगेर फिल्म देखाइन्। उनले बुढालिनकण्ठमा रहेको ‘माउन्टेन चिल्ड्रेन होम’मा रहेका अनाथ बालबालिकालाई फिल्म देखाउन हलमा लगेकी हुन्। उनले यसका लागि राष्ट्रिय बाल दिवसको मौका छोपिन्।
उनले बालबालिकालाई फिल्म मात्र देखाइनन् फिल्मको प्रशंसा पनि गरिन्। उनले फिल्मले देखाएको कथाले मन छोएको बताइन्। उनले फिल्ममा देखाएको बालापन आफूले बिताउन नपाएको भन्दै सहरी परिवेशमा हुर्किएकाहरूले यो फिल्म हेर्न सुझाव समेत दिइन्।
सुहानाको यो काम साँच्चै प्रशंसिनय हो। प्रशंसा गरौँ। अनि कामना अन्य कलाकारहरूले पनि सिकुन् अरुकै भए पनि राम्रो कामको प्रशंसा गर्न।
भदौ २९, २०७९ बुधबार २३:२६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।