वडाध्यक्षले बुहारी नाता पर्नेसँग फोनमा गरेको अश्लील कुराकानी बाहिरियो
सुर्खेत : सुर्खेतको सिम्ता गाउँपालिका–३ का वडाध्यक्ष लोकबहादुर शाहीले आफ्नै भाइ बुहारी पर्नेसँग गरेको अश्लील कुराकानी बाहिरिएको छ। एमालेबाट निर्वाचित वडाध्यक्ष शाहीले भाईबुहारी नाता पर्ने एक महिलासँग गरेको अश्लील कुराकानी सामाजिक सञ्जालबाट बाहिरिएको हो।
अडियो बाहिरिएपछि स्थानीयले राजीनामा माग्दै वडा कार्यालयमा ताला लगाएका छन्। वडाध्यक्ष जस्तो जिम्मेवारीमा रहेका व्यक्तिले आफ्नै १३ दिने भाइबुहारीसँग अश्लील कुराकानी गरेकाले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने भन्दै एक समूह कार्यालयमा गएर ताल्चा लगाएर हिँडेको थियो।
‘वडाध्यक्ष जस्तो जन निर्वाचित व्यक्तिले आफ्नै १३ दिने भाइ बुहारीसँग गरिएको अश्लील कुराकानीले समाजमा गलत हर्कत गरेकोले नैतिकताको आधारमा उहाँले राजीनामा दिनुपर्छ,’स्थानीय श्याम शाहीले भने, ‘उहाँले राजीनामा नदिँदासम्म वडा कार्यालयको ताला खुल्दैन।’
यस विषयमा वडाध्यक्ष शाहीसँग प्रतिक्रिया लिन खोज्दा उनको मोबाइल अफ थियो। स्थानीयका अनुसार यो अडियो कुराकानी बाहिरिएपछि वडाध्यक्ष शाही सम्पर्कविहीन छन्।
वडाध्यक्ष भएको केही महिनाभित्रै उनका दुई वटा काण्ड बाहिरियो। यसअघि शाहीले गाउँकै वादी समुदायकी एक युवतीमाथि जबरजस्ती करणी गरेको आरोप थियो। यद्यपि यो घटना गाउँघरमै मिलापत्रमा टुङ्ग्याइएको थियो।
स्थानीयले विज्ञप्ति नै निकालेर अध्यक्षले राजीनामा दिनुपर्ने र प्रशासनले उनीमाथि छानबिन गर्नुपर्ने माग गरेका छन्। यस विषयमा प्रशासनले भने कुनै प्रक्रिया अगाडी बढाएको छैन।
भदौ २२, २०७९ बुधबार १६:५७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।