मदन भण्डारी राजमार्गको तम्घास–सिमलटारी सडकखण्डमा चार वटा पक्की पुल निर्माण हुँदै

मदन भण्डारी राजमार्गको तम्घास–सिमलटारी सडकखण्डमा चार वटा पक्की पुल निर्माण हुँदै

बुटवल: मदन भण्डारी राजमार्गअन्तर्गत तम्घास-सिमलटारी सडकखण्डमा चार वटा पक्की पुल निर्माणको काम सुरु भएको छ। गुल्मीको सदरमुकाम तम्घासबाट पश्चिमतर्फको व्यस्त सडकमा पुल नहुँदा वर्षाको समयमा आउ–जाउ गर्न समस्या हुने गरेको छ।

सडक कालोपत्रे भएको तीन वर्षपछि पक्की पुल निर्माण हुँदै गरेकाले सर्वसाधरणले जोखिम मोलेर यात्रा गर्न नपर्ने भएको छ।

मदन भण्डारी राजमार्ग तम्घास कार्यालयका कार्यालय प्रमुख शशांक मिश्रले अहिले चार वटा पुलको काम सुरु गरेको बताए। वर्षाका कारण हाल रोकिएको र पानी रोकिनासाथ तत्काल काम अघि बढ्ने उनको भनाइ छ।

छिमेकी जिल्ला प्यूठान र अर्घाखाँचीका नागरिकहरूले आवातजावत गर्ने यो सडकखण्डको तम्घासदेखि सिमलटारीसम्म साना ठूला गरी ६ वटाभन्दा बढी खहरे खोला तर्नुपर्ने हुन्छ।

कार्यालयका अनुसार फूलबारीस्थित अर्जै खोला, घमीर खोला, हुलाके खोला र धनार्जे खोलामा पुल निर्माणका लागि ठेकेदार कम्पनी छनोट भएर काम सुरु भएको छ। यी पुल ११ मिटर चौढाइका हुनेछन्।

अर्जै खोलामा यसै वर्षदेखि काम सुरु भए पनि वर्षाका कारण फाउण्डेसनमा क्षति पुगेको उनले बताए।

अहिले अर्जै खोलामा डाइभर्सन नहुँदा सवारी आवतजावतमा कठिनाई भएको भन्दै दुई दिनभित्र जाली राखेर डाइभर्सन बनाउन ठेकेदार कम्पनीलाई भनिएको उनको भनाइ छ। 

सो स्थानमा पक्की पुल निर्माणका लागि ठेकेदार कम्पनी पन्त निर्माण सेवाले आरसीसी कजवे भत्काएर काम सुरु गरे पनि फाउण्डसेनको काम गर्दै गर्दा खोलाले बगाएपछि काम अघि बढ्न नसकेको उनले बताए।

‘काम गर्दा गर्दै फाउण्डेसनमा क्षति भएपछि ठेकेदारले बर्खामा काम गर्न नसकेको हो। फाउण्डेसनका छडहरू बांगिएकाले पनि फेरि अब नयाँ डण्डी राखेर फाउण्डेसनको काम निर्माण कम्पनीले सुरु गर्नेछ', उनले भने।

पन्त निर्माण सेवाले अर्जै खोला र घमिर खोलामा पुल निर्माणका लागि ठेक्का पाएको छ। घमीर खोलामा भने काम सुरु भएको छैन। 

अर्जै खोला र घमीर खोलामा एकै पटक काम गर्दा अप्ठयारो हुने भएकाले निर्माण कम्पनीले एकै पटक काम नगरेको उनले बताए।

हुलाके र धनार्जे खोलामा पनि पुल निर्माणको काम अघि बढेको छ। यी दुई पुल निर्माणका लागि सुनिल समीर निर्माण सेवा प्रालिसँग सम्झौता भएको छ।

यी चार वटा पुल निर्माणका लागि भ्याटसहित १९ करोड २६ लाख ५५ हजार दुई सय रुपैयाँ निर्माण कम्पनीसँग सम्झौता भएको छ। 

निर्माण कम्पनीले २०८० भदौ, मंसिर र माघ महिनाभित्र पुल बनाइसक्नुपर्ने सम्झौता छ।

सो सडकखण्ड अन्तर्गत हाल छल्दी खोलामा तम्घास र ईस्मा गाउँपालिका जोड्ने पक्की पुल छ। अर्को पुल हुल खोलामा छ। अहिले बनिरहेका पुलहरू निर्माण सम्पन्न भएपछि सामान्य पानी पर्दा समेत बाटोमै रोकिनुपर्ने सर्वसाधरण र सवारी चालकको बाध्यता हट्नेछ।

‘हुलाके खोला मोटरसाईकल समेत तार्न कठिन हुन्छ। त्यहाँ कजवे पनि छैन। फूलबारीको अर्जै खोलामा त झन् अहिले हिँड्न नसक्ने अवस्था आएको छ। अब पुल बनेपछि यसको समधान हुनेछ’, मालिका गाउँपालिका वडा नं. ६ का स्थानीय चन्द्रबहादुर अर्यालले भने।

तम्घास सिमलटारी, पुर्कोट हुँदै प्युठानसम्म पुग्ने सडक खण्डमा सिमलटारीसम्म कालोपत्रे काम तीन वर्षअघि सम्पन्न भइसकेको हो। सडक कालोपत्रे गर्न ०७२ सालदेखि कालिका कन्स्ट्रक्सनले निर्माणको काम गरेको थियो।

तम्घासबाट सिमलटारीसम्मको सडकको ट्र्याक खोल्ने काम ०४३ सालतिर भएको थियो। सडकको ट्र्याक खोलेको ३० वर्षपछि एक अर्बको लागतमा सडक कालोपत्रे भएको थियो।

गुल्मी क्षेत्र नं. २ का सांसद गोकर्ण विष्टको पहलमा भएको सडक कालोपत्रेपछि गाउँगाउँका तरकारी तथा दैनिक उपभोग्य सामग्री सदरमुकाम तम्घाससम्म पुग्ने गरेका छन्। 

यसले त्यहाँका नागरिकको दैनिकी नै बदलिएको छ। सडक कालोपत्रे भएपछि अहिले सिमलटारीदेखि तम्घासको दूरी आधा घण्टामै पार गर्न सकिन्छ। 

सिमलटारी, फूलबारी, चौरासीमा भएको व्यावसायिक पशुपालनबाट उत्पादन हुने दूध अहिले सजिलै तम्घाससम्म पुग्ने गरेको छ।

भदौ २३, २०७९ बिहीबार ०८:४०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।