दर्शक बढी भएपछि बिहान ६ बजेबाटै 'ब्रह्मास्त्र'लाई शो टाइम, २१ वर्ष पहिला 'गदर'को लागि खोलिएको थियो यति छिटो थियटर
एजेन्सी: बहिष्कार ट्रेण्डबीच पनि राम्रो कमाइ गरिरहेको चलचित्र हो- ब्रह्मास्त्र। पहिलो दिन भारतमा मात्र ३६-३८ करोड भारुको कलेक्सन गर्न सफल चलचित्रले विश्वभरगरी ७५ करोड कमाएको थियो।
फिल्मको कथा अस्पष्ट भएको, अभिनय फितलो भएको र हिन्दू धर्मावलम्बीहरूको आस्थामा चोट पुर्याएको भन्दै फिल्मको आलोचना भइरहेको छ। तर सँगसँगै यसलाई मन पराउनेहरूको सङ्ख्या पनि बढ्दै गएको छ।
भारतीय सञ्चारमाध्यमहरूका अनुसार दिल्लीमा लगभग सबै शो हाउसफुल चलिरहेको छ। अरू त अरू दर्शकको भीड बढी भएकाले बिहानै ६ बजेबाट फिल्मलाई शो टाइम दिइएको छ। यसअघि २१ वर्ष पहिला फिल्म 'गदर'को लागि यति बिहानको शो टाइम दिइएको उल्लेख छ।
यता मुम्बईमा पनि शो टाइम बिहान ८ बजेबाटै छ। अन्य स्थानमा पनि बिहानैबाट शो टाइम दिनेगरी तयारी भइरहेको बताइएको छ।
विश्वभर नौ हजार स्क्रिनमा रिलिज भएको ब्रह्मास्त्र कोरोना महामारीपछि पहिलो दिन नै सर्वाधिक कमाइ गर्ने पहिलो बलिउड फिल्म हो।
भदौ २६, २०७९ आइतबार ०९:३९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।