गौतम बुद्ध विमानस्थलबाट पहिलो पटक फ्रान्स पठाइयो १३ सय केजी कार्गाे, आन्तरिक कारोबार १७ लाख केजी
बुटवलः भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट पछिल्लो ८ वर्षमा १७ लाख केजी भन्दा बढि कार्गो सामान आयात–निर्यात भएको छ।
सन् २०१५ देखि जुलाई १६, २०२२ सम्म गौतम बुद्ध विमानस्थलबाट १७ लाख १७ हजार १२ केजी कार्गो आयात–निर्यात भएको विमानस्थल प्रशासनले जनाएको छ। जसमा १३ लाख २१ हजार ५७० केजी आयात हुँदा ३ लाख ९५ हजार ५६० केजी निर्यात भएको विमानस्थलका महाप्रबन्धक गोविन्द प्रसाद दाहालले जानकारी दिए।
सन् २०१५ मा १ लाख ७ हजार २६८ केजी कार्गो आयात हुँदा ३२ हजार २३४ केजी निर्यात भएको छ। त्यसैगरी सन् २०१६ मा १ लाख ९ हजार ८२६ केजी आयात, ३८ हजार १०५ केजी कार्गो निर्यात भएको छ।
सन् २०१७ मा १ लाख ७५ हजार ५३४ केजी आयात भएको छ भने ४९ हजार ५२५ केजी निर्यात भएको छ। त्यसैगरी सन् २०१८ १ लाख ६० हजार २२२ केजी आयात हुँदा ४२ हजार ४०३ केजी निर्यात भएको महाप्रबन्धक दाहालले बताए।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट मात्र कार्गो सञ्चालन गरिँदा मुलुकको पश्चिमी र दूरदराज क्षेत्रका मालसामानको ढुवानीमा लागत बढ्ने गरेकाले भैरहवाबाट कार्गोको आयात–निर्यातको ठूलो सम्भावना देखिन्छ।
सन् २०१९ मा २ लाख १ हजार २१७ केजी कार्गो आयात हुँदा ४२ हजार ४०३ केजी निर्यात भएको र सन् २०२० मा भने कोभिडका कारण ९९ हजार ३६७ केजी आयात हुँदा जम्मा २७ हजार ८२ केजी कार्गो निर्यात भएको छ।
सन् २०२१ मा भने सबैभन्दा बढि कार्गो आयात भएको छ। २ लाख ८५ हजार ९०८ केजी कार्गो आयात हुँदा निर्यात भने जम्मा १ लाख ३ हजार ५१५ केजी भएको छ। यस वर्षको जुलाई १६ सम्म १ लाख ८२ हजार २२८ केजी कार्गो आयात हुँदा ५४ हजार ५६ केजी कार्गो निर्यात भएको दाहालको भनाइ छ।
आन्तारिक उडान तर्फ कार्गोको आयात–निर्यात उत्साहजन हुँदा अन्तर्राष्ट्रिय स्तरमा पनि कार्गोको आयात–निर्यात हुनुपर्ने स्थानीयको माग छ। २ जेठबाट भैरहवा स्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा कुवेतको जजिराले अन्तर्राष्ट्रिय उडान गरिरहेको छ।
यात्रुलाई ल्याउने र लैजाने गरेको जजिराले पहिलो पटक ११ साउनमा कार्गो सामग्री बाहिर लगेको थियो। काठमाडौंको हिमालेक्स ट्रेडर्सले नेपाली उत्पादन राइजिङ स्टार कार्गो प्रालिमार्फत बाहिर पठाएको थियो।
उन र हस्तकलाजन्य सामान जजिरा एयरबाट कुवेत ट्रान्जिट हुँदै फ्रान्स पठाइएको महाप्रबन्धक दाहालले बताए। उनका अनुसार सो बेला १ हजार ३४५ केजी यहाँबाट फ्रान्स पठाइएको थियो। त्यस यता विमानस्थलबाट अन्तर्राष्ट्रिय निर्यात हुन सकेको छैन।
‘यस विमानस्थलबाट कार्गो सञ्चालन गर्दा कुनै सामान हराउने र ढिलाइ हुँदैन,’ उनले भने, ‘कार्गो सञ्चालनका लागि सबै सुरक्षा प्रबन्ध मिलाइएको छ।’
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको वैकल्पिक विमानस्थलका रूपमा रहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल व्यवसायीले चासो नदिँदा निर्यातका लागि सदुपयोग हुन नसकेको हो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रयोग गरी नेपाली उत्पादन निर्यात भइरहे पनि भैरहवामा भने सुनसान छ।
मुलुकको पश्चिम क्षेत्रमा उत्पादित जटिबुटी, कृषि र उद्योगजन्य सामाग्रीलाई विश्वका विभिन्न मुलुकमा पठाउन सकिने भएकाले यसको अध्ययन र स्थानीय व्यवसायीसँग सहकार्यका लागि कार्गो व्यवसायी भैरहवामा नै आएर छलफल र अन्तरक्रिया समेत गरेका छन्।
कार्गो व्यवसायीको साझा संस्था नेपाल फ्रेट फरवाडर्स एसोसिएसनका अध्यक्ष मनोज अधिकारीले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट कार्गो बढाउनका लागि सबै पूर्वाधार उपलब्ध रहेको र कार्गो सञ्चालनका लागि धेरै सम्भावना रहेको बताए।
पश्चिम क्षेत्रबाट उत्पादित सामग्री काठमाडौं लगेर विदेश पठाउनु भन्दा भैरहवाबाट पठाउँदा सस्तो हुने भएकाले यहाँका व्यवसायीले कार्गो निर्यात बढाउन प्रयास गर्नुपर्ने उनको भनाइ छ।
काठामाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट मात्र कार्गो सञ्चालन गरिँदा मुलुकको पश्चिमी र दूरदराज क्षेत्रका मालसामानको ढुवानीमा लागत बढि लाग्ने गरेकाले भैरहवा बाट कार्गोको आयात–निर्यातको ठूलो सम्भावना भएको उनले बताए।
उनले भने, ‘पश्चिमी क्षेत्रको जडीबुटी, औद्योगिक उत्पादनदेखि कृषि उपजको समुन्द्रपारका मुलुकमा यस विमानस्थलबाट कार्गो सञ्चालन गर्न धेरै सम्भावना र प्रभावकारी छ।’
गौतम बुद्ध विमानस्थलबाट कार्गो आयात–निर्यात बढाउनका लागि सम्बन्धित व्यवसायी र अन्य सरोकारवाला निकायसँग छलफल गर्दै पहलकदमी थालेको एसोसिएसनका सचिव ईश्वर गुरुङले बताए।
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक दाहालले विमानस्थलको कार्गो भवनको निर्माण कार्य ९५ प्रतिशत सम्पन्न भएको र कार्गो गरिने सामानलाई उपयुक्त तापक्रममा राख्ने व्यवस्था भइरहेको जनाए।
त्रिभुवन विमानस्थलमा सामान हराएको तथा चोरी भएको पटक–पटक खबर आइरहेको सन्दर्भमा दाहालले यहाँबाट सामान हराउने र भन्सारमा ढिलाइ नहुने भएकाले पनि उपयुक्त रहेको बताए।
‘यस विमानस्थलबाट कार्गो सञ्चालन गर्दा कुनै सामान हराउने र ढिलाइ हुँदैन,’ उनले भने, ‘कार्गो सञ्चालनका लागि सबै सुरक्षा प्रबन्ध मिलाइएको छ।’
भदौ २७, २०७९ सोमबार १५:१६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।