बचत र ऋण कारोबारमा मात्र केन्द्रित सहकारीहरू प्रविधिमैत्री बने, सेवाग्राहीलाई सुविधै सुविधा

बचत र ऋण कारोबारमा मात्र केन्द्रित सहकारीहरू प्रविधिमैत्री बने, सेवाग्राहीलाई सुविधै सुविधा

बुटवल: बुटवल मोतिपुरका रामनाथ उपाध्याय बचत रकम तिर्न कुनैबेला बुटवल- ५ मै रहेको सशक्त बचत तथा ऋण सहकारीमा धाइरहनुपर्थ्यो। आफैँ आउन नसक्दा अरू कसैको हातामा पठाइदिन्थे।

तर, पछिल्लो समय सहकारी प्रविधिसँग जोडिएपछि उनी पैसा तिर्न सहकारी नै आउनुपर्ने बाध्यता हटेको छ। अहिले उनी घरैबाट फोन पे, ई सेवा लगायतबाट आफ्नो बचत रकम तिर्ने गरेका छन्। 

‘एक हजार, पाँच सय जम्मा गर्न एक सय रुपैयाँ खर्च गरेर जानुपर्ने हुन्थ्यो। तर अहिले प्रविधिले गर्दा कार्यालय पुग्नै नपर्ने बनाएकाले सहज भएको छ’, उनले भने।

सहकारीका अध्यक्ष कृष्ण चौहान पनि पछिल्लो समय सदस्यहरू समेत प्रविधिमैत्री बनेकाले सहकारीले डिजटल प्ल्याटफर्मबाट रकम तिर्ने व्यवस्था मिलाएको बताउँछन्। 

‘अहिले हामीले ई सेवा, फोन पेबाट सदस्यहरूले बचत, ऋण, साँवा, व्याजको रकम तिर्न सक्ने बनाएका छौँ। हामीले मोबाइल एपको पनि विकास गर्दैछौँ। यसो भएपछि सदस्यहरूलाई बिजुली, पानीको रकम बुझाउन समेत कार्यालय धाउनुपर्ने छैन’, उनले भने।

उनले अब सहकारीलाई क्लाउड बेस्ड सफ्टवेयरमा लैजाने तयारी गरेको समेत बताए। सदस्यलाई प्रविधिमैत्री मात्र नबनाई कार्यालयको सिस्टम पनि प्रविधिमैत्री हुनुपर्ने भएकाले क्लाउड बेस्ड सफ्टवेयरमा सहकारीलाई लैजान लागेको उनको भनाइ छ। 

यो भनेको सहकारीको सबै विवरण डिजिटल हुने भनिएको हो। कुनै पनि बेला हुनसक्ने आगलागी लगायतका घटनामा पनि यो सफ्टवेयर जडान भए डेटाहरू सबै सुरक्षित हुने र कार्यालयका व्यवस्थापक वा कसैले पनि हिसाव विवरण तलमाथि गराउन नमिल्ने भएकाले सहकारीले यसको आवश्यकता महसुस गरेको उनको भनाइ छ।

प्रविधिसँग अहिले अरू पनि धेरै सहकारीहरू जोडिएका छन्।

रुपन्देहीको तिलोत्तमास्थित शंकरनगरमा रहेको सामूहिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडले एटीएम सेवा सुरु गरेको ३ वर्ष बढी भयो। सुरुको वर्षमा शेयर सदस्यले कम चासो लिएको यो सेवामा अहिले आकर्षण बढेको छ।

लुम्बिनी प्रदेशमै सहकारीबाट एटीएम सेवा दिने नयाँ अभ्यास यो सहकारीले सुरु गरेको थियो।

‘एटीएम प्रयोगकर्ताहरू बढेका छन्। यसतर्फ सदस्यहरू अझ बढी आकर्षित हुँदैछन्’, सहकारीका सूचना अधिकारी ईश्वरी मरासनीले भने। 

सहकारीले फोन फे, मोबाइल एप, एसएमएस सेवाबाट पनि सेवा दिइरहेको  उनको भनाइ छ। जसका कारण शेयर सदस्यलाई सहकारीमा कारोबार गर्न सहज भएको र कार्यालयसम्म आउन नपर्दा समयको समेत बचत भएको उनले बताए।

त्यसो त बचत तथा ऋणको कारोबारमा मात्र केन्द्रित हुँदै आएका सहकारीहरूले पछिल्लो समय प्रविधिमैत्री बन्न प्रतिस्पर्धा नै गर्न थालेका छन्। बचत तथा ऋण सहकारी, बहुउद्देश्यीय सहकारीले मात्र होइन साना पशुपालक कृषि सहकारीहरू पनि शेयर सदस्यलाई प्रविधिसँग जोड्न लागिपरेका छन्। 

तिलोत्तमा जनउत्थान सहकारी, बुटवल सहकारी, सबैको साकोस मणिग्राम, इन्द्रेणी सहकारी, लाल्टिन सहकारी, सामुदायिक सहकारी लगायत धेरै सहकारीहरू अहिले अत्याधुनिक प्रविधिलाई पछ्याइरहेका छन्।  

सहकारीहरूले निर्माण गरेको मोबाइल एपको माध्यबाट सदस्यले हवाई टिकट, मोबाइल रिचार्जदेखि सहकारीको किस्ता तिर्न पनि सक्छन्। यही आवश्यकतालाई बुझेर सहकारीहरू प्रविधिमैत्री बन्दै गएको सहकारी विद् डा. खगराज शर्माले बताए।

ईमेल इन्टरनेटको पहुँच शहरमा बढी भएकाले यो सेवा शहरका सदस्यहरूले बढिजसो लिएका छन्। यो सेवालाई प्रभावकारी बनाउँदै ग्रामिण क्षेत्रमा पनि विस्तार गर्न आवश्यक रहेको उनको धारणा छ।

भदौ २४, २०७९ शुक्रबार ०८:४३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।