बाढीले पाकिस्तानमा एकै दिन ५४ जनाको मृत्यु, महिला र बालबालिका धेरै

बाढीले पाकिस्तानमा एकै दिन ५४ जनाको मृत्यु, महिला र बालबालिका धेरै

एजेन्सीः पाकिस्तानका विभिन्न भागमा अविरल वर्षासँगै आएको बाढीमा परी गएको २४ घन्टामा ५४ जनाको ज्यान गएको छ।

पाकिस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणले मंगलबार राति प्रकाशन गरेको तथ्याङ्कमा बाढीमा परेर एकै दिन ५४ जनाको ज्यान गएको उल्लेख गरिएको छ।

बितेका दुई महिनामा यहाँका एक हजार चार सय ८१ को बाढीबाट ज्यान गएको र हजारौं घाइते भएको प्राधिकरणले जनाएको छ।

बाढीबाट मंगलबार सिन्ध प्रान्तमा मात्र ४४ जनाको ज्यान गएको हो। मृतक अधिकांश बालबालिका र महिला हुन्। यहाँका तीन करोड ३० लाखभन्दा बढी नागरिक बाढीबाट प्रभावित भएका छन्।

यस्तै, उत्तरपश्चिमी प्रान्त खैबर पख्तुनख्वा, पञ्जाव प्रान्तमा पनि बाढीले असर गरेको छ। सबैभन्दा बढी सिन्धमा र त्यसपछि बलुचिस्तान, गिलगिट र बाल्टिस्तान क्षेत्रहरु बाढीको चपेटमा परेका छन्।

बाढीले निम्त्याएको विनाशसँगै पाकिस्तानमा १२ अर्ब डलरभन्दा बढीको आर्थिक क्षति भएको अनुमान गरिएको छ।

भदौ २९, २०७९ बुधबार १४:०८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।