नेपाल फर्किएर आरोपको सामना गर्छु भनेका सन्दीप कता हराए ?
काठमाडौँ : नेपाल फर्किएर आफूमाथि लागेको नाबालिग बलात्कारको आरोपको कानुनी रूपमा सामना गर्ने दाबी गरेका क्रिकेटर सन्दीप लामिछाने सम्पर्कहीन भएका छन्।
काठमाडौँ जिल्ला अदालतबाट पक्राउ आदेश जारी भएसँगै उनले ट्विट गर्दै आफूमाथि लागेको आरोप झुटो भएको दाबी गर्दै नेपाल फर्किएर त्यसको सामना गर्ने दाबी गरेका थिए।
जमैकामा रहेका उनी अहिले त्यहाँको सिरिजमा समेत संलग्न छन्। नेपालमा लामिछानेविरुद्ध अदालतबाट पक्राउ आदेश जारी भएपछि टिमले उनीसँग गरेको सम्झौता रद्द गरेको थियो।
उनी आफैँले नेपाल फर्कने भनेपछि प्रहरीले उनी नेपाल आए लगत्तै नियन्त्रणमा लिन सबै जिल्ला प्रहरी कार्यालय र अध्यागमनमा पत्राचार गरेको थियो। तर उनी बुधवारसम्म काठमाडौँ आएका छैनन्।
'आरोपी नेपाल नआएसम्म तत्काल पक्राउ गर्ने सम्भावना नरहे पनि हामीले गर्ने अनुसन्धान गरिरहेका छौँ,' काठमाडौँ जिल्ला परिसरका एसएसपी भरत बोहोराले उकेरासँग भने' तत्काल पक्राउ गर्ने दोस्रो विकल्पमा जाने तयारी छैन। तर आरोपी फरारै रहे पक्राउ गर्न आवश्यक प्रक्रिया अगाडि बढ्छ नै।'
लामिछाने नेपाल फर्किएर अनुसन्धानमा नसघाए प्रहरीसँग रहने विकल्प भनेको अदालतबाट जारी भएको पक्राउ आदेशको आधारमा नेपालमा रहेको इन्टरपोल शाखा मार्फत डिफ्युजन नोटिस जारी गराउने नै हो। तर प्रहरी अझैँ उनलाई कुर्ने र नआए डिफ्युजन नोटिसको विकल्पमा जाने रणनीतिमा रहेको देखियो।
लामिछानेलाई भेट्न जाँदा भक्तपुरको नगरकोट पूर्याएर मध्यरात काठमाडौँ सिनामंगलमा रहेको एक होटेलमा लगेर बलात्कार गरेको भन्दै एक १७ बर्सिया किशोरीले प्रहरी वृत्त गौशालामा जाहेरी दिएकी थिइन्।
जाहेरीमा उनी लामिछानेको फ्यान रहेको र स्न्यापच्याटबाट चिनजान भएको आधारमा उनले भेट्न बोलाएपछि सँगै कफी खाएर सेल्फी खिच्न भेट्दा उनले होटेलमा लगेर बलात्कार गरेको दाबी छ। भदौ पाँच गते भएको दाबी गरिएको घटनाबारे जाहेरी परेपछि प्रहरीले मुचुल्का र क्लोज सर्किट टेलिभिजनका दृश्य लगायतका प्रमाण सङ्कलन भइसकेको जनाएको छ।
अनुसन्धानस्रोतका अनुसार किशोरीको स्वास्थ्य रिपोर्टदेखि सिसिटिभीको फुटेजसम्मले जाहेरीमा गरिएको दाबी मिलेको छ। लामिछानेसँग नेपाल फर्किएर कानुनी प्रक्रियामा संलग्न हुने बाहेक अन्य विकल्प देखिन्न।
'उनी लुकेर बस्नु भनेको आरोप स्वीकार गर्नु पनि हो। जाहेरी दर्ता भएर अनुसन्धान सकिए पनि उनी पक्राउ नपरेसम्म प्रहरीका लागि मुद्दा लैजान पर्याप्त समय छ। सिसिटिभीमा उनी किशोरीसँग होटेलमा गएको र बाहिरिएको देखिएको छ। उनी नेपाल फर्किएर अनुसन्धान प्रक्रियामा संलग्न हुनु नै राम्रो हो,' एक अनुसन्धान अधिकारीले भने।
भदौ २९, २०७९ बुधबार २०:०७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।