क्रिप्टोकरेन्सी केन्द्रित सीबीडीसी कानून पारित भए कागजी नोट प्रतिस्थापन होला !
क्रिप्टोकरेन्सी र अमेरिकी सरकारका लागि 'लेबर डे होलिडे' पछिका दिन निकै महत्त्वपूर्ण छ। किनकी १५ सेप्टेम्बरमा 'इथेरियम मर्ज' हुँदैछ। र, यसै साता व्हाइटहाउसमा अमेरिकी राष्ट्रपति जो बाइडेनको क्रिप्टो सम्बन्धी परमादेशपछि भएको अध्ययन प्रतिवेदन पनि बुझाइँदै छ।
गत ९ मार्चमा राष्ट्रपति बाइडेनले सेन्ट्रल बैंक डिजिटल करेन्सी (सीबीडीसी)सम्बन्धी विभिन्न सात बुँदामा अध्ययन गरी प्रतिवेदन बुझाउन विभिन्न एजेन्सीलाई एक सय २० दिनको समयसीमा दिएका थिए। सो समय ५ सेप्टेम्बर लेबर डे होलिडेका दिन समाप्त भयो।
बिटक्वाइनपछि विकास भएका विभिन्न स्टेबल क्वाइनले अमेरिकी डलरलाई प्रतिस्थापन गर्ने अवस्था सिर्जना भइरहँदा उक्त प्रतिवेदनले पछिल्लो समय चर्चामा रहेको सीबीडीसीलाई मूर्त रूप दिने अनुमान गरिएको छ।
परमादेशमा ट्रेजरीलाई सीबीडीसीको सम्भावना अध्ययन गर्न भनिएको थियो। यसपछि नै अमेरिकी संसद्मा सीबीडीसीको विषय सतहमा आएको थियो।
मध्यावधि निर्वाचन नजिकै आइरहँदा बहुमतको बलमा सीबीडीसी सम्बन्धी कानून पारित गर्न डेमोक्रेट्स लागिपरेका छन्।
अफिस अफ साइन्स एण्ड टेक्नोलोजीलाई सीबीडीसीको प्राविधिक पक्ष र जस्टिस डिर्पाटमेन्टलाई सीबीडीसीको कानूनी पक्षबारे अध्ययन गर्न भनिएको थियो।
यसैगरी जस्टिस डिर्पाटमेन्ट, ट्रेजरी र होमल्याण्ड सेक्युरिटीलाई संयुक्त अध्ययन गरी सीबीडीसी सम्बन्धी कानून लागू गर्न कार्यपालिकाको भूमिकाबारे प्रतिवेदन बुझाउन भनिएको थियो।
कमर्स डिपार्टमेन्टलाई डिजिटल सम्पत्ति सम्बन्धी प्रविधिलाई लागू गरी अमेरिकाको अर्थतन्त्रलाई बलियो बनाउने सम्भाव्यताबारे अध्ययन गर्न भनिएको थियो।
परमादेशले उपभोक्ताको अधिकार, जोखिम र सम्भावनाबारे पनि अध्ययनका लागि समेत भनेको छ।
यो प्रतिवेदन सार्वजनिक भएसँगै विकेन्द्रित रूपमा बजारमा रहेका क्रिप्टोकरेन्सीलाई नियन्त्रणमा ल्याउने कानून बन्ने बाटो खुल्नेछ। तर, नियन्त्रणात्मक कानूनले क्रिप्टोकरेन्सीको विकेन्द्रित सिद्धान्त वा मर्ममा प्रहार गर्नेमा क्रिप्टोका पक्षधरको चिन्ता छ।
यद्यपि, विश्व व्यापारको प्रमुख मुद्रा अमेरिकी डलरमाथि रुसको युद्ध र चीनको क्षेत्रीयताले विस्तारै प्रहार गर्दा अमेरिकी मुद्राको वर्चश्व कायम राख्न पनि सीबीडीसी चाँडै लागू गर्न अमेरिकी राजनीतिज्ञ लागिपरेको देखिन्छन्।
साथै अन्तर्राष्ट्रिय मुद्रा कोष, विश्व बैंक र छायाँमा रहेक विश्व वित्तीय संरचना सञ्चालन गरिरहेको 'बैंक अफ इन्टरनेशनल सेटलमेन्ट' (बीआईएस) तम्तयार छन् यसमा।
केही वर्षअघिदेखि नै बीआईएसले रिजर्भ बैंक अफ अस्ट्रेलिया, सेन्ट्रल बैंक अफ मलेसिया, मनिटरी अथोरिटी अफ सिंगापुर र साउथ अफ्रिका रिजर्भ बैंकको संलग्नतामा 'प्रोजेक्ट डनबार' सञ्चालन गरिरहेको छ।
सिंगापुर केन्द्र रहेको यो प्रोजेक्टले विभिन्न मुलुकका केन्द्रीय बैंकले जारी गर्ने सीबीडीसीलाई एकै प्लेटफर्मबाट कारोबार गर्नेबारे अध्ययन गरिरहेको छ।
स्मरण रहोस्, विश्व व्यापारमा प्रयोग हुने विभिन्न मुद्राको सेटलमेन्ट बीआईएसले गर्दछ। विकेन्द्रिकृत क्रिप्टोकरेन्सीको प्रभाव बढेमा अमेरिकाभन्दाअगाडि सबैभन्दा मारमा पर्ने बीआईएस नै हो।
त्यसैले केही वर्षअघिदेखि नै बिआईएस डिजिटल पेमेन्ट र विभिन्न मुलुकका सीबीडीसी सेटलमेन्ट गर्ने प्रविधि विकासमा लागि परेको थियो। बिआईएसले सीबीडीसी सेटलमेन्टका लागि हङकङ केन्द्रमा 'प्रोजेक्ट अरम' र लन्डन केन्द्रमा 'प्रोजेक्ट रोसलिण्ड' सञ्चालन गरिरहेको छ।
यी सबै प्रोजेक्टको सीबीडीसी परीक्षण सफल भइसकेको छ। अब बीआईएसअन्तर्गत रहेका मुलुकबाट सीबीडीसी जारी हुन मात्र बाँकी हो।
अमेरिकामा सीबीडीसी कानून पारित भएपछि विश्वमा सीबीडीसीको लहर आउनुका साथै कागजी नोट प्रतिस्थापन हुनसक्नेछ।
बीआईएसको सेटलमेन्ट प्लेटफर्मको सहायताबिना कुनै पनि मुलुकका केन्द्रीय डिजिटल करेन्सीको सेटलमेन्ट हुन सक्दैन। विश्व वैंक र अन्तर्राष्ट्रिय मुद्रा कोष बीआईएसको अजेण्डालाई स्थापित गर्ने माध्यम मात्र हुन्।
कोभिडको महामारीपछि पैसा छाप्ने क्रमलाई तीव्रता दिएको अमेरिका अहिले इन्फ्लेसनको मारमा परेको छ। र यो मौद्रिक प्रणालीबाट छिटोभन्दा छिटो सीबीडीसीमा जानुपर्ने हतारोमा ऊ रहेको देखिन्छ।
अमेरिकी नाकाबन्दीपछि पनि ईरानले क्रिप्टोकरेन्सी प्रयोग गरेर आयात बढाएको समाचार गत महिना अमेरिकी सञ्चारमाध्यमा पहिलो पानामा छाएको थियो।
रसियाले पनि क्रिप्टोकरेन्सीको प्रयोग बढाउँदै नाकाबन्दीको असर कम गरेको समाचार पनि आइसकेका छन्। उत्तर कोरियामा पनि क्रिप्टोको प्रयोग बढ्दो छ।
यसैका कारण गत १० अगस्टमा अमेरिकाले पहिलो पटक क्रिप्टोकरेन्सी 'टोर्नाडो क्यास'लाई अवैध घोषणा गर्दै यससँग सम्बन्धित व्यक्तिलाई गिरफ्तार गरेको थियो।
टोर्नाडो क्यासबाट सात बिलियनभन्दा बढी मनि लण्डरिङ भएको अमेरिकी अधिकारीले बताएका थिए। सीबीडीसी सम्बन्धी कानून बनेसँगै हाल प्रचलनमा रहेका धेरै क्रिप्टोकरेन्सी राष्ट्रिय सुरक्षाको विषय औँल्याउँदै प्रतिबन्धमा पर्ने सम्भावना पनि छ।
बिआईएस
संसारकै वित्तीय संरचना सञ्चालन गर्ने बैंक अफ इन्टरनेशनल सेटलमेन्ट(बीआईएस) अबको दुई वर्षभित्रमा विद्युतीय मुद्रालाई संसारभर सञ्चालन गर्ने तयारीमा देखिन्छ। हालको वित्तीय संरचना पूर्णरूपमा असफल भएपछि बीआईएस विद्युतीय मुद्राको तयारीमा जुटेको हो।
त्यसका निम्ती नेपाल लगायत आफ्ना सदस्य राष्ट्रलाई बीआईएसले निर्देशन दिइसकेको छ। केही महिनाअघि बीआईएसले विद्युतीय मुद्राको अन्तर्राष्ट्रिय कारोबारको सफल परीक्षण पनि गरिसकेको छ।
बीआईएसको नेतृत्त्वमा हरेक राष्ट्रले आ-आफ्नै डिजिटल मुद्रालाई प्रयोगमा ल्याउने छन्। ब्लकचेन प्रविधिमा आधारित हुने मुद्रालाई सेन्ट्रल बैंक डिजिटल करेन्सी (सीबीडीसी) भनिने छ।
विश्वकै अग्रणी बैंकको रूपमा रहेको 'लेहम्यान ब्रदर्स' पूर्णरूपमा असफल भएपछि केन्द्रिकृत वित्तीय संरचनाको विकल्पमा सन् २००८ मा परिकल्पना भई २००९ मा बिटक्वाइन प्रयोगमा आयो।
पूर्णरूपमा विकेन्द्रित हुने बिटक्वाइन लगायत अन्य स्टेबल क्वाइनले परम्परागत वित्तीय संरचनालाई विस्तारै चुनौती दिनथालेपछि बीआईएस जुर्मुराएको देखियो।
यहाँ यो पनि स्मरणीय छ कि, सम्पूर्ण युरोपको एकै मुद्रा युरोको परिकल्पना बीआईएसले नै गरेको थियो। अचम्मको कुरा के भने संसारकै मुद्रा प्रणाली सञ्चालन गर्ने बीआईएस कुनै पनि सरकारी संस्था अन्तर्गतको होइन। तर, विश्वका अधिकांश केन्द्रीय बैंक यसका सदस्य छन्।
बीआईएसमा मतअधिकार प्राप्त मुलुक ६३ वटा छन्। युरोपका ३५, उत्तर अमेरिकाका तीन, एसियाका पिपल्स बैंक अफ चाइना र रिजर्भ बैंक अफ इण्डिया, दक्षिण अमेरिकाका पाँच, अफ्रिकाका तीन र ओसनियाका दुई मुलुकका केन्द्रीय बैंक यसका मताधिकारप्राप्त सदस्य हुन्।
नेपालको राष्ट्र बैंक बीआईएसको मताधिकारबिनाको सदस्य हो। नेपाल राष्ट्र बैंकले सीबीडीसी अध्ययन गरिरहेको र चाँडै लागू गरिनेछ भनेर सार्वजनिक रूपमा भन्नु पनि बीआईएसको अजेण्डाकै कारण हो।
बीआईएसको सेटलमेन्ट प्लेटफर्मको सहायताबिना कुनै पनि मुलुकका केन्द्रीय डिजिटल करेन्सीको सेटलमेन्ट हुन सक्दैन। विश्व वैंक र अन्तर्राष्ट्रिय मुद्रा कोष बीआईएसको अजेण्डालाई स्थापित गर्ने माध्यम मात्र हुन्।
बीआईएसले अन्तर्राष्ट्रिय मुद्रा कारोबार सञ्चालन गर्दछ र यसबाट आउने नाफा ठूला मुलुकका केन्द्रीय बैंकलाई पनि वितरण गर्दछ।
विश्वको ९५ प्रतिशत जीडीपीका प्रतिनिधी केन्द्रीय बैंक सदस्य रहेको बीआईएसबाट हालै मात्र रुसको केन्द्रीय बैकलाई निष्काशित गरिएको छ।
बीआईएसले कति नाफा गर्यो भन्ने आधिकारिक जानकारी रहस्यमा नै हुन्छ। सार्वजनिक आय व्यय विवरणको कुनै पनि अडिट हुँदैन।
१९३० मा स्थापना भएको बीआईएसले कसरी काम गर्छ भन्ने विषयमा पुराना र हालका कुनै पनि प्रतिनिधिले बताउन चाहँदैनन्।
नेपाल लगायत विभिन्न मुलुक सदस्य भए पनि प्रमुख बैठकमा सहभागी हुन पाउँदैनन्।
इथेरियमको मर्ज
अमेरिका सेन्ट्रल बैंकले डिजिटल करेन्सीलाई कानूनतः स्थापित गर्ने तयारी गर्दै गर्दा इथेरियमको मर्जलाई बिटक्वाइन अस्तित्वमा आएपछिको पहिलो ठूलो घटनाका रूपमा लिइएको छ।
इथेरियम १५ सेप्टेम्बरको साँझ 'प्रुफ अफ स्टेक'मा जाँदैछ। इथेरियमले स्थापनाकालमा अँगालेको 'प्रुफ अफ वर्क'को प्रविधिलाई त्याग्दै प्रुफ अफ स्टेक अँगाल्न लागेको हो।
यसो हुँदा इथेरियमको कारोबार समय घट्ने, तिर्न पर्ने शुल्क (ग्याँस फी) घट्ने हुँदा यसको कारोबार र यसमा आधारित अन्य डीएप्सको कारोबार बढ्ने अनुमान गरिएको छ। जसले गर्दा इथरको मूल्य बढ्नेछ।
इथेरियम ब्लकचेन प्ल्याटफर्म हो भने, इथर त्यसको मुद्रा अथव करेन्सी। इथेरियम ब्लकचेन विश्वसनीय मानिन्छ। यसमा विभिन्न डीएपको निर्माण गरिएको छ।
उदाहरणका लागि इथेरियम एउटा सपिङ कम्प्लेक्स हो भने त्यहाँका पसल डिएपस् हुन्। र, त्यो बजारभित्र कारोबार गरिने मुद्रा इथर हो।
जति धेरै बजारको कारोबार बढ्छ त्यति इथरको मूल्य बढ्छ। प्रुफ अफ स्टेक भन्नाले इथरलाई निश्चित समयका लागि मुद्दति खातामा राखे जस्तो हो, जसबापत स्टेकमा राखेको इथरमा ब्याजका रूपमा थप इथर पाइन्छ।
विकेन्द्रीकृत वित्तीय प्रणालीमा विश्वास गर्नेहरू यो घटनापछि इथरको स्टेक राख्ने व्यक्ति र संस्था बढ्ने, ग्याँस फी घट्दा सबै डीएपको कारोबार बढ्ने र इथरको माग बढ्ने अनुमान गर्छन्।
प्रुफ अफ वर्कमा नयाँ नयाँ इथर बन्दा यो इन्फ्लेसनरी क्रिप्टोका रूपमा रहेको थियो। अब नयाँ इथर बन्ने क्रम घट्ने हुँदा यो डिफ्लेसन करेन्सी बन्नेछ।
हरेका चार वर्षमा बिटक्वाइनको हाल्भिनले बिटक्वाइनको मूल्य बढाएसँगै यो घटनाले इथरको भाउ अचाक्ली बढ्नेमा विश्वस्त छन् इथेरियम प्रयोगकर्ताहरू।
यद्यपि, अमेरिकी डलर र विश्व वित्तीय कारोबारमा क्रिप्टो करेन्सीको बढ्दो हस्तक्षेपलाई रोक्न अमेरिकाले पूर्ण नियन्त्रणात्मक कानून पास गरे इतिहास अर्कै रूपमा लेखिने छ।
नयाँ नियम तथा कानूनले विकेन्द्रित क्रिप्टो करेन्सीबारे जसरी सम्बोधन गरे पनि अबको भविष्य ब्लकचेन प्रविधि नै हो भन्नेमा द्विविधा भने छैन।
भदौ २१, २०७९ मंगलबार १३:४५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।