भारतीय र नेपाली निर्माता मिलेर नेपाली र हिन्दी भाषामा फिल्म ‘सायरा’ बनाउने घोषणा
काठमाडौँ : नेपाली र हिन्दी भाषामा निर्माण गरेर ओटिटी प्लेटफर्ममा समेत रिलिज गर्ने गरी नेपाल र भारतका फिल्म निर्माताहरूको संयुक्त लगानीमा फिल्म‘सायरा’ को निर्माणको घोषणा गरिएको छ।
मङ्गलवार होटल काठमाडौँमा आयोजित कार्यक्रममा बलिउड निर्माता तथा निर्देशक पुष्कर झा र नेपाली ब्यानर डीबीआर मिडिया एन्ड मुभिज् प्राली र आइविल प्रोडक्सन अस्ट्रेलियाको संयुक्त लगानीमा फिल्म बनाउने घोषणा गरेको हो।
फिल्ममा नेपाल र भारत दुवै देशका कलाकारको अभिनय रहने जानकारी दिइयो। कलाकारमा आर्यन सिग्देल, सुफिया सिद्धिकी र कविता नेपालीको नाम मात्र सार्वजनिक गरिएको थियो। डान्सिङ रियालिटी शो मार्फत चिनिएकी कविता नेपाली यसै फिल्ममार्फत डेब्यु गर्दैछिन्।
झा भारतमा टेलिसिरियल र फिल्म निर्माणमा संलग्न छन्। ‘अहिले यो सहकार्य हुँदा म उत्साहित छु। नेपाली फिल्मलाई हिन्दी भाषा मार्फत विश्व बजारमा लैजाने म सहित टिमको तयारी छ। हामीले यसलाई हलसँगै ओटीटी पनि रिलिज गर्ने छौँ’ उनले दाबी गरे।
निर्देशक विशाल देसाइले नेपाल र भारतको प्रोजेक्टमा जोडिन पाउँदा उत्साहित रहेको बताए। फिल्मका प्रस्तुतकर्ता रघु परियारले आफ्नो प्रस्ताव स्विकारेर फिल्ममा जोडिएकोमा पुष्कर र विशाललाई धन्यवाद दिए।
दसैँ र तिहारको बिचमा छायाङ्कन सुरु हुने सायराको ९० प्रतिशत छायाङ्कन अस्ट्रेलिया र १० प्रतिशत नेपालमा गर्ने निर्माण टिमको दाबी छ।
भदौ २८, २०७९ मंगलबार १७:५९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।