सिरानीमुनि राखेको 'रेडमी ६ ए' पड्किएर महिलाको मृत्यु, शाओमीले दियो यस्तो जवाफ

सिरानीमुनि राखेको 'रेडमी ६ ए' पड्किएर महिलाको मृत्यु, शाओमीले दियो यस्तो जवाफ

एजेन्सी: भारतमा रेडमी ६ ए मोडलको स्मार्टफोन पड्किँदा एक महिलाको मृत्यु भएको छ। 'एमडी टक् वाईटी' (मञ्जित) नामका युट्युबरले फोन पड्किएर आफ्नो काकीको मृत्यु भएको ट्वीटरमार्फत बताएका हुन्।

मञ्जितका अनुसार उनको काकीले सुत्नेबेला फोनलाई सिरानीमुनि राखेकी थिइन्। र सुतेकै बेला फोन पड्किएको हो।

तिनले पड्किएको फोनको तस्बिर पनि सार्वजनिक गरेका छन्। जहाँ फोनको फ्रन्ट प्यानल पूरै जलेको देखिन्छ। यस्तै पछाडिको भागमा ब्याट्री फुलेको देखिन्छ।

यस्तै उनले सार्वजनिक गरेको आफ्नो मृत काकीको तस्बिरमा एक महिला रगतमा लत्पतिएको देखिन्छ।

मञ्जितले आफूहरूको लागि खराब समय भएको भन्दै अब ब्राण्ड रेडमीले सहयोग गर्नुपर्ने बताएका छन्।

यता शाओमी इण्डियाले उक्त पोस्टमा कम्पनीको तर्फबाट प्रतिक्रिया दिएको छ। शाओमीले भनेको छ, 'ग्राहको सुरक्षा सबैभन्दा महत्त्वपूर्ण हो र हामी यस्ता विषयलाई गम्भीरतापूर्वक लिन्छौँ। यतिबेला हाम्रो टिमले पीडित परिवारलाई सम्पर्क गर्ने प्रयास गरिरहेको छ र घटनाको वास्तविकताबारे निर्क्यौल गर्दैछ।'

यस्तै कम्पनीले यस्तो हालतमा आफूहरू पीडित परिवारको साथमा भएको र उनीहरूलाई हरेक तरिकाबाट सहयोग गर्न चाहेको जनाएको छ।

भदौ २७, २०७९ सोमबार १३:५९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।