टिकटक पब्लिसिटीले हिट बनाउने भयो फिल्म 'झिँगे दाउ'
काठमाडौँ : फिल्म 'सम्हालिन्छ कहिले मन'ले दर्शकको मन सम्हाल्न नसक्दा एक सातामै अधिकांश हलहरूबाट फिल्म उत्रियो। तर त्यही फिल्मसँगै रिलिज भएको 'झिँगे दाउ' ले भने दोस्रो हप्ता पनि हलहरूमा शो पाइरहेको छ।
हल्ला हेर्ने हो भने 'झिँगे दाउ' लाई 'सम्हालिन्छ कहिले मन' ले धेरै पछाडि पारेको थियो। मिडिया क्रेज उस्तै। निर्देशक सुदर्शन थापादेखि अभिनेत्री पूजा शर्मासम्म ज्यान फालेर प्रमोसनमा लागे पनि कोरियन फिल्मको टक्क अनुवाद गरेर फिल्म बनाएको पोल खुल्यो।
अभिनय पनि ठिकठिकै अनि बहकिएको कथाले दर्शकको मन सम्हालिएन। उता 'झिँगे दाउ' ले अनेक दाउ हेरे पनि दर्शकले पहिला शोहरुमा त्यति फिल्म रुचाएका थिएनन्। तर टिकटकमा यसका रमाइला क्लिपहरू सार्वजनिक हुन थालेसँगै दर्शकहरूको ध्यान तानियो फिल्ममा।
टिपिकल ग्रामीण पारामा अभिनय गरेका केकी अधिकारी र आँचल शर्माको अर्ग्यानिक झगडामा दर्शक रमाएर हलसम्म तानिन थाले। जसले गर्दा त्यति धेरै हल्लाखल्ला अनि स्टन्ट नगरे पनि फिल्मले दोस्रो हप्ता पनि मजाले हलहरूमा शो पाइरहेको छ।
यस अगाडि केही फिल्मको क्लिपहरू टिकटकमा सार्वजनिक हुँदा त्यसका निर्माता र निर्देशकले दर्शकलाई त्यस्तो नगरीदिन आग्रह गरेका थिए। तर टिकटकमा साना क्लिप राख्दा फिल्मको पोल खुल्ने हैन कि विज्ञापन पो हुने रहेछ भन्ने 'झिँगे दाउ' ले देखायो।
पहिला-पहिला माउथ पब्लिसिटी भनिन्थ्यो अब टिकटक पब्लिसिटी बलियो हुँदै गएको देखियो।
भदौ २६, २०७९ आइतबार २२:४३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।