दुई युवाले ३० किलोमिटर मोटरसाइकल दौडाए, ११ जनामाथि गोली चलाए

दुई युवाले ३० किलोमिटर मोटरसाइकल दौडाए, ११ जनामाथि गोली चलाए

एजेन्सीः भारतको बिहारस्थित बेगुसराय जिल्लामा मंगलबार साँझ एकपछि अर्को गर्दै ११ जनामाथि गोली प्रहार भएको छ।

मोटरसाइकलमा सवार दुई युवाले ३० किलोमिटरको यात्रामा जसलाई भेटिन्छ उसलाई गोली हानेको बीबीसीले उल्लेख गरेको छ। नेशनल हाइवे ३१ र २८ मा भएको घटना साँझ साढे ५ बजेदेखि सुरु भएको थियो।

बछवाडा भन्ने गाउँबाट सुरु भएको घटनाको दोस्रो गाउँ थियो फूलवरिया। त्यहाँका एक व्यक्तिमाथि गोली प्रहार गर्दा उनको ज्यान गएको छ। अन्य १० जनाको भने स्थानीय अस्पतालमा उपचार भइरहेको छ।

एक जनालाई गोली हान्दा खासै ख्याल नगरेका स्थानीयले जब लगातार ११ जनामाथि गोली प्रहार भयो त्यसपछि भने त्रसित बनाएको छ। ३० किलोमिटरसम्म गोली चलाउँदा हाइवेको पेट्रोलिङ प्रहरीले केही काम नगरेको भन्दै स्थानीयले आक्रोशित भएका छन्।

प्रहरीले मोटरसाइकलमा सवार दुई युवा लगभग ३० वर्ष आसपासको भएको अनुमान गरेको छ। जिल्लाका सबै चेकपोस्टमा अलर्ट जारी गरिएको छ भने अन्य जिल्लामा पनि सूचना पठाइएको स्थानीय प्रहरीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ।

घटनापछि बिहारका मुख्य विपक्षी दल भारतीय जनता पार्टी (बिजेपी)ले बिहारमा आजसम्म यस्तो घटना नभएको भन्दै मुख्यमन्त्री नीतिश कुमारको आलोचना गरेका छन्। घटनाको विरोधमा उनीहरूले बुधबार बेगूसराय बन्दको आह्वानसमेत गरेका छन्।

भदौ २९, २०७९ बुधबार ०९:१०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।