राष्ट्रिय खेलकुदमा कर्णालीबाट ६ सय बढि सहभागी हुने, ५० लाख बजेट अपुग भएको परिषद्को गुनासो
सुर्खेतः आगामी असोज २८ गतेदेखि कात्तिक ४ गतेसम्म पोखरामा हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा कर्णाली प्रदेशबाट २९ खेलका लागि ६ सयभन्दा बढी खेलाडी सहभागी हुने भएका छन्।
कर्णाली खेलकुद विकास परिषद्का सदस्य सचिव विश्वमित्र सन्जेलका अनुसार केही दिनमै खेलाडीहरूको नामावली सार्वजनिक गरिने जानकारी दिए।
कर्णालीबाट भलिबल, फुटबल, एथ्लेटिक्स, मार्शल आर्ट, ह्याण्डबल, बुद्धिचाल, बास्केटबलमा प्रतिस्पर्धा गर्नेछन्। पहिलोपटक ‘रक वि’ खेलमा कर्णाली प्रदेशले सहभागिता जनाउँदैछ।
६ सय बढि खेलाडीका लागि बन्द प्रशिक्षण गर्न बजेट अभाव हुने भन्दै दैनिक रूपमा एक हजार खाना तथा खाजा खर्च दिए पनि प्रदेश सरकारले दिने भनेको ५० लाखले पाँच दिन मात्रै बन्द प्रशिक्षण गर्न सकिने सन्जेलले बताए।
परिषद्का अनुसार केन्द्रबाट ४९ लाख बजेट आएको छ भने प्रदेश सरकारले यसका लागि ५० लाख रुपैंया विनियोजित गरेको छ।
यता, सामाजिक विकास मन्त्री यज्ञबहादुर बुढाक्षेत्रीले खेलकुदका लागि आवश्यक बजेटको व्यवस्था गरिने बताए। बजेट अभावका कारण कुनै पनि समस्या आउन नदिने भन्दै उनले अर्थ मन्त्रालयले प्रस्ताव हेरेर आवश्यक निर्णय लिने जानकारी दिए।
भदौ २८, २०७९ मंगलबार १९:१८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।