आफ्नी छोरीलाई परीक्षामा जितेको भन्दै महिलाले गरिन् १३ वर्षका बालकको हत्या

आफ्नी छोरीलाई परीक्षामा जितेको भन्दै महिलाले गरिन् १३ वर्षका बालकको हत्या

एजेन्सी: परीक्षामा आफ्नी छोरीलाई उछिनेको भन्दै एक महिलाले विष खुवाएर छोरीका साथीको हत्या गरेकी छिन्। दक्षिण भारतको पोडुचेरीकी ४२ वर्षीया महिलाले १३ वर्षीय बालकको हत्या गरेकी हुन्।

हत्या गरिएका बालकले स्कुलको शैक्षिक एवम् अतिरिक्त क्रियाकलापमा ती महिलाकी छोरीभन्दा राम्रो स्थान ल्याउँथे। उनी सधैँ प्रथम आउने हुँदा जे सागायारानी भिक्टोरिया नामकी ती महिलाले हत्या गरेको खुलेको हो।

कराइकाल प्रहरीले भारतीय मिडियासमक्ष बताएअनुसार कक्षा पाँचमा पढ्ने १३ वर्षीय युवक बलामानिकन्दन र ती महिलाकी छोरी मनिकानन्दन एउटै कक्षाका मिल्ने साथी पनि थिए। शुक्रबार आयोजित विद्यालयको वार्षिकोत्सव कार्यक्रममा दुवैले सांस्कृतिक कार्यक्रममा भाग लिएका थिए।

कार्यक्रममा गएकी ती महिलाले विद्यालयका वाचम्यानमार्फत जुस र अन्य खानेकुरा बालकलाई दिन आग्रह गरेकी थिइन्। कार्यक्रम सकिएलगत्तै बालकले जुस पिएका थिए भने त्यसपछि उनले बान्ता गर्न सुरु गरेका थिए। बालकलाई त्यसपछि अस्पताल पुर्याइएको थियो।

अस्पतालका चिकित्सकले शुक्रबार राति नै जुसमा विष मिसाइएको भनेर प्रहरीलाई खबर गरेका थिए। शनिबार ती बालकको उपचारको क्रममा मृत्यु भएको थियो।

प्रहरीले नियन्त्रणमा लिएपछि ती महिलाले विष पिलाएर हत्या गरेको स्वीकार गरिन्। आइतबार ती महिलालाई जेल चलान गरिएको छ।

भदौ २१, २०७९ मंगलबार १२:००:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।