सन्दीप पक्राउ गर्न सबै नाकामा प्रहरीको पत्र, पर्याप्त प्रमाण भेटिएको दाबी
काठमाडौँ : नाबालिग बलात्कार आरोपमा जाहेरी दर्ता भएसँगै फरार सूचीमा परेका नेपाली राष्ट्रिय क्रिकेट टिमका निलम्बित क्याप्टेन सन्दीप लामिछानेविरुद्ध प्रहरीले सबै जिल्लामा पक्राउ आदेश पठाएको छ।
काठमाडौँ जिल्ला अदालतबाट लामिछानेको नाममा पक्राउ आदेश जारी भएपछि प्रहरीले सबै जिल्ला प्रहरी कार्यालयसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा समेत सन्दीपको सबै विवरण सहित उनी फेला परेमा नियन्त्रणमा लिएर प्रहरी वृत्त गौशालामा पठाउन भनिएको छ।
पक्राउ आदेशमा 'स्याङ्जा आरुचौर गाउँपालिका स्थायी वतन भई हाल काठमाडौँ बुढानीलकण्ठ नगरपालिका बस्ने अन्दाजी ५ फुट सात इन्च उचाइ, गहुँगोरो पातलो वर्णको सन्दीप लामिछानेविरुद्ध जवर्जस्ती करणीको जाहेरी दर्ता भएर अदालतबाट पक्राउ आदेश जारी भएकाले जहाँ भेट्यो नियन्त्रणमा लिएर पठाउन' भनिएको छ।
क्यारेबियन प्रिमियर लिग (सीपीएल) खेल्न वेस्ट इन्डिजमा रहेका उनले ट्विट गर्दै आफू नेपाल फर्किएर आरोपको सामना गर्ने दाबी गरेका थिए।
सिपिएलले पनि नेपालमा लामिछानेविरुद्ध अदालतबाट पक्राउ आदेश जारी भएकाले उनीसँगको आबद्धता रद्ध गरेको बताएको थियो। यता नेपाल क्रिकेट एसोसिएसनले उनलाई क्याप्टेन पदबाट निलम्बन गरिसकेको छ।
लामिछानेले चाँडै नेपाल फर्किने दाबी गरे पनि उनी कहिले फर्कने भन्ने खुलाएका छैनन्। उनले ट्विटमार्फत आफू निर्दोष रहेको दाबी गर्दै चाँडै नेपाल फर्कने उल्लेख गरेका थिए।
यता प्रहरीले अदालतबाट बलात्कार आरोपमा पक्राउ गर्ने अनुमति पाए लगत्तै उनी हवाई या स्थल जुन मार्गबाट आए पनि नियन्त्रणमा लिन सबै प्रहरी कार्यालयमा प्रहरी प्रधान कार्यालयमार्फत परिपत्र गरेको छ।
बलात्कार भएको भनिएको होटेल सिनामंगलमा रहेकाले जाहेरी प्रहरी वृत्त गौशालामा दर्ता भएको भएको छ। तर काठमाडौँ जिल्ला परिसरले पनि अनुसन्धानको अनुगमन गरिरहेको छ।
'घटनाबारे आवश्यक अनुसन्धान जारी छ,' अनुसन्धानमा कुनै चुक नहोस् भन्नेमा हामी सचेत छौँ,' काठमाडौँ परिसरका एसएसपी भरत बोहोराले उकेरासँग भने।
अनुसन्धानमा के के गर्यो प्रहरीले !
भदौ ५ गते बेलुका होटेलमा लगेर बलात्कार भएको भनिएको घटनामा सबैभन्दा बलियो प्रमाण होटेलको क्लोज सर्किट टेलिभिजनको क्लिप हो।
सिनामंगलको होटेलमा लामिछाने र पीडित युवती बेलुका ११: ५५ मा होटेलमा छिरेको र भोलिपल्ट बिहान ६ बजे होटेलबाट बाहिरिएको प्रमाण सङ्कलन भइसकेको अनुसन्धानमा संलग्न प्रहरी अधिकारीले जानकारी दिए।
उनीहरू होटेलको कोठा नम्बर ३०५ मा बसेको होटेलको लग बुकको रेकर्ड भने फेला परेन। तर सो समयमा होटेलमा कार्यरत कर्मचारी र सन्दीपको नाममा बनेको बिलले उनी सो दिन सो होटेलको कोठा नम्बर ३०५ मा बसेको प्रमाण समेत प्रहरीले सङ्कलन गरेको छ।
यो बिचमा पीडित किशोरी र लामिछानेबिचको कल डिटेल रेकर्ड प्रहरीले सङ्कलन गरिसकेको छ। त्यसमा जाहेरीमा गरिएको दाबी अनुसारकै विवरण देखिएको एक प्रहरी अधिकारीले बताए।
भक्तपुरको रिसोर्टमा दुवै जना पुगेको प्रमाण पनि प्रहरीले सङ्कलन गरिसकेको छ। बलियो प्रमाण सन्दीपले रिसोर्टको बिल तिर्न इ पे प्रयोग गर्नु र त्यहाँका कर्मचारीको बयानसँगै सिसिटिभी फुटेज समेत सङ्कलन भइसकेको छ।
युवतीको स्वास्थ्य परीक्षण भइसकेको छ। घटनास्थलको मुचुल्का गरिए पनि जाहेरीमा गरिएको दाबी अनुसार खाट अनि सोफा छ छैन भन्ने बाहेक थप प्रमाण भने सङ्कलन हुन सकेको छैन।
'जाहेरीमा भदौ पाँच गते जहाँ-जहाँ गएको भनिएको छ अहिलेसम्म प्राप्त प्रमाणले त्यो पुष्टि गरेको छ। अब कोठामा बलात्कार भएको हो या हैन भन्ने मात्र अनुसन्धानको बाँकी पाटो हो। त्यसमा पीडित र आरोपीको बयान र पीडितको स्वास्थ्य परीक्षण प्रतिवेदनै सबैभन्दा बलियो प्रमाण हुने देखिन्छ,' अनुसन्धानस्रोतले भन्यो।
भदौ २५, २०७९ शनिबार १९:०४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।