सन्दीप प्रकरणमा प्रहरीको टाउको दुखाई : नेपाल नफर्किए के गर्ने ?

सन्दीप प्रकरणमा प्रहरीको टाउको दुखाई : नेपाल नफर्किए के गर्ने ?

नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछाने अहिले वेस्ट इन्डिजमा छन्। केन्याविरुद्ध टी–२० अन्तर्राष्ट्रिय शृङ्खलामा नेपालको नेतृत्व गरेका उनी त्यतैबाट क्यारेवियन प्रिमियर लिग (सीपीएल)का लागि जमैका पुगे।

जमैका तल्हवाजबाट प्रतियोगिता खेल्न पुगेका उनी विरुद्ध यता नेपालमा मङ्गलवार नाबालिगलाई सिनामंगलको एक होटलमा लगेर बलात्कार गरेको जाहेरी पर्यो।

जाहेरीपछि प्रहरीले पीडित किशोरीको स्वास्थ्य परीक्षणसँगै घटनास्थलको मुचुल्का र थप प्रमाणहरू सङ्कलन गर्ने काम गरिरहेको काठमाडौँ जिल्ला परिसरका प्रवक्ता एसपी दिनेश मैनालीले बताए।

'अहिले हाम्रो जिम्मेवारी घटनासँग जोडिएका प्रमाण सङ्कलन गर्ने हो। त्यो काम भइरहेको छ' उनले भने।

मङ्गलवार जाहेरी लगत्तै पीडितको स्वास्थ्य परीक्षण भइसकेको छ। मङ्गलवार बेलुका नै प्रहरी टोलीले सिनामंगलमा रहेको होटलमा गएर सन्दीपले पीडितको बलात्कार गरेको भनिएको ३०५ नम्बर कोठाको मुचुल्का उठाइसकेको छ।

भदौ पाँच गते बेलुका साढे १२ बजेतिरको क्लोज सर्किट टेलिभिजनको फुटेज सङ्कलन गर्ने, भक्तपुरको नगरकोटमा गएको होटलको क्लोज सर्किट टेलिभिजनको फुटेज सङ्कलन गर्ने काम भइरहेको अनुसन्धान स्रोतले बतायो।

'अहिलेसम्म खुलेका विवरण हेर्दा जाहेरीमा गरिएको दाबी बलियो देखिन्छ,' अनुसन्धानस्रोतले भन्यो।

सन्दीपलाई नेपाल ल्याउन के गर्ने ?

प्रहरी अनुसन्धानमा जुटिसकेको छ। तर सन्दीपबारे के गर्ने भन्नेबारे भने निर्णय भइसकेको छैन। तत्काल प्रहरीले बालिकाको बयान प्रमाणित गराएर काठमाडौँ जिल्ला अदालतबाट लामिछानेलाई पक्राउ गर्ने अनुमति लिन सक्छ।

उनी जमैकामा रहेको र नेपाल कहिले फर्कने भन्ने एकिन समेत नभएकाले उच्च प्रहरी अधिकारीहरूले क्रिकेट एसोसिएसन अफ नेपालका अधिकारीहरूसँग यसबारे परामर्श गरिरहेको खुल्यो।

नाबालिग बलात्कारको अभियोग पुष्टि भएमा १४ वर्षसम्म कैद सजाय हुनसक्ने कानुनी प्रावधान छ। थुनछेक बहसपछि धरौटी निस्कन सहज हुन्न। प्रहरीले अदालतबाट अनुमति लिएर औपचारिक रुपमा अनुसन्धान अगाडि बढाएपछि लामिछाने पक्राउ परेको हकमा न्युनतन २३ दिन प्रहरी हिरासतमा रहने छन् नै।

त्यसपछि अदालतमा दर्ता हुने अभियोग पत्रको आधारमा प्रतिवादीको बयान गराएर धरौटी या पुर्पक्षमा राख्ने आदेश आउने हो। यसले प्रहरी अधिकारीहरूमा कतै सन्दीप नेपाल नफर्किने त हैन भन्ने शङ्का भने देखियो।

'उनी नेपालमा हुनु र नहुनुसँग अनुसन्धान जोडिँदैन। अनुसन्धान जारी नै रहन्छ,' केन्द्रीय प्रहरी प्रवक्ता टेकप्रसाद राईले भने' अनुसन्धान अधिकारीहरूले अनुसन्धानमा फेला परेको तथ्यको आधारमा उनलाई पक्राउ गर्नुपर्ने अवस्था देखिए उनलाई नेपाल ल्याउन आवश्यक पहल गर्ने र सम्भव नभए इन्टरपोलको सहयोग लिन सकिहालिन्छ।'

भदौ २२, २०७९ बुधबार १७:२१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।