स्थानीय तहको मतपरिणाम र गठबन्धनको आडमा पूरा हुनसक्छ पूर्णबहादुर खड्काको 'मिसन प्रधानमन्त्री'
सुर्खेत: पछिल्लो समय सत्ता गठबन्धनको प्रमुख दल कांग्रेसले सुर्खेतलाई विशेषरूपमा हेरिरहेको छ। कांग्रेसका केन्द्रीय उपसभापति पूर्णबहादुर खड्का सुर्खेत क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभाको उम्मेदवारमा सर्वसम्मत सिफारिस भएकाले यहाँ विशेष चासो छ।
खड्का पार्टीभित्र निकै बलियो नेता मानिन्छन्। उनलाई सुर्खेत-१ बाट कांग्रेसको क्षेत्रीय समितिले उम्मेदवार सिफारिस गरेको हो।
तर, अघिल्लो निर्वाचन २०७४ मा भने खड्का सोही क्षेत्रबाट पराजित पनि भइसकेका हुन्। क्षेत्र नम्बर १ मा खड्काको बलियो जनाधार भएता पनि त्यसबेला माओवादी र एमालेबीच भएको बाम गठबन्धनका कारण एमालेका ध्रुवकुमार शाहीसँग उनी पराजित भएका थिए।
शाहीले ३६ हजार ७५९ मत ल्याउँदा खड्काले ३३ हजार ३७७ मत पाएका थिए।
नेपाली कांग्रेस स्रोतका अनुसार खड्का अब प्रधानमन्त्री या उपप्रधानमन्त्री बन्ने दौडमा छन्। उनको यही सपनाका कारण सुर्खेत क्षेत्र नम्बर १ मा गठबन्धन हुँदा पनि अरूले उम्मेदवारी पाउने अवस्था छैन।
उपसभापति खड्का पार्टीभित्र जिल्लादेखि केन्द्रसम्मै लोकप्रिय र शक्तिशाली नेताका रूपमा परिचित छन्। उनी पूर्व प्रधानमन्त्री एवं कांग्रेसका नेता कृष्णप्रसाद भट्टराईको अनुयायी हुन्।
अहिलेका पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाका समेत विश्वासिला पात्र हुन् उनी।
खड्का एकपटक गृहमन्त्री, दुई पटक युवा तथा खेलकुदमन्त्री, एकपटक सञ्चार र एकपटक उद्योग वाणिज्यमन्त्री भइसकेका छन्। यसैगरी पाँच पटक उनी प्रतिनिधि सभाको सांसद् र एकपटक वीरेन्द्रनगर नगरपालिकाको मेयर भइसकेका छन्।
उपसभापति खड्काले केही वर्षअगाडि मात्रै आफू अब नेपाल सरकारको मन्त्री नबन्ने घोषणा गरेका थिए। त्यसैले पनि उनको उम्मेदवारीलाई विषेशरूपमा हेरिएको छ। नेपाली कांग्रेस स्रोतका अनुसार खड्का अब प्रधानमन्त्री या उपप्रधानमन्त्री बन्ने दौडमा छन्। उनको यही सपनाका कारण सुर्खेत क्षेत्र नम्बर १ मा गठबन्धन हुँदा पनि अरूले उम्मेदवारी पाउने अवस्था छैन।
यद्यपि गठबन्धन हुने नहुने, खड्काको सपना पूरा हुने नहुने भन्ने कुरा निर्वाचन परिणामबाट थाहा हुने कांग्रेका नेताहरू बताउँछन्।
‘पूर्णबहादुर खड्काको सपना भनेको प्रधानमन्त्री या उपप्रधानमन्त्री हुने हो। धेरै पहिले नै उहाँले पार्टीमा घोषणा गरिसक्नुभएको थियो कि अब म मन्त्री बन्दिनँ भनेर’, नेपाली कांग्रेसका एक नेताले भने, ‘विगतको निर्वाचनमा केही प्राविधिक समस्याका कारण चुनाव हारिए पनि यो पटक उहाँको जित सुनिश्चित छ।’
उक्त निर्वाचन क्षेत्रमा तीन वटा नगरपालिका, दुई गाउँपालिका र वीरेन्द्रनगर नगरपालिकाको दुई वटा वडा समेत पर्छन्। कांग्रेसको गढ भएको क्षेत्र र त्यसमाथि गठबन्धन भएकाले खड्कालाई चुनाव जित्न सहज हुने अनुमान कांग्रेसवृत्तमा छ।
उता नेकपा एमालेले पनि यस क्षेत्रमा उपसभापति खड्कासँग भिड्नसक्ने भन्दै उम्मेदवारहरू सिफारिस गरेको छ।
२०७४ मा भिडेका प्रतिनिधि सभा सदस्य एवं नेकपा एमाले कर्णाली प्रदेश सचिवालय सदस्य ध्रुवकुमार शाही, नेकपा एमालेकै कर्णाली प्रदेश समिति सदस्य चन्द्रबहादुर पौडेल र लेकबेंसी नगरपालिकाकी निवर्तमान उपप्रमुख शान्ति छन्तेललाई एमालेले सिफारिस गरेको छ।
एमालेले खड्कासँग भिड्न पुरानै अनुहार दोहोर्याउँछ या नयाँलाई अवसर दिन्छ भन्ने अन्योल नै छ।
यस्तो छ स्थानीय तहको मत
गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनको मतलाई हेर्दा यहाँ कांग्रेस बलियो देखिएको छ। कांग्रेसले ३६ हजार ९२८ मत प्राप्त गर्दै पहिलो स्थानमा छ भने एमालेले ३४ हजार ८४३ मत प्राप्त गरेर दोस्रो स्थानमा छ।
बहुदल र निर्दलबीचको चुनावको समयमा कांग्रेसले चुनावमा भाग लिने निर्णय गरेको समयमा खड्काले वीरेन्द्रनगरमा मेयरको चुनाव जितेका थिए।
माओवादी केन्द्रले पाँच हजार ७५ मत प्राप्त गर्दा नेकपा एकीकृत समाजवादीले ६३४ मत प्राप्त गरेको छ। राप्रपाले ६६४ मत प्राप्त गरेको छ।
स्थानीय तहको निर्वाचनको मतपरिणाम केलाउँदा दलहरू एक्लाएक्लै चुनावी मैदानमा उत्रिँदा पनि कांग्रेस पहिलो शक्ति हुने देखिएको छ। अझ माओवादी र समाजवादीसँग चुनावी तालमेल गरे उपसभापति खड्काको जित सुनिश्चित जस्तै बन्ने देखिन्छ।
खड्काको राजनीतिक यात्रा
नेपाली कांग्रेसको १४औं महाधिवेशनमा खड्काले दुई हजार १२१ मत प्राप्त गरेर उपसभापतिमा विजयी भएका थिए। उनकै टिमका अर्का उपसभापतिका उम्मेदवार विजयकुमार गच्छदार दुई मतले पराजित भए। गच्छदारले एक हजार ९०६ मत प्राप्त गरे।
यस्तै संस्थापनइतर टिमबाट धनराज गुरुङले १९०८ मत प्राप्त गरी विजयी भए।
खड्का यसअघि कांग्रेसको महामन्त्री थिए। पाँच पटक सांसद र पाँच पटक मन्त्री भइसकेका खड्का राज्य व्यवस्था समितिको सभापति समेत बनिसकेका व्यक्ति हुन्।
२०३१ सालबाट राजनीतिक यात्रा सुरु गरेका खड्का २०३४ सालमा कांग्रेस प्रतिबन्धित भएकै बेला २४ वर्षकै उमेरमा सुर्खेतको सभापति भएका थिए।
बहुदल र निर्दलबीचको चुनावको समयमा कांग्रेसले चुनावमा भाग लिने निर्णय गरेको समयमा खड्काले वीरेन्द्रनगरमा मेयरको चुनाव जितेका थिए।
तर, उनलाई पञ्चायतको सर्मथन गर्न भनेर राजाले दिएको दबाब अस्वीकार गर्दा मेयर भएको ६ महिनामै उनलाई जिल्ला अदालत सुर्खेतले बर्खास्त गरिदिएको थियो।
विभिन्न समयमा गरेर पाँच महिनाभन्दा बढी समय जेलजीवन बिताएका खड्का आफ्नो राजनीतिक जीवनमा एक पटक मात्रै पटक पराजित भए।
२०४८, २०५१, २०५६ मा उनले प्रत्यक्ष चुनाव जितेर सांसद भए भने २०६४ सालमा उनी समानुपातिक सांसद बने। २०७० सालमा पनि चुनाव जितेका खड्का २०७४ सालमा भने बाम गठबन्धनका कारण पराजित भए।
त्रिभुवन विश्वविद्यालयबाट राजनीतिशास्त्रमा खड्काले स्नातक गरेका छन्।
उनी १०औं महाधिवेशनमा नेपाली कांग्रेसको केन्द्रीय सदस्य पदमा चुनाव लडेका थिए। त्यो समयमा मध्यपश्चिम विकास क्षेत्रबाट एक जना मात्रै केन्द्रीय सदस्य चुन्ने व्यवस्था थियो।
सो महाधिवेशनमा सुशील कोइराला विजयी भए। उनी पराजित भए।
त्यसपछि ११औं महाधिवेशनमा प्रजातान्त्रिक कांग्रेसबाट केन्द्रीय सदस्यमा उनी निर्वाचित भए। १२औं महाधिवेशनमा पनि उनी केन्द्रीय सदस्य जितेर सहमहामन्त्रीमा मनोनित भए। १३औं महाधिवेशनमा उनी महामन्त्री बन्न सफल भए।
भदौ २६, २०७९ आइतबार ०८:५२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।