सन्दीप केसमा काठमाडौंका एसएसपी भन्छन् : जाहेरी दर्ता भयो, अनुसन्धानमा छौं

सन्दीप केसमा काठमाडौंका एसएसपी भन्छन् : जाहेरी दर्ता भयो, अनुसन्धानमा छौं

काठमाडौं : काठमाडौं जिल्ला परिसरका एसएसपी भरत बोहोराले नेपाली क्रिकेट टिमका कप्तान सन्दीप लामिछाने विरुद्ध १७ वर्षकी एक नाबालिगको तर्फबाट बलात्कारको जाहेरी परेको पुष्टि गरेका छन्।

उकेरासँग कुरा गर्दै उनले मंगलबार गौशाला वृत्तमा बालिकाको तर्फबाट जाहेरी परेको पुष्टि गरे।

'जाहेरी दर्ता भएको छ, अहिले प्रहरी प्रारम्भिक अनुसन्धानमा छ', एसएसपी बोहराले भने।

जाहेरी अनुसार स्न्यापच्याटमार्फत सन्दीपसँग परिचय भएको र भेट्न जाँदा मध्यरात बनाएर एयरपोर्ट नजिक रहेको एयरपोर्ट इन होटलमा लगेर मादक पदार्थ खुवाएर बलात्कार गरेको उल्लेख छ।

किशोरी काठमाडौंको एक स्कुलमा अध्ययन गर्ने र होस्टलमा बस्ने देखिएको छ।स्न्यापच्याटमा सन्दीपसँग कुराकानी सुरु भएको, आफू उनको फ्यान भएकाले भेट्न चाहेको उल्लेख छ।

उनी भेट्न राजी भएपछि होस्टलबाट भदौ ५ मा निस्किएर भेट्न गएको तर उनले जवर्जस्ती नगरकोट पूर्याएको जाहेरीमा उल्लेख भएको जानकार स्रोतले बतायो।

ढिला भए होस्टलको गेट बन्द हुन्छ भनेर चाँडो काठमाडौँ फर्कन खोजेको तर सन्दीपले ढिला गरेर बेलुका मात्र काठमाडौँ ल्याएपछि होस्टल जान नसकेको जाहेरीमा भनिएको छ।

त्यसपछि होटलमा २ वटा कोठा लिने भनेर सिनामँगलको होटलमा गएको तर विभिन्न बहाना बनाएर एकै कोठामा बस्न खोजेको, मादक पदार्थ खुवाएर बलात्कार गरेको दाबी गरिएको छ।

त्यसपछि सन्दीपले सबै स्न्यापच्याटसहित सबै ठाउँमा ब्लक गरेको, डरले कसैलाई भन्न नसकेको उल्लेख छ। उनले आफ्नी एक साथीलाई भनेपछि उनले सहजीकरण गरेर पीडित प्रहरीसम्म आएको देखियो।

घटना भएको क्षेत्र गौशाला वृत्तको क्षेत्र परेकाले जाहेरी त्यही दर्ता भएको हो। मुद्दा प्रक्रिया गौशालाबाटै हुने भएपछि अनुसन्धानमा काठमाडौँ परिसर समेत संलग्न हुनेछ।

प्रहरीले किशोरीको स्वास्थ्य परीक्षण, बलात्कार भएको भनिएको होटलको प्रमाण सङ्कलन लगायतका काम गरिसकेको छ। सन्दीप क्रिकेट खेल्न नेपाल बाहिर छन्।

शहरीले सरकारी वकिल कार्यालयमार्फत काठमाडौं जिल्ला अदालतबाट पक्राउ आदेश लिने तयारी गरेको छ। 

भदौ २२, २०७९ बुधबार ०९:५९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।