औद्योगिक विकासका लागि पूर्वाधार निर्माण गर्नुपर्छ : अध्यक्ष गोल्छा

औद्योगिक विकासका लागि पूर्वाधार निर्माण गर्नुपर्छ : अध्यक्ष गोल्छा

बुटवलः नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले मुलुकको औद्योगिक विकासको लागि पूर्वाधार निर्माणमा जोड दिनुपर्ने बताएका छन्।

बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीको सोमबार बुटवलमा आयोजना गरिएको ६९औं साधारण सभाको उद्घाटन समारोहमा बोल्दै अध्यक्ष गोल्छाले औद्योगिक विकासको लागि सरल तरिकाले जग्गाको प्राप्ति र प्राप्त भएको जग्गामा पूर्वाधार विकासमा सरकारले सघाउनुपर्ने बताए।

त्यस्तै औद्योगिक क्षेत्रमा उद्योगहरूलाई लिज सम्झौताको समयावधि पनि बढाउनुपर्ने उनको भनाइ छ। उनले बैंकको व्याजदर सय प्रतिशत भन्दा बढी भएको बताउँदै त्यसले उद्योगी व्यवसायीलाई ठूलो समस्या भएको बताए।

कार्यक्रममा बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष उज्ज्वलप्रसाद कसजूले खुला सिमानाकाका कारण यस क्षेत्रका व्यवसायी मारमा परेको जानकारी गराउँदै समस्या समाधानको लागि पहल गरिदिन महासंघलाई आग्रह गरे।

बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेयले बुटवलमा मोतिपुर औद्योगिक क्षेत्र निर्माणको लागि जग्गाको नापजाँच सुरु भएको बताए।

संघको साधारण सभाको अवसरमा समाजसेवी रामजी अधिकारी र खेलाडी प्रसंगध्वज मास्केलाई सम्मान गरिएको छ।

मानवताको सेवामा समर्पित मानव सेवा आश्रमका अध्यक्ष अधिकारी र बास्केटबल खेलाडी मास्केलाई सम्मान गरिएको हो। उनीहरूलाई नेपाल उद्योग वाणिज्य संघका अध्यक्ष शेखर गोल्छा र संघका अध्यक्ष उज्ज्वलप्रसाद कसजूले सम्मान पत्र सहित दोसल्ला माला लगाएर सम्मान गरेका हुन्।

त्यसै अवसरमा बुटवल उपमहानगरपालिका–१ मा रहेको जलविनायक गणेश मन्दिर र द आर्ट अफ लिभिङ बुटवल सेन्टरलाई १–१ लाख रूपैयाँ आर्थिक सहयोग गरिएको थियो।

भदौ २७, २०७९ सोमबार १८:११:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।