कांग्रेसले पहिल्यै समानुपातिकमा बसेका नेतालाई यसपालि उम्मेदवार नबनाउने
काठमाडौँ : पाँच दलीय गठबन्धनमा सिट बाँडफाँडमा कुरा नमिले पनि गठबन्धनमा रहेका दलहरू मङ्सिर ४ को निर्वाचनको आन्तरिक तयारीमा सक्रिय भएका छन्।
प्रत्यक्षतर्फ पाँच दलबिच सिट बाँड्न दैनिक बैठक बसे पनि सहमति हुन सकेको छैन। यही बिच नेपाली कांग्रेसले प्रतिनिधि सभा र प्रदेश सभामा दलको तर्फबाट बनाउने उम्मेदवारहरूको मापदण्ड भने तोकेको छ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको नेपाली कांग्रेसका शीर्ष र पूर्व पदाधिकारीको बैठकले समानुपातिक उम्मेदवारबारे चार बुँदे मापदण्ड बनाएको हो।
मापदण्डमा स्थानीय तहमा उम्मेदवार भएकालाई माथिल्लो तहमा दाबी गर्न नपाइने, २०७४ को निर्वाचनमा प्रदेश र संघमा समानुपातिक सांसदको उम्मेदवार बनेर सांसद भएकाहरु दोहोरिन नपाउने उल्लेख छ। समानुपातिक सूचीबाट सांसद भएकाहरु प्रत्ययक्षतर्फ भने उम्मेदवार हुन पाउने छन्।
यसैगरी, पार्टीमा लामो समयदेखि दुख गरेका, आन्दोलनमा सहभागी भएका, जनतामा प्रभाव पार्ने क्षमता भएका र चुनाव जित्न सक्ने बलियो आधार भएकालाई उम्मेदवार बनाउने पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जारी गरेको विज्ञप्तीमा उल्लेख छ।
भदौ २९, २०७९ बुधबार १९:२८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।