गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल: यातायातको व्यवस्था नहुँदा ट्रक र ट्र्याक्टर चढेर पुग्छन् यात्रुहरू, सहायक पूर्वाधार नबन्दा समस्याको चाङ
बुटवल: २०२३ साल फागुन १७ गते आन्तरिक विमानस्थलको रूपमा उद्घाटन भएको भैरहवाको गौतमबुद्ध विमानस्थल अहिले अन्तर्राष्ट्रिय उडान भर्न सक्ने भएको छ।
२०७१ माघ १ गते तत्कालीन प्रधानमन्त्री स्व. सुशील कोइरालाले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको शिलान्यास गरेका थिए। निर्माण सुरु भएको ८ वर्षपछि अर्थात २ जेठ ०७९ गते प्रधानमन्त्री शेरबहादुर देउवाले यसको उद्घाटन गरे।
यस विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुचारु भएको पनि तीन महिना पूरा भइसकेको छ। यद्यपि, अहिले पनि यहाँबाट कुवेतको जजिरा एयरवेजले मात्र सातामा तीन पटक (सोमबार, बुधबार र शनिबार) उडान गरिरहेको छ।
भदौ ३१ बाट भने जजिराले हप्ताको सातै दिन उडान गर्दैछ। विज एयरले यूएईको अबुधावीबाट कात्तिक १३ गतेदेखि हप्ताको तीन दिन यस विमानस्थलमा अन्तर्राष्ट्रिय उडान गर्दैछ। त्यसबाहेक अन्य एयरलाइन्स कम्पनीहरूले पनि भैरहवाबाट उडान भर्न चासो देखाएका छन्।
आन्तरिक उडानतर्फ यहाँबाट बुद्ध एयर, यति एयरलाइन्स, श्री एयर, सौर्य एयरलाइन्स, र गुण एयर गरी ५ वटा कम्पनीहरूले काठमाडौं उडान गरिरहेका छन्। यसका अतिरिक्त बुद्ध एयरले भरतपुर र पोखरामा दैनिक उडान गरिरहेको छ।
सम्भावनासँगै समस्याका चाङ
अन्तर्राष्ट्रिय उडान सुरु भएपछि देखिएका सम्भावनासँगै सहायक पूर्वाधारहरू नबन्दा समस्याका चाङ पनि थपिएका छन्। कतिपय नीतिगत सुधारको आवश्यकता छ भने कतिपय तत्कालै गर्नुपर्ने थुप्रै कामहरू छन्।
विमानस्थलका महाप्रबन्धक गोविन्दप्रसाद दाहालले अन्तर्राष्ट्रिय विमानको प्रवेशको लागि एयर रूट सिधा नभएको र यसका लागि भारत सरकारसँग पत्राचार, समन्वय भइरहेको बताए।
‘अहिले बिहान ६ बजे अन्तर्राष्ट्रिय उडान हुन्छ। तर भैरहवाबाट गाडी नहुँदा यात्रुहरू कहिले ट्रकमा त कहिले ट्र्याक्टरमा आउनुपर्ने अवस्था छ। यातायातको सहज पहुँच विमानस्थल व्यवस्थापनको पहिलो प्राथमिकतामा परेको छ’
‘एयर रूट भारतबाट नहुँदा घुमेर विमान यहाँ आउनुपर्ने हुन्छ। त्यस कारण रूट पर्मिट मुख्य गर्नुपर्ने काम छ। यसमा सरकारले आवश्यक समन्वय छलफल गरेको छ’, दाहालले भने। साथै उनले एयर रूटमा अर्घाखाँची सिमेन्टको चिम्नीले अवरोध गर्ने भएकाले त्यसलाई हटाउन सञ्चालक समितिबाट निर्णय भएको र पत्राचार गरेको समेत बताए।
विमानस्थलको जग्गा ८ सय बिघा छ। तर प्रयोग हुन नसकेको जग्गालाई व्यावसायिक प्रयोजनका लागि लिज वा भाडामा दिन प्राविधिक कारणले नसकिएको भन्दै यसको समधान पनि छिटो गर्नुपर्ने उनले बताए।
अन्तर्राष्ट्रिय टर्मिनल भवनको सरसफाइ, मर्मत र आयगत ठेक्काको व्यवस्थापन हुन नसक्दा समस्या भएको उनले बताए। विमानस्थलसम्म सार्वजनिक यातायातको सहज पहुँच नहुनु र विमानस्थल सटल बसको व्यवस्थापन नहुनुले पनि यात्रु र कर्मचारीलाई समेत समस्यामा पारेको उनले बताए। यसमा सरोकारवाला सबै जिम्मेवार बन्नुपर्ने उनको तर्क छ।
‘अहिले बिहान ६ बजे अन्तर्राष्ट्रिय उडान हुन्छ। तर भैरहवाबाट गाडी नहुँदा यात्रुहरू कहिले ट्रकमा त कहिले ट्र्याक्टरमा आउनुपर्ने अवस्था छ। यातायातको सहज पहुँच विमानस्थल व्यवस्थापनको पहिलो प्राथमिकतामा परेको छ’, उनले भने।
त्यसबाहेक पर्यटन प्रहरीको व्यवस्थापन, ट्याक्सी व्यवस्थापन, सुरक्षा प्रबन्ध, होटलबाट उपलब्ध गराउनुपर्ने सेवा सुविधामा विस्तार हुनुपर्ने उनले बताए।
कृषिजन्य, पशुजन्य, औषधी, मिनरल वाटर, घरेलु सामान, हस्तकलाका वस्तुहरू, कपडा आदि सामानहरूलाई विदेश निर्यात गर्न र विदेशबाट आवश्यक सामानहरू आयात गर्ने कार्यको लागि कार्गो व्यवस्थापन गर्ने, मिलाउने एजेण्ट, पार्टीको आवश्यकता समेत भएको उनले बताए।
रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले नीतिगत सुधारका लागि आवश्यक सल्लाह संघीय सरकार मातहतका कार्यालयलाई दिने भए पनि तत्काल सुधार गर्न सकिने कामहरू छिटो गर्नुपर्ने बताए।
अहिले विमानस्थलमा मुख्य समस्या भनेको सवारी साधनको उपलब्धता नहुनु रहेको भन्दै उनले यहाँका यातायात सम्बन्धित संस्थाहरूले यसमा चासो लिनुपर्ने बताए।
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा जेठ २ देखि भदौ २० गतेसम्म १२ हजार ३७२ जनाले उडान भरेका छन्। जजिराले भैरहवाबाट कुवेत र कुवेत, कतारबाट भैरहवा गरी हालसम्म एक सय उडान गर्दा आउने र जाने गरी सो सङ्ख्यामा अन्तर्राष्ट्रिय उडान गरेका हुन्।
काठमाडौंभन्दा भैरहवा विमानस्थल प्रयोग गर्दा केही सस्तो पर्ने भनेर यात्रुहरू यहाँको विमानस्थल प्रयोग गर्न आए पनि ट्याक्सी शुल्क महँगो, होटलको शुल्क महँगो भएको भन्दै मूल्यलाई समायोजन गर्नुपर्ने उनले बताए।
‘अहिले विमानस्थल फुलफेजमा नचल्दासम्म व्यावसायिक मित्रले पनि केही राहतका प्याकेजहरू दिनुपर्छ। यो उहाँको दायित्व पनि हो। त्यसपछि शुल्क कति कसरी राख्ने छलफल गरौँला’, उनले भने।
अहिले बुटवल–भैरहवा वा भैरहवाबाट अन्यत्र जाँदा यात्रुहरूले असमान ट्याक्सी भाडा तिर्ने गरेको भन्दै विमानस्थलबाहिरै ट्याक्सी भाडाको दररेट राख्न आग्रह गरे।
व्यवसायीहरूले पनि अन्तर्राष्ट्रिय विमानस्थल प्रयोग गर्ने सेवाग्राहीलाई निश्चित छुट दिन सकिने बताएका छन्। सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष भीष्मप्रसाद न्यौपानेले होटलको शुल्कलाई समायोजन गर्न सकिने भए पनि स्थानीय सरकारले समेत विमानस्थलको अपनत्व लिएर व्यवसायीलाई राहत दिन सक्ने बताए।
कतिले गरे अन्तर्राष्ट्रिय उडान
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा जेठ २ देखि भदौ २० गतेसम्म १२ हजार ३७२ जनाले उडान भरेका छन्। जजिराले भैरहवाबाट कुवेत र कुवेत, कतारबाट भैरहवा गरी हालसम्म एक सय उडान गर्दा आउने र जाने गरी सो सङ्ख्यामा अन्तर्राष्ट्रिय उडान गरेका हुन्।
मे १६ देखि ३१ सम्म जजिराबाट एक हजार २४४ जनाले सेवा लिएका छन्। जुनमा तीन हजार २८६, जुलाईमा तीन हजार २२९, अगष्टमा तीन हजार ९९१ जनाले सेवा लिँदा १५ सेप्टेम्बरसम्म ६२२ जनाले सेवा लिएको विमानस्थलका महाप्रबन्धक गोविन्द दाहालले बताए।
आन्तरिक उडानतर्फ सन् २०१५ देखि ०२२ जुलाई २६ सम्म यो विमानस्थलबाट एक लाख ९५ हजार ९९९ जनाले सेवा लिएका छन्।
यसबीचमा यो विमानस्थलबाट तीन हजार ५१६ उडान भएको उनले बताए।
यस्ता छन् विमानस्थलमा सुविधा
विमानस्थलमा समस्याका चाङ भए पनि सुविधा पनि उत्तिकै छ। यस विमानस्थलमा बोइङ ७७०/२००, एयरबस ३३०/३०० र सोही बराबरका विमानहरू उडान र अवतरण गर्न सक्ने क्षमता छ।
अन्तर्राष्ट्रिय कार पार्किङ स्थलमा १६० वटा ट्याक्सी तथा अन्य सवारी साधन राख्न सकिने बनाइएको छ। अन्तर्राष्ट्रिय जहाज पार्किङ स्थलमा न्यारोबडी चार वटा र वाइड वडी जहाज एउटा गरी एकै पटकमा ५ वटा पार्किङ गर्न सकिने महाप्रबन्धक दाहालको भनाइ छ।
अन्तर्राष्ट्रिय विमानस्थलमा साढे २ अर्ब रुपैयाँको १८०० केजीको बुद्ध मूर्ति स्थापना गरिएको छ। उक्त मूर्ति बहुमूल्य धातु हवाइट जेडबाट बर्मा (म्यानमार) मा बनाइएको हो। यसलाई स्पेनको लुम्बिनी गार्डेन फाउण्डेसनले विमानस्थललाई निःशुल्क उपलब्ध गराएको हो।
विमानस्थलमा भन्सार, अध्यागमन, मिटिओरोलोजी, सैनिक, नेपाल प्रहरी, बैंक, नेपाल आयल निगम जस्ता सुरक्षा तथा सरकारी निकाय र सार्वजनिक संस्थानहरू र एयरलाइन्सहरू समेत गरी हाल २० वटा निकायहरू छन्।
अन्तर्राष्ट्रिय टर्मिनल भवनमा एकैपटकमा ५५० यात्रु बस्नसक्ने क्षमता रहेको छ। अन्तर्राष्ट्रिय टर्मिनल भवनको अगाडि अत्याधुनिक फाउण्टेन पार्क रहेको छ।
सुरक्षात्मक प्रबन्धका लागि प्रहरी, सेना, प्रहरी केनाइन शााखा, लागूऔषध नियन्त्रण इकाई, विशेष ब्यूरो (प्रहरी) को व्यवस्थापन गरिएको छ।
विमानस्थल समुद्री सतहबाट ३४४ फिटको उचाइमा रहेको छ।
भदौ २५, २०७९ शनिबार ०८:३५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।