स्वास्थ्यमन्त्री खापुङलाई चुनाव लाग्यो, मन्त्रालयको कर्मचारीको सरुवा र जिम्मेवारी हेरफेर

स्वास्थ्यमन्त्री खापुङलाई चुनाव लाग्यो, मन्त्रालयको कर्मचारीको सरुवा र जिम्मेवारी हेरफेर

काठमाडौँ : चुनाव नजिकिँदै जाँदा सरुवाको शृङ्खला बढाएको सरकारले स्वास्थ्यतर्फका कर्मचारीको जिम्मेवारी हेरफेर गरेको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भवानीप्रसाद खापुङले २१ गते मङ्गलवार मन्त्रीस्तरिय निर्णयबाट मन्त्रालय अन्तर्गतका कार्यालयका कर्मचारीको सरुवा र जिम्मेवारी हेरफेर गरेका हुन्।

मन्त्रीका सल्लाहकार डा. रमेश ढकालले केहीको सरुवा र केहीको जिम्मेवारी हेरफेर भएको उकेरालाई बताए।

ढकालका अनुसार कीटजन्य रोग अनुसन्धान केन्द्रका निर्देशक डा. विश्वबन्धु बगालेलाई भरतपुर अस्पतालको मेडिकल सुपरिन्टेन्डेन्ट जिम्मेवारी दिइएको छ। उनको ठाउँमा केशव पण्डितलाई पठाइएको छ। सार्क क्षयरोग केन्द्रका निर्देशक डा. अनुप बास्तोलालाई उपचारात्मक महाशाखाको प्रमुखको जिम्मेवारी दिइएको छ। बास्तोलाको ठाउँमा मन्त्रालयबाट यशोदा अर्याललाई पठाइएको छ।

त्यसै गरी उपचारात्मक महाशाखाका निर्देशक डा. पवनजंग रायामाझीलाई प्रसूति गृहको निर्देशकको जिम्मेवारी दिइएको छ।

राष्ट्रिय स्वास्थ्य शिक्षा तथा सूचना केन्द्रका निर्देशक सुनिल शर्मालाई बागमती प्रदेश स्वास्थ्य निर्देशनालयको निर्देशक बनाएर पठाइएको ढकालले जानकारी दिए। सूचना केन्द्रमा विजयकुमार झालाई निर्देशक बनाइएको छ।  झा यसअघि मधेस प्रदेश स्वास्थ्य निर्देशनालयका प्रमुखको भूमिकामा थिए।

त्यसै गरी बागमती प्रदेश स्वास्थ्य निर्देशनालयका प्रमुख महेश्वर श्रेष्ठलाई काज फिर्ता गरेर लुम्बिनी प्रदेश नै पठाइएको ढकालले जानकारी दिए।

आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागका महानिर्देशक डा. वासुदेव उपाध्यायलाई सिंहदरबार वैद्यखाना विकास समितिको प्रमुखको थप जिम्मेवारी दिएको मन्त्रीको सचिवालयले जानकारी दिएको छ। उपाध्यायले भने यो विषय आफूलाई थाहा नभएको बताए।

महानिर्देशक डा. उपाध्यायले भने,‘मलाई थाहा छैन। मलाई हालसम्म कुनै पत्र प्राप्त भएको छैन।

भदौ २२, २०७९ बुधबार १६:४८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।