पल शाह 'पीडित'नाबालिगले लेखिन्- 'अस्मिता रक्षाका लागि आफ्नो ठाउँमा अडिग छु'
काठमाडौं : अभिनेता पल शाहबाट बलत्कृत भएको दाबी गरिएकी नाबालिकाले सामाजिक सञ्जालमा लेख्दै आफूले भोगेको घटना नेपाली कलाकारिता क्षेत्रकै लागि दुःखद भएको दाबी गरेकी छिन्।
मंगलबार राति सामाजिक सञ्जालमार्फत उनले आफूले लामो समयदेखि भोगिरेहेको घटना नेपाली कलाकारिता क्षेत्रकै लागि दुःखद् भएको दाबी गरेकी हुन्।
उनले लेखेकी छन्, ‘यहाँहरू सबैलाई अवगत भएकै कुरा हो। म लामो समयदेखि एउटा दु:खद घटना भोगिरहेकी छु। उक्त घटना मेरो र नेपालको कलाकारिता क्षेत्रका निम्ति नै दुःखद् घटना हो।’
सामाजिक सञ्जालमा आफ्नाविरुद्ध लज्जास्पद तस्बिर र गाली गलौजका कारण आफूमा नकारात्मक मानसिक प्रभाव परेको भन्दै उनले घरको जस्तै सम्झेर समस्यालाई बुझिदिन आग्रह गरेकी छन्।
उनले थपिन्, ‘सामाजिक सञ्जालमा मेराविरुद्ध बनेका लज्जास्पद तस्बिर र गाली गलौजले गर्दा मेरो मानसपटलमा नकारात्मक प्रभाव परेको छ। कृपया आफ्नै घरको घटना जस्तो सम्झेर मेरो समस्यालाई नियालिदिनुहोला।’
आफूले क्षतिपूर्ति बापतको रकम नलिएको र लिने मनसाय पनि नरहेको भन्दै उनले अस्मिता रक्षाका लागि आफ्नो ठाउँमा अडिग भएको उल्लेख गरेकी छिन्।
जिल्ला अदालत नवलपुरले शाहमाथिको बलात्कार अभियोगबारे अन्तिम सुनुवाई गर्दै बलात्कार नदेखिएको तर बाल यौन दुरुपयोग देखिएको भन्दै शाहलाई साढे २ वर्ष कैद र १० लाख जरिवानाको फैसला गरेको थियो। जिल्ला अदालत लम्जुङमा उनी विरुद्ध बलात्कार मुद्धा भने कायमै छ।
भदौ २८, २०७९ मंगलबार २१:५२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।