‘ब्रह्मास्त्र’को सेन्सर ढिलो हुँदा नेपाली फिल्म क्षेत्रमा देखिएको ‘तमासा’

‘नेपालमा फिल्म बनाउन हैन, चलाउन सकस हुँदो रहेछ,’ फिल्म ‘ऐना झ्यालको पुतली’का काष्टिङ डिरेक्टर केदार श्रेष्ठले निराश हुँदै भने, ‘हामी त नाटक ब्याकग्राउण्डबाट आएका, के सुरले फिल्म बनाउने झ्वाँक चल्यो, बनायौं पनि। अब दुःख सकियो, दर्शकको हातमा फिल्म पुग्न लाग्यो भनेर उत्साहित थियौं तर हलवालाको व्यवहारले नराम्रो लाग्यो।’
केदारको निराश स्वर सुनिनुको कारण हो, अग्रिम टिकट बुकिङमा समस्या आउनु र फिल्मको सो टाइम नदेखिनु।
‘अरु फिल्महरूको त तीनचार दिन अगाडि नै अग्रिम टिकट बुकिङको सुविधा हुन्थ्यो, कुन हलमा फिल्म लाग्दैछ भन्ने थाहा हुन्थ्यो,’ केदारले भने, ‘हामीले पनि त्यस्तै होला भन्ने सोचेका थियौं र वास्तविकता फरक हुनेरहेछ।’
यस्तै अवस्था आएको थियो भदौ ११ गते रिलिज भएका फिल्म ‘राधा’ र ‘प्रकाश’को पनि। दक्षिण भारतीय फिल्म ‘लाइगर’का कारण यी दुई फिल्मले सो टाइम पाएनन्। दिएको थोरै सो टाइम पनि कुबेलाको थियो। कुनै बिहान आँखा मिच्दै हेर्नुपर्थ्याे त कुनै रातको समयमा हाई काट्दै।
कु समय भएकाले दर्शक हलमा नगएको र आफूहरूमाथि हलवालाले राजनीति गरेको भन्दै ‘प्रकाश’ फिल्मका कलाकार प्रदीप खड्का आक्रोशित भए। उता ‘लाइगर’को खराब रिभ्युका कारण सो टाइम घट्दै गयो र हलमा ‘प्रकाश’ अहिले पनि चलिरहेको छ। ‘राधा’ फिल्मले केहि बोल्न सकेन, फिल्म प्रर्दशन नगर्ने भन्दै उतार्यो।
के हो लफडा ?
अन्य समयमा चार दिनअघि अनलाइट टिकट खुले पनि अहिले खुल्न सकेको छैन। उल्टै केही हलले दिएको एक समयको सो टाइम समेत लुकाए। यस्ता गतिविधिका कारण नेपाल चलचित्र निर्देशक समाजले विज्ञप्ति निकालेपछि चलचित्रकर्मीहरू जुर्मुराए। सबैले सामाजिक सञ्जालबाट नेपाली फिल्मलाई सो टाइम नदिएको गुनासो गरे।
फिल्म ‘ऐना झ्यालको पुतली’का निर्देशक सुजित बिडारीले त फेसबुकमा स्ट्याटस लेखेरै हिन्दी फिल्मको सेन्सर गराउन आफ्नो फिल्मको सो टाइम नदिएको बताए।
उनले लेखेका छन्, ‘भावनात्मक कुरा गरेर सिनेमा चल्दैन। सिनेमा चल्नका लागि दर्शक हलसम्म पुग्नुपर्छ। अवस्था यस्तो छ कि, एउटा हिन्दी सिनेमाको सेन्सर नभएका कारणले हामीले भोलि रिलिज हुँदै गरेको सिनेमाको सो टाइम अहिलेसम्म पाउन सकेका छैनौं।’
यद्यपि, चौतर्फी विरोधपछि यो समाचार तयार पार्दासम्म फिल्मले कुवेलामै सहि, सो भने पाएको छ।
हल बन्द गर्ने निर्णय
यसरी सबैतिरबाट हलवालालाई औँलो उठ्यो। बलिउड फिल्म ‘ब्रम्हास्त्र’कै कारण नेपाली फिल्मको सो टाइम नदिएको भन्दै हलवालालाई गाली गलौज गर्न कलाकारदेखि निर्माता÷निर्देशक अघि सरे।
यहि कारण नेपाल चलचित्र संघले सोमबारदेखि हल बन्दको घोषणा गर्यो। अनर्गल आरोप लगाएको र संघका सदस्यहरूलाई मानमर्दन गरेको भन्दै उनीहरूले विज्ञप्तिमा जारी गरेर हल बन्दको घोषणा गरे।
हलवालाको आफ्नै तर्क
यो विषयमा हलवालाको भने तर्क फरक छ।
आफूहरूको उद्देश्य नाफा कमाउने भएको भन्दै नाम नबताउने सर्तमा एक हलवालाले भने, ‘चलेका र बुकिङ धेरै भएका फिल्मलाई धेरै हल दिनु स्वभाविक हो।’
फिल्मलाई सो निर्धारण गर्ने अहिलेसम्म नियम नबनेकाले हलवालाले नै गर्दै आएका छन्। विदेशी फिल्मलाई धेरै सो टाइम दिँदा धेरै फाइदा हुने भएपछि उनीहरूले त त्यहि गर्ने भए।
‘हामी नाफा कमाउने उद्देश्यले हल खोल्छौं। कुन फिल्मलाई कति सो दिने, नदिने भन्ने नितान्त हलवालाको रोजाइको विषय हो,’ ती हलवालाले भने, ‘चलचित्र विकास बोर्डले सो टाइमको विषयमा नियम बनाएको छैन।’
कुन फिल्मलाई कति सो दिने भन्ने छुट्याउनु निकै सकसको काम भएको र यसका लागि लामो अनुसन्धान गर्नुपर्ने ती हलवालाले बताए।
राम्रोसँग चलिरहेको फिल्म उतार्न पनि समस्या हुने, नयाँ फिल्मलाई हल पनि दिनुपर्ने र प्रतिक्षारत विदेशी फिल्मलाई पनि हल छुट्याउनुपर्ने अवस्था निकै सकसपूर्ण हुने उनको अनुभव छ।
‘ब्रह्मास्त्र’को सेन्सर ढिला भएकाले नेपाली फिल्मको सो टाइम नदेखाइएको ती हलवाला हाकाहाकी बताउँछन्।
‘ब्रह्मास्त्र’को सेन्सर किन ढिला ?
फिल्म वितरक प्रचण्डमान श्रेष्ठले नेपाल ल्याएको फिल्म हो ‘ब्रह्मास्त्र’। साइन्स फिक्सन (साइफाइ) बिवधामा आधारित फिल्म नेपालमा पनि प्रतिक्षारत फिल्म हो।
हलिउडले बनाएको साइफाइ र बलिउडले बनाएको साइफाइको स्वादमा फरकपना पत्ता लगाउन जुर्मुराएर बसेका फिल्म समिक्षकका लागि पनि यो फिल्म प्रतिक्षित नै हो।
विशेषतः युवा पुस्तालाई मनपर्ने विधा भएकाले वितरकले राम्रै लगानीमा फिल्म नेपाल भित्र्याए। यसअघि ठूलै लगानी गरेर भित्र्याएको फिल्म ‘लाइगर’ले डुबाएको लगानी उठाउने आश श्रेष्ठको यहि फिल्म हो। त्यसो त उनी ‘ऐना झ्यालको पुतली’ फिल्मको पनि वितरक हुन्।
अन्य समयमा केहि समस्या नआए पनि ‘ब्रह्मास्त्र’ फिल्मको सेन्सरमा समस्या आयो। कागजपत्र नपुगेको भन्दै चलचित्र विकास बोर्डका कर्मचारीले फिल्म सेन्सरमा ढिलाइ गरेको प्रचण्डमान श्रेष्ठ बताउँछन्।
‘हामीले पहिले जे जस्ता कागजात बुझाउँथ्यौं, यो समयमा पनि त्यहि कागजपत्र बुझाएका हौं,’ श्रेष्ठले आक्रोसित हुँदै भने, ‘चलचित्र बोर्डका कर्मचारी सहजकर्ता बन्ने हो कि राजनीति गर्ने हो? स्वतन्त्र रूपमा व्यवसाय गर्न पनि नपाउने?’
अन्तत: ‘ब्रह्मास्त्र’काे सेन्सर पनि भयाे र बुकिङ पनि धमाधम भइरहेकाे छ। टिकट पनि बिकिरहेकाे छ। उसले क्यूएफएक्स लगायत अन्य सिनेमा चेनमा पर्याप्त शाे पाउँदा केही शाे पाएकाे नेपाली फिल्मकाे बुकिङसमेत प्रयाप्त भएकाे छैन।
भदौ २३, २०७९ बिहीबार २२:१८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।