मिस टिनको फाइनलमा २० प्रतिस्पर्धी, असोज ९ मा फाइनल
काठमाडौँ : सेन्चुरी मिस टिन नेपालको १८ औँ संस्करणको ग्राण्ड फिनाले असोज ९ मा हुने भएको छ। काठमाडौँ जेसीजले सन् २००२ देखि निरन्तर आयोजना गर्दै आएको मिस टिनको फाइनलमा २० जना प्रतिस्पर्धी छन्।
आयोजक काठमाडौँ जेसीजका अध्यक्ष अनुप सुनुवारका अनुसार किशोरीहरूको क्षमता अभिवृद्धि, सामाजिक एवं सांस्कृतिक वृत्ति विकास तथा महिला सशक्तीकरणको लक्ष्यसहित मिस टिन नेपालको आयोजना हुन लागेको हो।
प्रतियोगिताबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष सुनुवारले सेन्चुरी मिस टिन नेपाल सौन्दर्य प्रतियोगिता मात्रै नभएर महिला सशिक्तकरणका पक्षमा पैरवी गर्ने मञ्चसमेत रहेको बताए।
प्रतियोगिताको अडिसन राउन्डमा सहभागी ५० जनामध्ये २० जना ग्राण्ड फिनालेका लागि चुनिएका हुन्। प्रतियोगिताको मुख्य कोरियोग्राफरको भूमिका प्रियारानी लामाले निर्वाह गर्नेछिन्।
उनले प्रतियोगिताका सहभागीहरूलाई राम्री बन्न र बोल्न मात्रै प्रोत्साहन नगरिने भन्दै एक जिम्मेवार नागरिकका रूपमा सहभागीहरूको क्षमता विकास गराइने बताइन्।
प्रतियोगीको ग्राण्ड फिनालेमा विभुषा बस्नेत, अदिति श्रेष्ठ, कसक पौडेल, सुम्निमा पुरी, आर्या पोखरेल, सुस्जिता पौडेल, स्नेहा पौडेल, पूजा ओली, प्रतीक्षा डङ्गोल, पारिका भण्डारी, हर्षिता पन्त, विसुका कोइराला, निशा सोनी, सुस्मिता अधिकारी, रोशनी सुनुवार, खुसी श्रेष्ठ, आरती गिरी, सञ्जु श्रेष्ठ र कुसुम भट्टराई पुगेका छन्।
प्रतियोगितामा सेन्चुरी मिस टिन नेपाल २०२२ को मुख्य टाइटलसहित विभिन्न १२ सब टाइटल अवार्डहरू राखिएका छन्। १६ देखि १९ वर्षसम्म किशोरीहरू प्रतिस्पर्धी रहेको मिस टिन नेपालको मुख्य प्रायोजकका रूपमा सेन्चुरी रहेको छ भने एनआइसी एसिया बैङ्क बैङ्किङ पार्टनर रहेको छ।
प्रतियोगिताका विजेताहरूलाई क्राउन, अवार्ड र ‘सी इज सक्सेस’ नाम सामाजिक परियोजनामा काम गर्ने लगायतका अवसर प्राप्त हुने आयोजकले जनाएको छ।
भदौ २०, २०७९ सोमबार २१:०२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।