डेंगु नियन्त्रण गर्दै ‘बाँच्न पाउने हक’ सुनिश्चित गर्न मानवअधिकार आयोगको आग्रह

डेंगु नियन्त्रण गर्दै ‘बाँच्न पाउने हक’ सुनिश्चित गर्न मानवअधिकार आयोगको आग्रह

काठमाडौः राष्ट्रिय मानवअधिकार आयोगले डेंगु नियन्त्रणमा प्रभावकारी कदम चाल्न तीनै तहका सरकारलाई आग्रह गरेको छ।

मंगलबार विज्ञप्ति निकालेर आयोगले बिरामीहरूको सङ्ख्या दिन प्रतिदिन बढिरहेको अवस्थामा नियन्त्रण तथा रोकथामका लागि सम्बन्धित निकायहरूको यथेष्ठ ध्यान पुग्न नसकको भन्दै तीन तहका सरकारबीच प्रभावकारी समन्वय गरेर नियन्त्रणमा लाग्न आग्रह गरेको हो।

डेङ्गु संक्रमणबाट नेपालमा भदौ महिनामा एक जनाको ज्यान जानुका साथै पछिल्लो समय पाँच हजार बढी व्यक्ति बिरामी परेको पाइएको भन्दै नागरिकको स्वास्थ्य सम्बन्धी हकको संरक्षण गर्दै जीवनको अधिकार सुनिश्चित गर्न आयोगले आग्रह गरेको हो।

उसले डेंगु सङ्क्रमण गराउने जातका लामखुट्टे उत्पादन हुने तथा फैलिन सक्ने ठाउँहरू पहिचान गरी नष्ट गर्ने कार्यमा तीनै तहका सरकारबीच प्रभावकारी समन्वय र सहकार्य गर्नसमेत सुझाव दिएको छ।

यहि महिनामा मात्र त्रिवि शिक्षण अस्पतालमा डेंगुका कारण एक जनाको मृत्यु भइसकेको छ। काठमाडौं उपत्यका लगायत देशभरी यसको संक्रमण द्रूत रूपमा फैलिँदै गर्दा विज्ञहरूले भने ‘स्वास्थ्य आपतकाल’ घोषणा गर्नुपर्ने बताउँदै आएका छन्।

भदौ २१, २०७९ मंगलबार १६:४७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।