धनगढी पुगेका प्रचण्डले आफ्नो १० सिट बढाए, कांग्रेसको ६ सिट घटाए, तर कार्यदलमा अझै कुरा मिलेन
काठमाडौँ : पाँच दलीय गठबन्धनमा रहेका दलबिच प्रतिनिधि सभा र प्रदेश सभाको सिट बाँड्ने जिम्मेवारी पाएको कार्यदलका सदस्यहरू असिनपसिन भएर छलफलमा छन्। तर दलका शीर्ष नेताहरू भने बाहिरै सिट सङ्ख्या तोक्न सक्रिय छन्।
कार्यदललाई मङ्गलवार बेलुकासम्म प्रतिवेदन बुझाउन समय दिए पनि सिट सङ्ख्यामा सहमति हुन सकेको छैन। कार्यदलको प्रतिवेदन अगाडि नै कांग्रेस सभापति शेरबहादुर देउवाले कांग्रेसलाई ८६, माओवादीलाई ४७, एकीकृत समाजवादीलाई १८, जनता समाजवादीलाई १३ र जनमोर्चालाई एक सिट प्रस्ताव गरिसकेका छन्।
देउवाले शीर्ष नेताको बैठकमा प्रस्ताव राखेपछि अन्य दलका नेताहरूले भने सार्वजनिक मञ्चबाट सिट सङ्ख्या तोक्न सक्रिय देखिए। एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले कांग्रेसले मागेको १६ सिट घटाएर ७० मा झारिदिएका थिए। तर आफ्नो सिट सङ्ख्या भने तोकेनन्।
मङ्गलवार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आफ्नो दललाई ६० अनि कांग्रेसलाई ८० सिट राखेर बाँकी तीन दललाई दिने दाबी गरे।
पार्टीको सुदूरपश्चिम प्रदेश प्रशिक्षणका लागि धनगढी पुगेका उनले कांग्रेसले ८० सिट वरिपरि लिएर अरू दलले पनि बाँकी सिटमा भागबन्डा गर्ने दाबी गर्दै माओवादीको भागमा ६० सिट राखे।
उनले एकीकृत समाजवादीले २५ र जनता समाजवादीले २५ मागिरहेको बताए। जनमोर्चाले प्रत्यक्षमा २ सिट मागिरहेको छ।
तर कार्यदल स्रोतका अनुसार सिट बाँडफाँड गर्न बसेको पहिलो बैठकदेखि नै माओवादीले ५० सिट मागिरहेको छ।
'माओवादीका नेताहरू अहिलेसम्म ४९ मा झरेका पनि छैनन्, ५१ मा चढेका पनि छैनन्' ती सदस्यले भने' प्रचण्डजीले कताबाट ६० भन्नुभयो उहाँ नै जान्नुहोस्। तर कार्यदलमा रहेका माओवादीका प्रतिनिधिले ५० भनिरहनुभएको छ।'
कांग्रेसले एकलमा ८६ र लोकतान्त्रिक समाजवादीसहित ९० सिट मागिरहेको छ। लोसपालाई ल्याउने हो भने बाबुराम भट्टराई र बामदेव गौतमलाई पनि सिट छुट्टाउनुपर्ने माओवादी र एकीकृत समाजवादीको माग छ।
अधिकतम लचिलो हुँदा कांग्रेस ८५ मा झर्न सक्ने तयारीमा रहे पनि प्रचण्डले शीर्ष तहको बैठकमा आफ्नो पक्षमा ५० सिट राखेर कांग्रेसलाई ८३ सिट दिँदै आफू ५० मै अड्किने रणनीतिमा छन्।
प्रचण्डको रणनीति सफल भएमा १ सय ६५ सिटमध्ये कांग्रेस ८३, माओवादी ५०, एकीकृत समाजवादी १८, जनता समाजवादी १३ र जनमोर्चा १ सिट हुन्छ। तर तीनै दल यो सिट सङ्ख्यामा सकारात्मक छैनन्।
'दलैपिच्छे खेल्ने' माओवादी बानीले सिट बाँड्ने कार्यदलमै किचलो, शीर्ष नेतालाई नै जिम्मा दिने तयारी
प्रचण्डकै दाबी अनुसार पनि एकीकृत समाजवादी र जनता समाजवादीले २५-२५ सिट मागेका छन्। राष्ट्रिय जनमोर्चाले प्रत्यक्षमा २ सिट नपाए एक्लै निर्वाचनमा जाने चेतावनी दिइसकेको छ। एकीकृत समाजवादीले परिआए एक्लै निर्वाचनमा जान तयार हुनु भनेर भाषण गरे पनि पार्टीलाई गठबन्धनबाट कति सिट मागेको हो खुलाएका छैनन्। कांग्रेसले हैसियतभन्दा धेरै मागेको भनेर आलोचना मात्र गरेका छन्।
जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादवले १३ सिट मात्र पाउने हो भने त्यसमा ९ सिट जित्न सकिने भन्दै यति त एक्लै निर्वाचनमा जाँदा पनि आउने अनि सबै क्षेत्रमा उम्मेदवार उठाउन पाउँदा पार्टीमा असन्तुष्टि पनि नहुने बताइसकेका छन्।
भदौ २१, २०७९ मंगलबार १६:३२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।