रङ्गमञ्चमा फैलिएको स्पोन्सर्डको जालो : सामाजिक उत्तरदायित्वको आवरणमा सांस्कृतिक अतिक्रमण

रङ्गमञ्चमा फैलिएको स्पोन्सर्डको जालो : सामाजिक उत्तरदायित्वको आवरणमा सांस्कृतिक अतिक्रमण
साङ्केतिक तस्बिर

केही महिनाअघि थापागाउँको मण्डला थियटरमा 'पल्पसा क्याफे' नाटकले तहल्का मच्चायो। तोकिएको अवधि सकिँदा पनि नाटक हेर्न दर्शकको घुइँचो लागेसँगै नाटक देखाइने समय थप गरिएको थियो।

लगत्तै मण्डलामै देखाइएको 'खुवालुङ' नाटकले पनि दर्शकको अत्यधिक साथ पायो। यसलाई पनि समय थप गरेर देखाइयो। अन्तिम शोसम्म आइपुग्दा समेत दर्शक थियटरमा नअटाएर फर्कनुपरेको थियो।

टेकुको कौसी थियटरमा 'एनिमल फार्म' नाटकले उस्तै दर्शक पायो। सिनामंगलको पुरानो घरमा 'खत' नाटकले पनि समय थप गरेर नाटक देखाएको थियो। 

बत्तीसपुतलीमा रहेको शिल्पी थियटरले पनि 'हिउँको पृथ्वी यात्रा' नामको नाटक समय थप गरेरै देखायो। सर्वनाम थियटरले गीतिनाटक 'सपना अनेक अनेक' दर्शकको बढ्दो चापकै कारण समय थप गरेर देखायो।

अहिले पनि एकसाथ तीन वटा नाटक घरमा नाटक मञ्चन भइरहेका छन्। कौसीमा 'धुमधामको घुमघाम', मण्डलामा '२४ मा १२' र पुरानो घरमा 'एन इन्स्पेक्टर कल्स' मञ्चन भइरहेका छन्।

केही महिनाअघि रंगकर्मी अनुप बरालले दर्शकमा आएको कला चेतसँगै नाटकमा दर्शकको आकर्षण बढ्नु सम्पूर्ण कला क्षेत्रको सकारात्मक पाटो भएको बताएका थिए। उनले भनेका थिए, 'कला भनेको राजनीतिक, सामाजिक, आर्थिक सबै पाटोलाई सजिलोसँग बुझाउने माध्यम हो। नाटकघरमा यसरी दर्शकको उल्लेख्य उपस्थितिले दर्शकको कला चेत फराकिलो हुँदै गएको थाहा हुन्छ। यो रंगकर्मीका लागि खुशीको कुरा हो र चुनौती पनि।'

दर्शकको अत्यधिक चाप भए पनि खर्च उठाउनै धौ धौ
हप्तामै तीनदेखि चार वटासम्म नाटकहरू यतिबेला विभिन्न नाटकघरमा मञ्चन भइरहेका छन्। तर नाफामा जाने नाटक भेट्न मुस्किलै पर्छ।

मनोरञ्जन उद्योग भए पनि नाटक 'सोसियल आर्ट फर्म' भएकाले सामाजिक उत्तरदायित्त्व बोकेको हुँदा कर मिनाहा गरिन्छ।

उदाहरणका लागि कोरोना महामारीयता सबैभन्दा धेरै कमाइ गरेको नाटक 'पल्पसा क्याफे'लाई नै हेरौं। यसले १४ लाख हाराहारीको कमाइ गरेको नाटकका निर्देशक विमल सुवेदीले जानकारी दिए। 

उनले भने, 'हामीले नाटक देखाएर करिब १४ लाखको टिकट बिक्री गर्यौँ। तर हामीले नाफा कमाएको भने होइन।'

उनका अनुसार नाटकलाई कोभिड-१९ ले नराम्रोसँग प्रभाव पार्यो। तीन पटक त कलाकार नै परिवर्तन गर्नपर्यो। एक पटक मण्डलामा बनिसकेको सेट भत्काउनुपर्यो। खर्च २१ लाख लाग्यो, कमाइ १४ लाख। महामारीले प्रभाव नपारेको भए चाहिँ नाटकले नाफा कमाउने उनको भनाइ थियो।

तर उनले १४ लाख कमाए पनि कर भने तिरेनन्। विमलका अनुसार नेपाल मात्रै हैन, धेरै देशमा नाटकलाई कर तिर्न लगाइँदैन। 

मनोरञ्जन उद्योग भए पनि नाटक 'सोसियल आर्ट फर्म' भएकाले सामाजिक उत्तरदायित्त्व बोकेको हुँदा कर मिनाहा गरिन्छ।

धन्न नाटकले कर तिर्न पर्दैन
नेपाल सरकारले मनोरञ्जन करबापत कमाइको पाँच प्रतिशतसम्म तिर्नुपर्ने व्यवस्था गरेको छ। आयकर ऐन २०५८ अनुसार यो कर तोकिएको हो। 

तर, नेपालमा नाटकले भने अहिलेसम्म कर तिरेको छैन। सांस्कृतिक संस्थानकी सूचना अधिकारी पवित्रा पंगेनीका अनुसार, सांस्कृतिक संस्थानले विद्यार्थीहरूलाई शैक्षिक जागरण सम्बन्धी नाटक हुँदा सहुलियतमा देखाइदिने हुँदा नाटक देखाउँदाको कर तिर्न पर्दैन। 

साथै जुनसुकै नाटक देखाउँदा पनि विद्यार्थीको कार्ड देखाएमा पाँच सयको टिकट तीन सयमा दिइन्छ।

आन्तरिक राजश्व विभागका सूचना अधिकारी राजुप्रसाद प्याकुरेलका अनुसार मनोरञ्जन कर विदेशी फिल्म देखाएको खण्डमा मात्रै लाग्छ। नाटकको सन्दर्भमा भने अहिलेसम्म आन्तरिक राजश्व विभागले कर उठाएको छैन।

'स्पोन्सर लिएपछि उनीहरूको इच्छाअनुसार नाटक देखाउनैपर्छ', थियटर मल कीर्तिपुरका संस्थापक केदार श्रेष्ठले भने, 'नत्र अरूको खल्तीमा भएको पैसा बिनाफाइदा सजिलै दिने कुरा भएन। सामाजिक उत्तरदायित्त्व बोकेको क्षेत्र भएकाले एनजीओ, आईएनजीओबाट स्पोन्सर लिँदा ध्यान भने दिनुपर्छ।'

प्याकुरेलका अनुसार संविधानले वा स्थानीय तहले चाहेको खण्डमा भने कर उठाउन सक्नेछ।

काठमाडौं महानगरपालिकाका प्रवक्ता वसन्त अधिकारीका अनुसार महानगरपालिकाले मनोरञ्जन कर लिन्छ तर नाटकबाट भने लिँदैन। 'अहिले १७ लाख ३६ हजारको हाराहारीमा फनपार्कबाट उठाइएको रकम मनोरञ्जन कर हो', वसन्तले प्रष्ट पार्दै भने, 'रेष्टुराँ, क्यासिनो, पार्क लगायतबाट उठाउने कर मनोरञ्जन करका रूपमा उठाइन्छ तर नाटकलाई भने कुनै प्रकारको कर लगाईँदैन।'

सामाजिक उत्तरदायित्त्व काँधमा, तर स्पोन्सर दूतावासहरू साथमा
नाट्य निर्देशक विमल सुवेदी नाटक 'सोसियल आर्ट फर्म' भएकाले सामाजिक उत्तरदायित्त्व बोकेको हुनुपर्ने बताउँछन्। तर, सामाजिक उत्तरदायित्त्व बोकेकै कारण राज्यबाट कर छुट पाएको यो क्षेत्रमा नलुकेको अर्को कुरा हो, स्पोन्सर (प्रायोजक)।

विभिन्न सरकारी, गैरसरकारी संस्थाको स्पोन्सर नहुने हो भने नाटक बाँच्न मुस्किल नै पर्छ। निकै चलेको पल्पसा क्याफे समेत घाटामा भएको भनाइले पनि बिनास्पोन्सर नाटक बाँच्न नसक्ने देखिन्छ। 

नाटकका कलाकारले निकै कम पारिश्रमिकमा काम गर्नुपर्ने बाध्यता छ। मल्टिपल शो देखाउन नसक्नु र यो मनोरञ्जनको क्षेत्रभित्र नपर्ने भएकाले स्पोन्सरबिना नाटक देखाउन नसकिने नाट्यकर्मी बताउँछन्।

'स्पोन्सर लिएपछि उनीहरूको इच्छाअनुसार नाटक देखाउनैपर्छ', थियटर मल कीर्तिपुरका संस्थापक केदार श्रेष्ठले भने, 'नत्र अरूको खल्तीमा भएको पैसा बिनाफाइदा सजिलै दिने कुरा भएन। सामाजिक उत्तरदायित्त्व बोकेको क्षेत्र भएकाले एनजीओ, आईएनजीओबाट स्पोन्सर लिँदा ध्यान भने दिनुपर्छ।'

अनुपले भने, 'हुन त हाम्रो देशमा अतिक्रमण हुन बाँकी के छ र? तर नाटक भने अरूको इसारामा चल्न हुँदैन। पैसा पायो भन्दैमा जे पनि देखाउने गर्न हुँदैन, फिल्टर गरेर नेपालीपनमा ढाल्नुपर्छ।'

केदारका अनुसार केही रंगमञ्चले विभिन्न दूतावास, आईएनजीओ लगायतबाट स्पोन्सर लिएर नाटक देखाइरहेका छन्। यद्यपि, उनीहरूको 'इन्ट्रेष्ट'बाट कसरी जोगिने भन्ने कुरा महत्त्वपूर्ण हो। 'अर्काको पैसा लिएर उनीहरूको इन्ट्रेष्टअनुसार क्याम्पेन चलाउने सम्भावना भएकाले रंगमञ्चका लागि स्पोन्सर सबैभन्दा घातक हो। तर योबिना रंगमञ्च बाँच्न नसक्नु बिडम्बना हो', उनले भने।

केदारका अनुसार हालसम्म दूतावासहरूको इच्छा भनेको सम्बन्धित देशको नाटक अनुवाद गरेर देखाइदेओस् भन्ने हो। उनले भने, 'यदि हामीले एउटा विदेशी नाटक देखाइदिएर त्यसबाट आएको पैसाले अरू आफ्नै देशका नाटक देखाउन सक्छौं भने सहयोग किन नलिने भन्ने पनि हुन्छ। तर त्यसलाई अनुवाद गर्दा नेपालीपना झल्कनुपर्यो।'

यही कुरामा रंगकर्मी अनुप बरालको पनि सहमति देखियो। केही महिनाअघिको कुराकानीमा उनले भनेका थिए, 'उनीहरूको देशका लेखकले लेखेको एउटा नाटक देखाएर पैसा पाइन्छ भने किन नगर्ने?'

उनका अनुसार, विभिन्न ओटीटी र इन्टरनेटका कारण अब कला एक देशको मात्रै भएन, विश्वको भएको छ।

तर, त्यसमा हद भने राख्नुपर्ने, विदेशीको पैसामा नाटक गर्दा या विदेशी नाटक गर्दा सांस्कृतिक अतिक्रमण हुनबाट भने सकेसम्म जोगिनुपर्ने उनको भनाइ छ। अनुपले भने, 'हुन त हाम्रो देशमा अतिक्रमण हुन बाँकी के छ र? तर नाटक भने अरूको इसारामा चल्न हुँदैन। पैसा पायो भन्दैमा जे पनि देखाउने गर्न हुँदैन, फिल्टर गरेर नेपालीपनमा ढाल्नुपर्छ।'

उनले उदाहरण दिँदै भने, 'यदि विदेशीको नाटकमा क्रिष्मस मनाइरहेको छ भने हामीले मौसमअनुसार आफ्नै देशको चाडबाड मनाउन सक्छौं। चर्च गएको छ भने कलाकार अनुसार स्तुपा, मन्दिर या मस्जिद देखाउन सक्छौं। सर्ट पाइन्ट लगाएका छन् भने दौरा सुरुवाल लगाइदिन सक्छौं। नेपाली रूपमा एडप्ट गर्ने कुरामा भने कम्प्रमाइज गर्न हुँदैन।'

दूतावासले नाट्य क्षेत्रका मानिसलाई सजिलै प्रयोग गर्न अहिलेसम्म नसकेको बताउँदै अनुपले भने, 'आगामी दिनमा पनि यी कुराबाट जोगिनुपर्छ, जोगिनेछन् भन्ने आशा छ।'

भदौ २१, २०७९ मंगलबार ०८:४९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।