कलाकारले नै बदनाम गर्न खोजे भन्दै भुवन केसीले चित्त दुखाए
काठमाडौँ : चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले नेपाली फिल्मले हलहरूमा प्रदर्शनको समय नपाएपछि आफ्नो बदनाम गर्ने प्रयास भएको दाबी गरेका छन्।
फिल्म 'प्रकाश', 'राधा' अनि शुक्रवार रिलिज भएको ऐना झ्यालको पुतलीलाई हलहरूले निकै कम शो दिएपछि प्रदर्शकसँगै बोर्ड नेतृत्वको समेत आलोचना भएको थियो।
हिन्दी फिल्म ब्रम्हास्त्रको सेन्सर नभएको भन्दै ऐना झ्यालको पुतलीको अग्रिम बुकिङ समेत खुलाइएको थिएन। नेपाली हलहरूमा विदेशी फिल्मलाई प्राथमिकता दिएर फिल्म रिलिज भएको पहिलो दिनमा समेत नेपाली फिल्मले पर्याप्त शोहरु पाउन छाडेपछि निर्माता, निर्देशक र कलाकार समेत बोर्डको आलोचनामा उत्रिइरहेका छन्।
मङ्गलवार एक कार्यक्रममा केसीले त्यसैतर्फ सङ्केत गर्दै आफू नेपाली फिल्मले ६० प्रतिशत शो समय पाउनुपर्ने पक्षमा रहेकाले आफूलाई नेपाली चलचित्रको विपक्षमा रहेको जसरी बदनाम नगर्न आग्रह गरेका थिए।
उनले फिल्मको शोहरु निर्धारण गर्ने अधिकार बोर्डमा नरहेको तर सबै काम बोर्डको भएको जसरी आफ्नो आलोचना भएको भन्दै चित्त दुखाए।
नायिकाबाटै यौन दुर्व्यवहार गरेको आरोप खेपेका केसी बोर्ड अध्यक्षमा नियुक्त भएदेखि नै विवादमै छन्। उनको शैक्षिक योग्यतामा प्रश्न उठाउँदै सर्वोच्चमा मुद्धा समेत परेको छ। त्यसमा पछिल्लो समय हल सञ्चालक र फिल्म निर्माताविच शोका विषयमा बढिरहेको विवादमा बोर्डले प्रभावकारी भुमिका ननिभाउँदा नेतृत्वको आलोचना हुनु सामान्य नै हो।
केसीले बोर्ड अध्यक्ष दाबी गर्दा नै आफु ४० वर्षदेखि नेपाली फिल्म क्षेत्रमा काम गरेको भन्दै नेपाली फिल्म क्षेत्रको हितका लागि काम गर्ने दाबी गरेका थिए। तर उनको कार्यकालपछि नै शो टाइम तिब्र विवादमा आइरहेको छ।
भदौ २८, २०७९ मंगलबार २३:०६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।