पल केसमा बलात्कार अभियोग कसरी बदलियो बाल यौन दुरुपयोगमा ?

पल केसमा बलात्कार अभियोग कसरी बदलियो बाल यौन दुरुपयोगमा ?

काठमाडौं : अभिनेता पल शाह पुर्पक्षका लागि थुनामा पुग्नुको कारण थियो नबालिका बलात्कार अभियोग। यता तनहुँमा जाहेरी दर्ता भएपछि इलाका प्रहरी कार्यालय गैँडाकोटमा समेत सोही प्रकृतिको जाहेरी पर्यो।

थुनछेक बहस तनहुँमा पहिला सकियो। उनी पुर्पक्षका लागि थुनामा गए। त्यसपछि जिल्ला अदालत नवलपुरमा भएको थुनछेक बहसमा पनि उनी पुर्पक्षका लागि थुनामा गए।

तर, फैसला भने नवलपुरको पहिला आयो तनहुँको भन्दा। मंगलबार प्रमाण बुझ्ने सबै प्रक्रिया सकाएर बहसपछि फैसला आउँदा आंशिक दाबी पुग्ने भन्दै बलात्कारको अभियोग बाल यौन दुर्व्यवहारमा बदलियो।

बलात्कार अभियोग अनुसार १२ देखि चौध वर्षसम्म जेल सजायको फैसला हुन सक्थ्यो।

न्यायाधीश यज्ञप्रसाद आचार्यको एकल इजलासबाट फैसला आउँदा मुलुकी अपराध संहिताको बाल यौन दुर्व्यवहारमा आयो। जस अनुसार तीन वर्षसम्म कैद र तीस हजार रुपैयाँसम्म जरिवाना हुने प्रावधान छ। फैसलामा साढे २ वर्ष कैद, २५ हजार जरिवानाको फैसला आयो। पीडित बालिकालाई १० लाख क्षतिपूर्ति दिन समेत आदेश आयो।

फैसला आंशिक मात्र सार्वजनिक भएकाले अदालतले के-के आधारमा बलात्कार नभई बाल यौन दुर्व्यवहार ठहर्यायो भन्ने विस्तृत सार्वजनिक भएको छैन। फैसलाको पूर्ण पाठमा मात्र विस्तृत विवरण उल्लेख हुन्छ। अदालतको विवरणमा आंशिक दाबी पुग्ने उल्लेख छ। अर्थात् बलात्कारको दाबी पुगेन तर बाल यौन दुर्व्यवहार गरेको भने ठहरियो।

के हो बलात्कार ?

मुलुकी अपराध संहिता अनुसार कसैले कुनै महिलालाई निजको मन्जुरी नलिई करणी गरेमा वा मन्जुरी लिएर भए पनि अठार वर्षभन्दा कम उमेरको कुनै बालिकालाई करणी गरेमा निजको त्यस्तो महिला वा बालिकालाई जवर्जस्ती करणी गरेको मानिने उल्लेख छ।

शाहलाई यही अभियोग लागेको थियो। बालिकाको बयान अनुसार उनलाई विवाहको प्रलोभनमा पारेर जवर्जस्ती करणी गरेको उल्लेख थियो। नवलपुर अदालतले यो स्वीकार गरेन।

के हो बाल यौन दुर्व्यवहार ?

मुलुकी अपराध संहितामा कसैले करणीका आशयले बालबालिकालाई अस्वाभाविक रूपमा एकान्तमा लगेमा, यौन सम्बन्धी निजको अङ्ग छोएमा वा समातेमा, यौन सम्बन्धी आफ्नो अङ्ग निजलाई छुन वा समाउन लगाएमा वा निजसँग अन्य कुनै किसिमको यौनजन्य अस्वाभाविक व्यवहार गरेमा बाल यौन दुरुपयोग गरेको मानिने उल्लेख छ।

अदालतको आदेशको संक्षिप्त विवरण अनुसार अदालतले पल शाहले बालिकामाथि माथि यीमध्ये कुनै गतिविधि गरेको प्रमाणका आधारमा पुष्टि भएको ठहर्याएको देखिन्छ।

यौन दुर्व्यवहारको आधार के हुनसक्छ ?

एकै रिसाेर्टमा बसेको

जाहेरी र अनुसन्धानको क्रममा दिइएको बयानमा तनहुँ, पोखरा र गैँडाकोटमा पटक-पटक बलात्कार गरेको दाबी गरिएको थियो।

अनुसन्धानमा दुवै एकै रिसोर्टमा बसेको शाहले समेत स्वीकार गरेका थिए। शाहसँगै रिसोर्ट सञ्चालकको बयान, दुर्गेश थापाको बयान, क्यामरा म्यान अर्जुनप्रसाद तिवारीको बयान, निर्देशक काजिश श्रेष्ठको बयान र रिसोर्टको गेस्ट लग बुकले समेत सात गते उनीहरू एकै रिसोर्टमा बसेको पुष्टि भएको थियो।

बियर खाएको

होटलको वेटर अनि शाह आफैँले घटनाको दिन रक्सी खाएको स्वीकार गरेका थिए। नाबालिगले आफूमाथि बलात्कार भएको दाबी गरेको समय र शाह आफ्नो कोठामा गएको समय समेत पुष्टि हुने प्रमाणहरू देखिएको थियो।

पलसहितको बयानबाट घटनाको दिन शाह रक्सी खाएर बसेको र पीडित पहिल्यै कोठामा सुत्न गएको देखियो। र पलले समेत बयानमा पीडित पहिल्यै आफ्नो कोठामा सुत्न गएको र पछि आफू रक्सी खाएर सुत्न गएको स्वीकारेका थिए।

पीडित सुतेको कोठामा गएको

पल नाबालिगको कोठामा गएकोबारे पीडितले मात्र हैन पलले समेत रक्सी खाएर पीडित सुतेको कोठामा मध्यरात गएको देखिएको थियो। बयानमा उनले घटनाको दिन नभई घटना भएको दाबी गरिएको दोस्रो दिन पीडित सुतेको कोठामा मध्यरात रक्सी खाएर गएको स्विकारेका थिए।

उनले प्रहरी बयानमा 'हिजो उनलाई एक्लै सुत्दा डर लागेको र होटल सञ्चालककी छोरीसँग सुतेको कुरा थाहा पाएकाले तिमीलाई एक्लै सुत्न डर लागेको त छैन ल राम्रोसित सुत भनेर आफ्नो कोठामा आएर सुतेको' दाबी गरेका थिए।

बलात्कार भएको भनिएको रात पीडित नाबालिग रिसोर्ट सञ्चालकको छोरीसँग सुत्न आएको बयानबाट खुलेको थियो। नाबालिगको बयानमा शाहले बलात्कार गरेपछि डराएर आफू रिसोर्ट सञ्चालकको छोरीसँग सुत्न आएको बताएकी थिइन्।

नाबालिगलाई विवाहको प्रलोभन

पलकै बयानमा म्युजिक भिडियोको सुटिङ सकेर काठमाडौं फर्किएपछि प्रमोसनमा दुवैले सँगै अन्तर्वार्ताहरू दिने गरेको, पीडितले स्टुडियोहरूमा दुवैको सम्बन्धबारे कुरा काट्न थालेको भनेको, विवाह गर्न दबाब दिएको र २० वर्ष पुगेपछि विवाह गर्ने मौखिक सहमति गरेको तर प्रेम सम्बन्ध भने नभएको दाबी गरेका थिए।

यसले विवाहयोग्य नभएकी नाबालिगलाई विवाहको प्रलोभन दिएको देखियो। अदालतले यी नै आधारमा टेकेर प्रमाणको आधारमा बलात्कारको मागवादी नपुगेको तर बाल यौन दुर्व्यवहार भने देखिएको ठहर्याएको हुनसक्ने देखिन्छ।

 नाबालिगको स्वास्थ्य परीक्षण प्रतिवेदन बलात्कार हो या हैन भन्ने प्रमुख प्रमाण भए पनि तनहुँमा परेको जाहेरीमा पहिल्यै बलात्कार भएको दाबी गरिएकाले पनि नवलपुर अदालतले गैँडाकोटको घटनामा सो प्रमाणलाई भन्दा घटना विवरणलाई बढी जोड दिएको हुनसक्छ।

नवलपुरको फैसला आयो। तर तनहुँको फैसला आउन बाँकी नै छ। नवलपुरबाट सफाइ नै पाए पनि उनी मंगलबार कारागारमुक्त हुने थिएनन्। किनकी तनहुँबाट पुर्पक्षको आदेश कायमै छ। नवलपुरको फैसलामा चित्न नबुझाए पलपक्ष उच्च अदालतमा पुनरावेदन जान सक्छ।

भदौ २१, २०७९ मंगलबार २१:५०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।