नियमविपरीत सेतोपुलमा सार्वजनिक शौचालय बनाएका २९ नम्बरका वडाध्यक्ष भन्छन्, 'खोलाछेउमा शौचालय बनाउनुहुन्न भन्ने कहीँ पनि छैन'

काठमाडौं: मैतिदेवी र पुरानो बानेश्वर जोड्ने सेतोपुलको छेउमै यतिबेला सार्वजनिक शौचालय निर्माण भइरहेको छ। धोविखोलाको छेउमै निर्माण हुँदै गरेको शौचालय सो क्षेत्रमा अत्यावश्यक भए पनि यो निर्माण कार्य नियमविपरीत भएको देखिएको छ।
बागमती सभ्यता एकीकृत विकास समितिका आयोजना उपप्रमुख इन्जिनियर अमृत रञ्जितका अनुसार बागमती नदीसँग मिसिने सबै सहायक र मुख्य नदीहरूमा निर्मित पर्खालदेखि नौ मिटर दायाँ-बायाँ क्षेत्र समितिको कार्यक्षेत्रमा पर्छ। गुगल अर्थ प्रोमार्फत हेर्दा सेतोपुलमा निर्माणाधीन शौचालय र धोविखोलामा निर्मित पर्खालको दूरी झण्डै सात मिटर छ। अर्थात् सो शौचालय नियमविपरीत बनेको छ।
‘हाम्रो कार्यक्षेत्र खोलाको नौ मिटरसम्म हो। नौ मिटरभित्र कुनै पनि संरचना बनाउन मिल्दैन। यदि हाम्रो सहमतिबिना कुनै पनि संरचना बनेको पाइएमा कानूनबमोजिम कारबाही हुन्छ’, उनले भने।
काठमाडौं महानगरपालिका वडा नम्बर २९ ले सो सार्वजनिक शौचालय निर्माण गरिरहेको छ। सेतोपुलको उत्तरपट्टी वडा नम्बर ३० ले पनि पार्क निर्माण गरिसकेको छ भने दक्षिणीतर्फ शौचालय निर्माण हुँदैछ।
गत सातादेखि निर्माण सुरु भएको शौचालयको कुल लागत करिब १० लाख रहेको वडा कार्यालयले जनाएको छ। शौचालय निर्माण कार्य चाँडै सम्पन्न हुने र दशैंअघि नै उद्घाटन हुने समेत कार्यालयले जनाएको छ।
‘कोरिडोर क्षेत्रको नियम मिचेर बनाएको र खोलाछेउमा शौचालय बनाउनुहुन्न भन्ने कहीँ पनि छैन’, उनले भने, ‘यस क्षेत्रमा सार्वजनिक शौचालयको निकै खाँचो रहेकोले विचार पुर्याएरै शौचालय निर्माण भइरहेको हो। साथै हामीले शौचालयबाट निस्कने फोहोर खोलामा मिसाउँदैनौँ। सिधै ढलको पाइपमा मिसाउँछौँ। त्यसैले कुनै समस्या हुँदैन।’
मैतिदेवी क्षेत्रमा सार्वजनिक शौचालय अभाव हुँदा आफूहरूले शौचालय निर्माण गरेको २९ वडाका वडाध्यक्ष कुश ढकालले बताए। ‘महिला पुरुष दुवैको प्रयोजनका लागि सेतोपुलनिर शौचालय बनाएका हौँ’, उनले भने, ‘दशैंअघि नै लञ्च गर्ने योजना छ।’
वडाले संरचना नै बनाइसक्दा पनि नदेखेको समितिले अब भने बल्ल जाँच गर्ने इन्जिनियर रञ्जित बताउँछन्। उनी भन्छन्, ‘वडाले बनाएको भनेपछि मापदण्डअनुसार नै बनाएको होला। यद्यपि, हामीसँग कुनै सहमति लिएको छ या छैन, हाम्रो कार्यक्षेत्रभित्र बनेको हो या बाहिर यसबारे जाँच हुनेछ।’
२९ नम्बरका वडाध्यक्ष ढकाल भने आफूहरूले नियममै रहेर शौचालय बनाएको बताउँछन्। ‘कोरिडोर क्षेत्रको नियम मिचेर बनाएको र खोलाछेउमा शौचालय बनाउनुहुन्न भन्ने कहीँ पनि छैन’, वडाध्यक्ष ढकालले भने, ‘यस क्षेत्रमा सार्वजनिक शौचालयको निकै खाँचो रहेकोले विचार पुर्याएरै शौचालय निर्माण भइरहेको हो। साथै हामीले शौचालयबाट निस्कने फोहोर खोलामा मिसाउँदैनौँ। सिधै ढलको पाइपमा मिसाउँछौँ। त्यसैले कुनै समस्या हुँदैन।’
काठमाडौं महानगरपालिकाका एक उच्च अधिकारीले समेत नदी छेउछाउ शौचालय तथा अन्य संरचना निर्माण गर्दा मापदण्डअनुसार बनाउनुपर्ने बताए। ‘वास्तवमा नदी एवम् खोला छेउमा कुनै पनि किसिमका संरचना निर्माण गर्न पाइँदैन। त्यसो गरेको पाइएमा कारबाही हुन्छ’, उनले भने, ‘यदि बनाउनै परे खोलाको मापदण्ड के छ त्यसअनुसार बनाउनुपर्छ।’
यसअघि निर्माणाधीन शौचालयको छेवैमा नेपाल विद्युत् प्राधिकरणले भूमिगत तारको लागि बक्स पनि जडान गरिसकेको छ। स्थानीय सरकार र प्राधिकरणले नियम मिचिरहँदा बागमती सभ्यता एकीकृत विकास समिति भने समयमै सक्रिय हुनसकेको छैन।
भदौ २७, २०७९ सोमबार ०९:०६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।