‘असुर’मा शक्ति प्राप्तिको भोको पात्रको कथा, ओजस थिएटरमा मञ्चन हुँदै
काठमाडौंः राजधानीको रातोपुलस्थित ओजस थिएटरमा नाटक ‘असुर’को मञ्चन भइरहेको छ।
भदौ १५ गतेदेखि असोज ५ गतेसम्म मञ्चन हुने नाटकले शक्ति प्राप्तिको भोको पात्रको कथा प्रस्तुत हुने निर्देशक विवेक न्यौपाने(घने)ले बताए।
‘एउटै परिवारका दुई पुस्ताबीचको विचारको शक्तिसंघर्षको कथा नै असुर हो,’ उनले भने, ‘यो शक्ति संघर्षमा जो पर्छ, ऊ बर्बाद हुन्छ।’
हिन्दु धर्मसँग प्रसङ्ग मिल्न जाने ‘असुर’ नाटकमा असुर भन्ने पात्रले शक्ति प्राप्तिका लागि गर्ने जायज र नाजायज विषय समेटिएको न्यौपानेले बताए।
‘शक्ति प्राप्तिका लागि असुरले कहिले देवता जस्तो त कहिले दानव जस्तो रूप लिनसक्छ,’ न्यौपानेले कथासार प्रष्ट्याउँदै उनले भने, ‘शक्तिको लालचले आएका राजनीतिक परिवर्तनहरूले आम मान्छेको दैनिकीमा रूपान्तरण हुन नसकेको विषय नाटकमार्फत केलाउने प्रयास गरेका छौं।’
नाटकले पितृसतात्मक सोच र परिधिले कसरी महिलाको जीवनलाई दमनमा राख्छ भन्ने कुरा पनि समेटेको लेखक रविन दोङले बताए।
‘२०५८ देखि ०६२/०६३ सम्मको देशको परिवेशलाई असुरमा ऐनाले जस्तै देखाउने चेष्टा गरिएको छ,’ उनले भने, ‘नाटकले उत्पीडित वर्गको पीडा देखाउन खोजेको छ, क्रान्तिको नाममा आम जनताले भोगेको सास्ती नै असुर नाटकको मुख्य अभिप्राय हो।’
राजन कार्की र शंकर कार्कीले निर्माण गरेको नाटकमा सुचित्रा उप्रेतीले ‘कलावती’, सागर कार्कीले ‘नरेन्द्र’ र प्रल्हाद खरेलले ‘जुद्ध प्रसाद’को चरित्र बाँचेका छन्।
नाटकमा केशव सिंह ठगुन्ना, प्रतिक दुलाल, नमस्ते दिवाकर घिमिरे, सोफिया बज्रचार्य, विजय सापकोटा, सन्तोषी पौडेल, उज्ज्वलराज ढकाल, श्याम कार्की, बिरेन्द्र सिंह कुसवाहा, अश्मिता ढकाल, शेखर दाहाल, गंगा मगर, विशाल परियार, लक्ष्मी राई, अनिल गुरुङ, ओसन कार्की, प्रशंशा गहतराज र शुक्रराज मगरको पनि अभिनय छ।
नाटक बिहीबार बाहेक हरेक दिन साँझ साढे ५ बजे ओजस थिएटरमा मञ्चन हुनेछ। शनिबार भने दिउँसो १ बजेसमेत मञ्चन हुनेछ।
भदौ २१, २०७९ मंगलबार २२:३८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।