हिरा लुटपाट र एक्सटोर्सनका आरोपीको जन्मदिनको पार्टीको अतिथि श्रममन्त्री, युवा व्यवसायी भन्दै गरे प्रशंसा

हिरा लुटपाट र एक्सटोर्सनका आरोपीको जन्मदिनको पार्टीको अतिथि श्रममन्त्री, युवा व्यवसायी भन्दै गरे प्रशंसा

काठमाडौँ : हाम्रा मन्त्री कति फुर्सदिला छन् अनि कस्ता-कस्ता कार्यक्रममा अतिथि भएर जान्छन् भन्ने उदाहरण बनेका छन् श्रममन्त्री शेरबहादुर कुँवर। उनी एक २२ वर्षीय युवाको जन्मदिन मनाउने कार्यक्रममा पाहुना हैन प्रमुख अतिथि बनेर सहभागी भएर युवा व्यवसायी भन्दै प्रशंसा गरे। तर ती युवाको पृष्ठभूमि भने आपराधिक छ।

ती हुन् सुजन आचार्य। आचार्य तीनै व्यक्ति हुन् जो एक प्रतिष्ठित व्यक्तिको गोपनीय गतिविधिको भिडियोको आधारमा सात करोड बार्गेनिङ गर्दै धम्क्याएको आरोपमा पक्राउ परेर धरौटीमा अदालतबाट छुटेका हुन्।

ल्यापटप बनाउन दिएको स्थानबाट लिक भएको भिडियो क्लिपको आधारमा सात करोड माग्दै धम्क्याएको घटनामा उनी सहितको समूहलाई उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेर अनुसन्धान गरेको थियो। यो केसमा उनी धरौटीमा छुटेका छन्।

उनी यस अगाडि प्रहरीसँग मिलेर हिरा लुटपाटमा संलग्न भएको आरोपमा पक्राउ परिसकेका थिए। त्यसमा रिहा भएपछि उनी धम्क्याएर रकम असुल्न खोजेको मुद्दामा परे।

धरौटीमा छुट्नु अभियोगबाट सफाइ पाउनु हैन। यस्तो आपराधिक पृष्ठभूमि भएका व्यक्तिको जन्मदिनको पार्टीमा गएर श्रममन्त्री कुँवरले युवा व्यवसायी भन्दै उनको प्रशंसा गरे।

त्यही कार्यक्रममा उनले एभरेस्ट स्प्रिङ वाटर सुरु गर्ने घोषणा गरेकाले मन्त्रीले रोजगार बढाउन शुभकामना पनि दिए। उनले विदेशमा १५ वर्षका युवा बिलिनियर बनेको पढेकोमा आफ्नै देशमा २२ वर्षका युवा व्यवसायी देख्दा खुसी लागेको बताएका थिए।

उनको फेसबुकमा हालसालै कांग्रेस प्रवक्ता प्रकाशशरण महतसँग खिचेको तस्बिर समेत राखेका छन्।

भदौ २१, २०७९ मंगलबार ००:३४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।