एमालेबाट कर्णाली प्रदेशको भावी मुख्यमन्त्री बन्न तम्सिएका यामलाल कँडेललाई सुर्खेत- २ (क) मा कति सहज ?
सुर्खेत: आगामी प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचनको लागि सुर्खेतमा दलहरू उम्मेदवार सिफारिसका लागि लागिपरेका छन्। अहिलेसम्मको अवस्थामा एमालेले कर्णाली प्रदेशको भावी मुख्यमन्त्रीमा यामलाल कँडेललाई अघि सारेको छ।
सत्ता गठबन्धनका कांग्रेस र माओवादी केन्द्रले भने भावी मुख्यमन्त्रीमा कसैलाई अघि सारेका छैनन्।
एमालेले सुर्खेतको प्रदेश सभा निर्वाचन क्षेत्र नं. २ (क) बाट कँडेलको नाम एकल सिफारिस गरेको हो। कर्णालीको आगामी सरकारको नेतृत्त्व गर्ने सम्भावना भएका कांग्रेस र माओवादी केन्द्रले आफ्नो सम्भावित मुख्यमन्त्रीको नाम बाहिर नल्याउँदै एमालेले कँडेललाई अघि सारेपछि समग्र प्रदेशको ध्यानाकर्षित भएको छ।
कांग्रेसले हुम्लाबाट वर्तमान मुख्यमन्त्री जीवनबहादुर शाहीलाई प्रदेश र केन्द्रका लागि एकल सिफारिस गरेको छ। माओवादीले भने एकल उम्मेदवार बनाएर कसैलाई सिफारिस गरेको छैन।
यता सुर्खेतमा एमाले नेता यामलाल कँडेललाई प्रदेश सभामा जान नदिन रोक्ने बलियो प्रतिस्पर्धीको खोजी पनि सुरु भइसकेको छ।
एमालेबाट कँडेलको नाम एकल सिफारिस भएपछि कांग्रेसले उनको प्रतिस्पर्धी बनाएर नौ जनाको नाम सिफारिस गरेको छ। सुर्खेतको प्रदेश सभा २ (क) मा गठबन्धन भएमा यो क्षेत्र कांग्रेसको भाग पर्ने निश्चित छ। गठबन्धन नभएमा पनि एमालेको प्रमुख प्रतिस्पर्धी कांग्रेस नै हो। माओवादी केन्द्रले पनि रत्नबहादुर गाहाको नाम सिफारिस गरेको छ।
कांग्रेसका ९ जनामध्ये को भिड्लान् यामलालसँग?
कांग्रेसबाट गोविन्द कोइराला, कालिप्रसाद शाक्य, कमलराज रेग्मी, तीर्थजंग शाही, बालदीप कँडेल, देवकुमार सुवेदी, कर्ण बुढा, नारायण सापकोटा र हरि विष्टको नाम सिफारिस भएको छ।
पार्टीको आन्तरिक राजनीतिमा यो क्षेत्र संस्थापनइतर नेता पूर्व केन्द्रीय सदस्य हृदयराम थानीको पकड क्षेत्र मानिन्छ। तर नगरदेखि क्षेत्र हुँदै जिल्ला, प्रदेश र केन्द्रसम्म संस्थापनको नेतृत्त्व रहेको अवस्थामा थानी समूहले के कति पाउने भन्ने स्पष्ट छैन।
तर थानी समूहका सिफारिसमा परेका एक आकांक्षी रेग्मी पार्टीका पूर्व जिल्ला सभापति हुन्। रेग्मी थानी समूहका प्रमुख खम्बाका रूपमा पनि चिनिन्छन्।
२०७४ को निर्वाचनमा पनि उनी कँडेलसँग भिडेका थिए। यसपटक पनि उनको उम्मेदवार बन्ने सम्भावना थानीमा निर्भर छ।
थानी स्वयं प्रतिनिधि सभामा सिफारिस भएकाले उनले टिकट पाएमा रेग्मीको सम्भावना करिब समाप्त हुनेछ। किनभने गठबन्धन भएको अवस्थामा कांग्रेसले सुर्खेतका ६ (प्रतिनिधि सभाका २ र प्रदेश सभाका ४) निर्वाचन क्षेत्रमध्ये तीन वा चार सिट पाउन सक्छ।
यस्तो अवस्थामा कांग्रेसभित्र थानी समूहले पाउने भनेको एक वा दुई सिट हो।
थानी प्रतिनिधि सभामा गएको अवस्थामा एक सिटमै चित्त बुझाउनुपर्ने हुनसक्छ। थानी उम्मेदवार बन्न नचाहेको अवस्थामा भने सुर्खेत २ (क) मा रेग्मीको सम्भावना बढेर जान्छ।
रेग्मी पार्टी जिल्ला सभापतिको रूपमा परीक्षण भइसकेका नेता हुन्। उनको नेतृत्त्वमा २०७४ को स्थानीय तह निर्वाचनमा कांग्रेसले बहुमत स्थानीय तह जितेको थियो।
सिफारिसमा परेका संस्थापन समूहका अन्य नेताहरू टिकटको लागि आन्तरिक प्रतिस्पर्धा र लबिङमा लागेका छन्।
पार्टीको कर्णाली प्रदेश कार्य समिति सदस्य र प्रचार विभाग प्रमुख रहेका गोविन्द कोइराला बौद्धिक र प्रखर वक्ताको रूपमा चिनिन्छन्। हालसम्म कुनै पनि निर्वाचनमा टिकट र सार्वजनिक पदमा पुग्ने अवसर नपाएका उनी ‘पब्लिक फेस’ भएको नेतामा गनिन्छन्।
यद्यपि राजनीतिभन्दा अन्यत्र बढी ध्यान दिने र राजनीतिमा जोखिम मोल्न डराउने नेताको रूपमा पनि उनको आलोचना हुने गरेको छ।
लामो समय पार्टीका केन्द्रीय उपसभापति पूर्णबहादुर खड्कासँग निकट रहेका शाक्य दुई पटक जिल्लाको पार्टी सभापतिमा निर्वाचन लडेर पराजित भएका थिए।
त्यसअघि खड्काले उनलाई सुकुम्बासी समस्या समाधान आयोगको जिल्ला अध्यक्ष बनाएका थिए। २०७४ को स्थानीय तह निर्वाचनमा जिल्ला समन्वय समिति संयोजक हुने योजनाअनुसार वडा सदस्य लडे पनि पराजित भएपछि उनको सपना तुहिएको थियो।
उमेरको हिसाबले शाक्य सिफारिसमा परेका अन्य आकांक्षीभन्दा पाको नेता हुन्।
शाही भने शिक्षक पृष्ठभूमिबाट आएका हुन्। अवकाशपछि उनी कांग्रेसको शुभेच्छुक संस्था नेपाल शिक्षक संघको केन्द्रीय कार्यवाहक अध्यक्ष भएका थिए।
कँडेल पार्टीका जिल्ला सचिव रहेका छन्। १३औं महाधिवेशनसम्म थानी समूहमा रहेका उनी पछिल्लो समय संस्थापन समूहमा पुगेका हुन्।
पार्टीका अर्का जिल्ला सचिव सुवेदी वीरेन्द्रनगरका निवर्तमान नगर प्रमुख हुन्। २०७४ को स्थानीय तह निर्वाचनमा कठिन अवस्थामा नगर प्रमुख जिते पनि मेयरको रूपमा ‘काम देखाउन नसकेको’ भन्दै उनी पार्टीभित्र र जनस्तरमा समेत आलोचित छन्।
१४औं महाधिवेशनपछि जिल्लामा हालको संस्थापन समूहतिर लागेका सुवेदी केन्द्रमा भने महामन्त्री गगन थापासँग निकट मानिन्छन्। कृष्णप्रसाद सिटौला संयोजकत्त्वको सिट बाँडफाँट गर्ने कार्यदलमा रहेका महामन्त्री थापाको कोटाबाट टिकट पाउने थोरै नेतामा उनको पनि चर्चा हुने गरेको छ।
लामो समयसम्म पार्टीका केन्द्रीय उपसभापति खड्कासँग निकट रहेका पूर्वशिक्षक सापकोटा आफूलाई ‘घायल र पीडित’ भनेर गुनासो गर्छन्।
अहिले माओवादीको साथ पाएर मात्र पनि कांग्रेसलाई जित्न मुस्किल हुनसक्छ। कांग्रेसभित्रको गुटगत प्रतिस्पर्धाले सबैभन्दा बढी असर पार्ने क्षेत्र यही हो।
दुई पटक पार्टीको जिल्ला सचिव लडेर पराजित भएका उनी यसपटक सभापति बन्न चाहन्थे। तर पहिलो पटक पूर्वी सुर्खेत (क्षेत्र नं. १) लाई जिल्ला नेतृत्त्व दिने सन्दर्भमा खड्ग पोखरेलले सभापति पाएपछि उनी चुपचाप बस्न बाध्य भए।
पार्टीको प्रदेश समितिमा अवसर नपाएका उनलाई गत वैशाखमा पार्टीको तर्फबाट वीरेन्द्रनगरको नगर प्रमुखमा उम्मेदवार बनाएर पनि मनोनयन दर्ता गर्नुअघि निराश बनाइएको थियो। सादगी, वैचारिक र बौद्धिक नेताको रूपमा उनको पहिचान छ।
पार्टीका जिल्ला सहसचिव रहेका विष्ट तरुण नेताको रूपमा परिचित छन्। पछिल्लो समय पार्टीभित्र जबर्जस्त आफ्नो स्पेस बनाउँदै लगेका उनी गत निर्वाचनमा नगर कार्य समितिबाट मेयरमा सिफारिस भएका थिए।
चार सांसदले फ्लोर क्रस गर्दा तुहिएको सपना व्युँताउने अवसर
२०७४ मै मुख्यमन्त्री बन्ने आकांक्षासहित प्रदेश सभामा निर्वाचन लडेका कँडेल यसपटक त्यही सपना पूरा गर्न फेरि प्रदेश सभामा दोहोरिन चाहेका छन्।
४० सदस्यीय कर्णाली प्रदेश सभामा साविक नेकपा हुँदा ३३ जना सांसद थिए। त्यो बेला पनि उनी मुख्यमन्त्री हुन पाएनन्।
पछि नेकपा विभाजन हुँदा एमालेसँग १९ जना सांसद थिए। यसबेला पनि उनीसँग मुख्यमन्त्री बन्न बहुमतको सिट थियो। तर, उनकै पार्टीका चार जना सांसदले फ्लोर क्रस गरेर माओवादीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको सरकार जोगाइदिएपछि उनको मुख्यमन्त्री बन्ने सपना तुहियो।
२०७४ मा एक सिट मात्र जितेको कांग्रेसले अहिले सत्ताको नेतृत्त्व गर्ने अवसर पायो। चुनावमा सत्ता गठबन्धन भएर प्रदेशको अंकगणित एमालेको प्रतिकूल आए पनि पाँच वर्षभित्र अनुकूल अवस्था बनाउन सकिन्छ भन्ने कँडेललाई राम्ररी हेक्का छ।
तर उनको योजना सफल हुने–नहुने कांग्रेसबाट सिफारिस भएका ९ जनामध्ये कसले टिकट पाउँछ भन्नेमा निर्भर छ।
वीरेन्द्रनगरका १६ मध्ये १४ वडा रहेको प्रदेश सभा २ (क) एमालेको बलियो जनाधार भएको क्षेत्र हो। गत निर्वाचनमा सत्ता गठबन्धनबीच चुनावी समीकरण भए पनि एमालेले प्रमुख, उपप्रमुखसहित बहुमत वडा जितेको थियो।
अहिले माओवादीको साथ पाएर मात्र पनि कांग्रेसलाई जित्न मुस्किल हुनसक्छ। कांग्रेसभित्रको गुटगत प्रतिस्पर्धाले सबैभन्दा बढी असर पार्ने क्षेत्र यही हो।
कांग्रेस एक ढिक्का नभएसम्म यस क्षेत्रमा गठबन्धन भइहाले पनि जित्न सहज छैन। कांग्रेसले पार्टीको आन्तरिक कलह मिलाउन संघ तथा प्रदेश सभामा धेरैको नाम सिफारिस गरेको छ।
सुर्खेतका दुई वटा प्रतिनिधि र चार वटा प्रदेश सभा क्षेत्रबाट ११८ जनाको नाम कांग्रेसले सिफारिस गरेको छ।
भदौ २३, २०७९ बिहीबार ०९:४९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।