गठबन्धनले मान्छे कुट्ने र कुन बुथ कब्जा गर्ने भनेर योजना बनाइसक्यो : अध्यक्ष ओली

गठबन्धनले मान्छे कुट्ने र कुन बुथ कब्जा गर्ने भनेर योजना बनाइसक्यो : अध्यक्ष ओली

पोखरा । एमाले अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ गठबन्धनले आगामी निर्वाचनमा धाँदली गरेर बहुमतका नाममा सत्ता कब्जा गर्न खोजेको आरोप लगाएका छन्।

मंगलबार पोखरामा लोकतान्त्रिक तमु संघले आयोजना गरेको दोस्रो राष्ट्रिय सम्मेलन उद्घाटन गर्दै ओलीले सत्ता गठबन्धनले निर्वाचनमा बुथ कब्जा गर्ने योजना बनाएको आरोप लगाए।

‘सत्तारुढ गठबन्धनले आगामी निर्वाचनमा कुन–कुन जिल्लाका कुन बुथ कब्जा गर्ने, भन्ने योजना बनाइसकेका छन्,’ उनले भने, ‘मान्छे कुट्ने, काटमार गर्ने योजना पनि बनाइसक्यो।’

अध्यक्ष ओलीले गठबन्धनले धाँदली गरे त्यसलाई रोक्ने काम एमालेका कार्यकर्ताले गर्ने बताए।

‘सत्ताको आढमा कसैले धाँदली गर्न खोज्छ भने एमालेलाई सैह्य हुँदैन,’ उनले भने, ‘मगर युवा, विद्यार्थी, महिलाको यत्रो एमालेको पंक्ति हुँदाहुँदै कसैले बुथ कब्जा गर्छ भने प्रतिवाद गर्नुपर्छ।’

अध्यक्ष ओलीले गठबन्धनले अहिले एसपीपी सम्झौता जनता भड्किने देखेपछि सरकार पछि हटेको भन्दै चुनावमा बहुमत ल्याए एसपीपीजस्तै राष्ट्रघात गर्ने योजना बनाएकोसमेत आरोप लगाए। गठबन्धनले देश बर्बादीमा लगेकाले मंसिर ४ को चुनाव एमालेले जित्नैपर्ने उनले बताए।

भदौ २८, २०७९ मंगलबार १९:०४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।