सन्दीप केसमा बुधवार दिनभर के-के भयो ? ६ घटनाक्रम सहित उकेरा ब्रिफिङ
मङ्गलवार सन्दीप लामिछाने विरुद्ध परेको जाहेरीका आधारमा बुधवार दिनभर प्रहरी प्रमाण सङ्कलनमा केन्द्रित भयो। जाहेरीमा उल्लेख भएका स्थान, होटेल, समय र प्रमाण खोज्दैमा दिन बित्यो बुधवार।
बुधवार सङ्कलन भएका प्रमाणका आधारमा प्रहरीले बिहीबार अदालतमा पेस गरेर पक्राउ आदेश लिन सक्छ।
बुधवार के-के भए ? ६ घटनाक्रम :
१ - सन्दीपले कफी खान बोलाएर बलात्कार गरेको भन्दै पर्यो जाहेरी
मङ्गलवार मध्यरात नेपाली क्रिकेट राष्ट्रिय टिमका क्याप्टेन सन्दीप लामिछानेविरुद्ध नाबालिगको तर्फबाट बलात्कारको जाहेरी परेको सूचनाले सनसनी फैलायो।
दिउसमात्रै नाबालिग बलात्कारको अभियोगमा पुर्पक्षका लागि कारागारमा रहेका अभिनेता पल शाहमाथिको बलात्कार आरोपमा सफाईदिँदै नवलपुर अदालतले बाल यौन दुरुपयोगमा साढे २ वर्ष कैद सजाय सुनाएको थियो। बेलुका एकाएक लामिछाने विरुद्ध जाहेरी परेको सूचना आयो। प्रहरी वृत्त गौशालामा जाहेरी परेको पुष्टि भयो। सामाजिक सञ्जालबाट परिचय भएर फ्यानको रूपमा भेट्न जाँदा सिनामंगलको एक होटेलमा राखेर बलात्कार गरेको जाहेरीमा उल्लेख थियो।
पुरा समाचार : क्रिकेट टिमका क्याप्टेन सन्दीपले कफी खान बोलाएर बलात्कार गरेको भन्दै पर्यो जाहेरी
२- सन्दीप केसमा काठमाडौंका एसएसपी भन्छन् : जाहेरी दर्ता भयो, अनुसन्धानमा छौं
मङ्गलवार बेलुका भइसकेकाले औपचारिक रूपमा जानकारी दिन प्रहरी अधिकारीहरू उपलब्ध भएका थिएनन्। बुधवार बिहानदेखिको चासो यही केसमा थियो। काठमाडौँ प्रहरी परिसरका प्रमुख भरत बोहोराले उकेरासँगको कुराकानीमा लामिछानेविरुद्ध जाहेरी परेको र अनुसन्धान सुरु भएको पुष्टि गरे।
पुरा समाचार : सन्दीप केसमा काठमाडौंका एसएसपी भन्छन् : जाहेरी दर्ता भयो, अनुसन्धानमा छौं
३- सन्दीप प्रकरणमा प्रहरीको विज्ञप्ति : होटलको कोठा नम्बर ३०५ मा पटक-पटक करणी
घटनाबारे औपचारिक रूपमा नबोलेको काठमाडौँ प्रहरी परिसरले आधिकारिक विज्ञप्ति नै निकाल्यो। जसमा नावालिका बहिनी वर्ष १७ की गौशाला २६ (छ) (१) लाई काठमाडौँ बुढानीलकण्ठ नेपाली राष्ट्रिय क्रिकेट टोलीको कप्तान सन्दीप लामिछानेले भदौ ५ गते काठमाडौँ र भक्तपुरको विभिन्न स्थानहरूमा लगी काठमाडौँ ल्याई रातको अं. २३:५५ बजे एक होटेलको कोठा नं. ३०५ मा ०६ गते रातको साढे १२ बजे पटक पटक जबरजस्ती करणी गरेको लगायत उल्लेख गरी २१ गते प्रहरी वृत्त, गौशालामा जाहेरी दरखास्त दिएको उल्लेख थियो।
पुरा समाचार : सन्दीप प्रकरणमा प्रहरीको विज्ञप्ति : होटलको कोठा नम्बर ३०५ मा पटक-पटक करणी
४- सन्दीप प्रकरणमा प्रहरीको टाउको दुखाई : नेपाल नफर्किए के गर्ने ?
जाहेरी परे पनि पक्राउ गर्न सन्दीप नेपालमा थिएनन्। उनी केन्याविरुद्ध टी–२० अन्तर्राष्ट्रिय शृङ्खलामा नेपालको नेतृत्व गरेर त्यतैबाट क्यारेवियन प्रिमियम लिग (सीपीएल)का लागि जमैका पुगेका थिए।
जमैका तल्हवाजबाट प्रतियोगिता खेल्न पुगेका उनी विरुद्ध नेपालमा नाबालिगलाई सिनामंगलको एक होटेलमा लगेर बलात्कार गरेको जाहेरी परे पनि प्रतिवादी पक्राउ गर्न सम्भव भएन। यस्तो अवस्थामा के हुन्छ ?
काठमाडौँका एसपी दिनेश मैनालीले भने 'अहिले हाम्रो जिम्मेवारी घटनासँग जोडिएका प्रमाण सङ्कलन गर्ने हो। त्यो काम भइरहेको छ।'
उनी नेपाल फर्किएनन् भने के हुन्छ ?
'उनी नेपालमा हुनु र नहुनुसँग अनुसन्धान जोडिँदैन। अनुसन्धान जारी नै रहन्छ,' केन्द्रीय प्रहरी प्रवक्ता टेकप्रसाद राईले भने' अनुसन्धान अधिकारीहरूले अनुसन्धानमा फेला परेको तथ्यको आधारमा उनलाई पक्राउ गर्नुपर्ने अवस्था देखिए उनलाई नेपाल ल्याउन आवश्यक पहल गर्ने र सम्भव नभए इन्टरपोलको सहयोग लिन सकिहालिन्छ।'
पुरा समाचार : सन्दीप प्रकरणमा प्रहरीको टाउको दुखाई : नेपाल नफर्किए के गर्ने ?
५- सिनामंगलको होटलको सिसिटिभीमा जे देखियो- आएको : बेलुका ११: ५५, निस्किएको बिहान : ६ बजे
घटनास्थलको मुचुल्का लगायतका प्रमाण सङ्कलनमा २ प्रहरी टोली परिचालित भइसकेको थियो। एक टोली नगरकोट गयो भने अर्को टोली काठमाडौँमा। अनुसन्धानमा काठमाडौँको होटेलको सिसिटिभी फुटेजमा दुवै जना बेलुका ११: ५५ मा होटेलभित्र प्रवेश गरेको र चेक आउट गरेर बिहान ६ बजे निस्किएको फुटेज फेला पर्यो।
कर्मचारीहरूसँगको बयानले उनीहरू ३०५ कोठामा बसेको अनि मदिरा मगाएको समेत पुष्टि भयो। सन्दीप नियमित जाने होटेल भएकाले लग बुकमा भने उनको नाम राखिएको देखिएन। उता नगरकोटको रिसोर्टमा पनि दुवै जना पुगेको, सन्दीपले बिल रकम ईपेबाट तिरेको लगायतका प्रमाण सङ्कलन भयो।
पुरा समाचार : सिनामंगलको होटलको सिसिटिभीमा जे देखियो- आएको : बेलुका ११: ५५, निस्किएको बिहान : ६ बजे
६- घर जाने बहानामा होटल हायात प्यालेसबाट निस्किएका थिए सन्दीप
क्लोज क्याम्पमा बसेका टिम क्याप्टेन होटलबाट बाहिर निस्किएर बलात्कार गरेको घटना प्रहरीमा पुग्दा पनि क्रिकेट एसोसिएसन अफ नेपालका पदाधिकारी मौन बसे। उनीहरूको आलोचना बढेपछि क्लोज क्याम्पमा बसेको हायात प्लेसबाट घर जाने बहानामा निस्किएर भोलिपल्ट आएकोसम्म विवरण सार्वजनिक भयो। तर क्यानले तत्काल कुनै कारबाही गरेन। प्रहरीले बुधवार अनुसन्धानमा प्राप्त प्रमाणको आधारमा बिहीबार अदालतबाट पक्राउ आदेश ल्याउने तयारी गरेको जानकी दियो।
पुरा समाचार : घर जाने बहानामा होटल हायात प्यालेसबाट निस्किएका थिए सन्दीप, बिहीबार अदालती प्रक्रिया सुरु गर्ने तयारी
भदौ २३, २०७९ बिहीबार ००:३६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।