माफीयोग्य त्रुटिसहितको 'ऐना झ्यालको पुतली'
सिसाको सानो बट्टा। दिदीभाइ आँखा नझिम्क्याई त्यही बट्टा हेरिरहेका छन्। बट्टाभित्र छट्पटाइरहेको पुतली छ। झुसिलकिराबाट पुतली बन्दासम्म ऊ थुनिएर बस्नुपरेको छ।
त्यो पुतलीको स्वतन्त्रताका लागि दिदी लड्छिन्। सुरुमा अवरोध गरे पनि खुला आकाशमा पुतली उडेको देखेपछि भाइ पनि खुशी हुन्छ।
फिल्म 'ऐना झ्यालको पुतली'को सुरुआतको दृश्य हो यो। यही दृश्यले फिल्मको सम्पूर्ण कथा भनेको पनि छ।
बाल्यावस्थाबाट किशोरावस्थामा प्रवेश गरेको मानिसको जीवनचक्र र एउटा झुसिलकिराबाट पुतलीमा प्रवेश गरेको किराको जीवनचक्र छ फिल्ममा। पुतली त स्वतन्त्र भएर उड्न पाउँछे, तर किशोरी? यही प्रश्नको उत्तर सिनेमाले दिन्छ।
०००
फिल्मले जोसुकैलाई बालापनमा फर्काउँछ। बाल्यकाल, त्यो समयमा गरेका बदमासी, गाउँघरका दृश्य लगायत धेरै कुराले गर्दा फिल्मले 'नोस्टाल्जिक' बनाउँछ। अझ शहरी वातावरणमा हुर्केका आफ्ना सन्तानलाई आफूले बाँचेको बाल्यकाल देखाउनु छ भने, यो उपयुक्त फिल्म हो।
धेरै नेपाली फिल्मले गर्ने कमजोरीलाई यो फिल्मले सन्तुलनमा राखेको छ। उदाहरणका लागि 'प्रकाश' फिल्ममा तथाकथित माथिल्लो जातले तल्लो जातसँग पैसा सापटी मागेको देखाएको थियो।
तर, यो देखाउन चुकेको थियो कि, नेपालमा दलित मात्रै गरिब हुँदैनन्। अधिकांश माथिल्लो जातका भनिएका मानिस पनि गरिब हुन्छन्। कोटा जातको आधारमा हैन वर्गको आधारमा दिनुपर्छ।
यो दृश्य देखाउन चुक्दा फिल्मले दलितहरू धनी हुन्छन् र पनि कोटामा जागिर खान्छन् भन्नेजस्तो सन्देश गयो। एक पक्ष आक्रोशित हुने कथा भन्यो प्रकाशले।
यही कुरामा ऐना झ्यालको पुतली भने सन्तुलित देखिएको छ।
उदाहरणका लागि, केही समयअघिसम्म पनि नेपाली समाजमा बाहुन क्षेत्रीले छोराछोरी पढाउँछन् तर जनजातिहरूले पढाउँदैनन् भन्ने धारण थियो। कतै कतै अझै भेटिन्छ यस्तो सोच।
तर फिल्ममा विद्या (कन्चन चिमोरिया लक्ष्मी)की जनजाति मितिनी (विशा चाम्लिङ राई)लाई शहरमा राखेर पढाइएको दृश्य छ। यदि यो दृश्य पढाएको देखाएरै सकाएको भए जनजाति किशोरीका लागि आरोप लाग्थ्यो, उनीहरू अवसर पाउँदा पाउँदै पनि पढ्दैनन्।
तर, सानै उमेरमा परिवारले केटा खोजेर विहे गराइदिएको र स्कुलमा भर्ना गरे पनि पढ्ने वातावरण नपाएको दृश्यले कथा सन्तिुलित भयो।
फिल्ममा आमाको भूमिका निभाएकी सिरु भुर्तेलबाहेक अरू कलाकारहरू नयाँ हुन्। मुख्य भूमिका निभाएका बाल कलाकारहरू त पाँच हजारभन्दा धेरै बालबालिकाहरूबाट छानिएर आएका हुन्।
यस्तै दृश्य अर्को पनि छ। स्कुलमा वसन्त (दिनेश खत्री)लाई लौरोमा बाँधेर कट्टु खोल्ने बदमासीदेखि वसन्तको साथी बाङ्गे (उमेश श्रेष्ठ)लाई नमस्कार गर् भन्दै बाटो छेकेर पिटेनेसम्मको भूमिकामा जनजाति केटाको नेतृत्त्व देखाइएको छ।
यदि कथा यत्ति मात्रै देखाइएको भए जनजातिहरू झगडालु हुन्छन् भन्ने जान्थ्यो र यसले जातीयताको कुरा निस्कन्थ्यो। तर बगरमा यो समूहले वसन्तलाई पिट्छन्। वसन्त उठेर रुँदै हिँड्न लाग्दा जनै लगाएको केटो अर्थात् बाहुन फेरि पिट्न तम्सन्छ। तर समूहको नेतृत्त्व गरेको जनजाति केटोले रोक्छ।
यसले उनीहरूको स्वभाव देखाउँछ। रिसालु भए पनि मानवता र दयाका खानी हुन्छन् भनेर फिल्ममा देखाइएको छ।
यी कुराहरू फिल्मका मसिना डिटेल हुन्। तर समाजमा गम्भीर छाप छोडेका हुन्छन्। सामाजिक कथामा फिल्म बनाउँदा यी र यस्ता कुरालाई ध्यान दिनुपर्छ भनेर सिकाउन पनि फिल्म सफल भएको छ।
फिल्ममा आमाको भूमिका निभाएकी सिरु विष्टबाहेक अरू कलाकारहरू नयाँ हुन्। मुख्य भूमिका निभाएका बाल कलाकारहरू त पाँच हजारभन्दा धेरै बालबालिकाहरूबाट छानिएर आएका हुन्।
बाल कलाकारहरूको अभिनय निकै मौलिक छ। उनीहरूको आँखामा देखिएको इमोशन, अनुहारको भावभंगी लगायत सबै कुराले फिल्मलाई न्याय गरेको छ।
विद्याको भूमिका निभाएकी कञ्चन र वसन्तको भूमिका निभाएका दिनेशको अभिनयले त्यो चरित्रमा दर्शक आफूलाई ढाल्न सकिहाल्छन्।
फिल्म हेरिरहँदा दर्शकहरूको शरीर मात्रै हलमा हुन्छ। कोही आफ्नो गाउँ ज्यामिरे पुग्छन्, कोही चैनपुर पुग्छन्, कोही देउराली पुग्छन् त कोही थुम्की। बाङ्गेको भूमिका निभाएका कलाकारदेखि फिल्म देखाउने केटोसम्मको पात्रहरूले विगत सम्झाउँछ।
फिल्मको ब्याकग्राउण्ड म्युजिकमा मध्यम काम भएको छ। रअ साउण्ड छाडेका ठाउँमा ठीक छ तर केही ठाउँमा अनावश्यक ब्याकग्राउण्ड म्युजिक राखिएको छ। जसले सलल बगिरहेको कथामा ध्यान भङ्ग हुन्छ।
निर्देशक सुजित विडारीले सानासाना कुराहरूलाई समेत फिल्ममा देखाएर दर्शकलाई पुराना दिनमा लैजान सहयोग गरेका छन्।
एउटा दृश्य छ, फिल्म हेर्दाको। बालकहरू आँखा नझिम्क्याई फिल्म हेर्छन् तर छेउमा बसेको अर्को केटो खाजा खाइरहेको हुन्छ।
ऊ फिल्म देखाउने साहु हो भन्ने दर्शकले थाहा पाइहाल्छन्। किनभने उसको एटिच्युडदेखि हरेक कुराले गाउँमा फिल्म देखाउने केटोको भाइब्स आउँछ।
अभिनयले नै यो कुरा देखाउँछ। संवाद बोलिरहन पर्दैन।
फिल्ममा सबै कलाकारको अभिनयले तान्छ। आमाको भूमिका निभाएकी सिरु भुर्तेलले सबैको आमालाई सम्झाउँछिन्। पिकनिक जाँदा आमा नाचेको र नाच देखेर वसन्त लजाएर हेरेको दृश्य छ। यसले सम्झाउँछ, आमा नाचेको देख्दा लाज लाग्थ्यो, के सबैको आमा नाच्दा यस्तै लाज लाग्यो त?
फिल्मको ब्याकग्राउण्ड म्युजिकमा मध्यम काम भएको छ। रअ साउण्ड छाडेका ठाउँमा ठीक छ तर केही ठाउँमा अनावश्यक ब्याकग्राउण्ड म्युजिक राखिएको छ। जसले सलल बगिरहेको कथामा ध्यान भङ्ग हुन्छ।
त्यस्तै, फिल्मको राम्रो काम क्यामेरा र प्रकाश संयोजनमा भएको छ। विद्यामा पढाइ पूरा गर्नसक्ने आश पलाउँछ। त्यो समयमा प्रकाशको कलिलो किरण देखाइन्छ।
खुशी, उमङ्गका लागि चुराको दृश्य खिचिन्छ। यसले विद्यामा पलाएको आशा र त्यो आशाले निम्त्याएको खुशी देखाउँछ।
समग्रमा 'नेपाली फिल्म ऐना झ्यालको पुतली जस्तो हुनुपर्छ' भन्ने सन्देश फिल्मले दिएको छ। यो हेर्नेभन्दा पनि महसुस गर्ने फिल्म हो।
उनी किशोरावस्थामा प्रवेश गर्दै गर्दा मेकअप गर्दै ऐना हेरेको दृश्य देखाइन्छ। यसले उनी पुतली बनिन्, उड्ने तयारीमा छिन् भन्ने संकेत गर्छ।
फिल्ममा प्रशंसा गर्ने धेरै कुराहरू छन्। साथमा कमजोरी पनि। केही दृश्य यति धेरै अप्ठ्यारा बनाइएका छन् कि, बुझ्नका लागि निर्देशकको व्याख्या नै सुन्नुपर्छ।
निर्देशकले आफ्नो स्वतन्त्रता प्रयोग गर्दै चलाएका दृश्यहरू सजिलै नबुझिने खालका छन्।
उदाहरणका लागि एक दृश्य छ- श्रीमान्ले रक्सी खाएर झगडा गर्ने गरेको भन्दै छोरीले माइतीमा बाबुसँग दुखेसो पोख्छिन्। त्यो समयमा बाबुलाई क्यामेराको फोकसमा राखिएको छ भने दुखेसो पोख्ने छोरीलाई फोकस आउटमा।
यसको व्याख्या चाहिँ निर्देशकले गरेपछि मात्रै थाहा हुन्छ। उनका भन्छन्, 'जसको जीन्दगी नै फोकस आउट छ, उसलाई किन फोकसमा राख्ने?'
मानिस हिँडेको पाइला टाढा पुग्दा ठूलो हुँदै जानेदेखि बिहानको दृश्य र दिउँसोको दृश्य सँगै देखिने सटहरू छन्। दर्शकलाई यो दृश्य बुझ्न गाह्रो पर्छ।
* बाबुको भुमिका खुलाउन निर्देशक चुकेका छन्। उनी किन एकोहोरो छन् फिल्ममा खुल्दैन। उनमा के स्वास्थ्य समस्या थियो र के औषधी खुवाएको हो खुल्दैन। उनमा मानसिक समस्या हो या मदिराको कुलतको समस्या? बुझ्न कठिन हुन्छ।
अर्को त्रुटी गाउँको विध्यालयको पढाइसकेर सहर जाने तयारी पैसा चोरिएपछि असफल हुन्छ। तर उनी विध्यालयस्तरिय कविता प्रतियोगितामा भाग लिन विध्यालय पुगेकी छिन्। कसरी?
तर समग्रमा मौलिक भनिने नेपाली फिल्म 'ऐना झ्यालको पुतली जस्तो हुनुपर्छ' भन्ने सन्देश दिन फिल्म सफल छ। यो हेर्नेभन्दा मात्र हैन महसुस समेत गर्ने फिल्म हो।
किशोरावस्था र बाल्यावस्थाबारे त्यति फिल्म नबनिरहेको अवस्थामा यो फिल्मले राहत दिन्छ। हेर्दा घाटा लाग्दैन। उल्टै बिर्सिएको बालापन सम्झाउनेछ।
बालकदेखि वृद्धसम्मैले यो फिल्ममा कहीँ न कहीँ आफूलाई पाउनेछन्।
* हेडलाइन परिवर्तनसहित केही टिप्पणी थप गरिएको छ।
भदौ २५, २०७९ शनिबार ११:३५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।