कोरोना पछि चिनियाँ राष्ट्रपतिको पहिलो विदेश भ्रमण, पुटिन र मोदीसँग एउटै मञ्चमा देखिने

कोरोना पछि चिनियाँ राष्ट्रपतिको पहिलो विदेश भ्रमण, पुटिन र मोदीसँग एउटै मञ्चमा देखिने

एजेन्सीः चिनियाँ राष्ट्रपति सी जिनपिङ कोरोना संक्रमणपछि पहिलो पटक विदेश भ्रमणमा निस्किएका छन्।

उजवेकिस्तानमा बिहिबारदेखि सुरु हुने साङहाइ को–अपरेसन फोरमको शिखर सम्मेलनमा सहभागी हुन राष्ट्रपति सी त्यसतर्फ लागेका हुन्।

बुधबार साँझ काजकस्तान पुग्ने उनी बिहीबार उजवेकिस्तान जाने कार्यक्रम छ। शिखर सम्मेलनमा सी र रुसका राष्ट्रपति भ्लादिमिर पुटिनबीचमा समेत भेट हुने सिन्ह्वाले जनाएको छ।

गत फेब्रुअरीमा युक्रेनमाथि रुसी हमला हुनुअघि ओलम्पिक महोत्सवको उद्घाटनका दिन अचानक बेइजिङ पुगेर पुटिनले सीसँग भेटवार्ता गरेका थिए।

युक्रेनमाथि रुसको हमला र त्यसपछिको समयमा विश्वमा धेरै नै उथलपुथलकारी घटना भएकाले सी र पुटिनबीचको भेटलाई अर्थपूर्ण रूपमा हेरिएको छ।

साङहाइ कोअपरेन फोरम युरोएशियाली देशहरुबीच राजनीतिक, आर्थिक र सुरक्षा सम्बन्ध मजबुत बनाउने उदेश्यले चीनले सुरु गरेको संगठन हो।

जसमा चीन, रुस, काजकास्तान, किर्गिस्तान, ताजकस्तान र उजवेकिस्तान सदस्य रहेका छन्। इरान पनि त्यसमा सहभागी हुने तयारीमा छ। सम्मेलनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पर्यवेक्षकका रूपमा सहभागी हुँदैछन्।

भदौ २९, २०७९ बुधबार १०:४८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।